सरकारका प्रवक्ता एवम् सूचना तथा संचारमन्त्री गोकुल बास्कोटाले प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसलाई नेत्रविक्रम चन्द समूहलाई हेर्ने दृष्टिकोण स्पष्ट पार्न आग्रह गरेका छन्।
मन्त्री बास्कोटाले चन्द समूहले गरिरहेको हिंसाको सहारा लिएर नेपाली कांग्रेसले सरकारमाथि प्रश्न उठाउने काम गरिरहेको भन्दै आफ्नो दृष्टिकोण स्पष्ट पार्न आग्रह गरे। संविधान, कानुन र शान्तिका विरुद्ध नेपाली कांग्रेसले चन्द समूहलाई किन काखी च्यापेको भनि प्रश्न पनि गरे। भोजपुरमा चन्द समूह र प्रहरीबीचको झडपमा परी बुधबार बिहान दुवै पक्षका २ जनाको मृत्यु भएको थियो।
सोही घटनालाई लिएर नेपाली कांग्रेसले सरकारले ‘मृत्यको व्यापार’ गरिरहेको आरोप लगाएको थियो। त्यसप्रति टिप्पणी गर्दै मन्त्री बास्कोटाले नेपाली कांग्रेसले कानुन, संविधान विपरित हिंसात्मक गतिविधिलाई साथ दिएको दावी गर्दै आपत्ति जनाए।
मन्त्री बास्कोटाले चन्द समूहका सर्लाही इन्चार्ज कुमार पौडेलको हत्याको छानबिनका लागि संसदीय समिति गठन गर्न नसकिने अडान पनि दोहो-याए।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सो हत्याकाण्डको छानबिनका लागि संसदीय समिति गठन गर्न माग गर्दै संसद बैठक अवरोध गरिरहेको छ। मन्त्री बास्कोटाले संसदीय समितिले छानबिन गर्दैमा सो समस्या समाधान नहुने दावी पनि गरे।

प्रतिक्रिया