राजनीति


सिओलमा नेपाल वायुसेवाको सिधा उडानका लागि सहजीकरण गरिदिन कोरियाली राजदूतलाई सभामुखको आग्रह

सिओलमा नेपाल वायुसेवाको सिधा उडानका लागि सहजीकरण गरिदिन कोरियाली राजदूतलाई सभामुखको आग्रह

नेपालखबर
जेठ ११, २०८३ सोमबार २०:२४, काठमाडौँ

सभामुख डोलप्रसाद अर्याल र नेपालका लागि कोरियाली राजदूत तायोङ पार्कबीच सोमबार शिष्टाचार भेट भएको छ। भेटमा नेपाल–कोरिया सम्बन्ध, लगानी, प्रविधि, श्रम तथा संसदीय साझेदारीका विषयमा छलफल भएको हो। 

भेटमा अर्यालले कोरियाले नेपालको विकास, शिक्षा, स्वास्थ्य, कृषि र रोजगारी क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा गरे। आगामी दिनमा पनि सहकार्यलाई निरन्तरता दिन उनले आग्रह गरे। 

उनले नेपालमा नयाँ जनादेशसहित सरकार गठन भएको उल्लेख गर्दै विदेशी लगानी तथा विकास साझेदारीका लागि वातावरण थप सहज बन्दै गएको बताए। सभामुख अर्यालले नेपालको सूचना प्रविधि तथा प्राविधिक क्षेत्रमा लगानी गर्न आग्रह गरे। 

उनले नेपाल–कोरिया संसदीय मैत्री समूह गठनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिँदै दुई देशका सांसदबीच अनुभव आदानप्रदानलाई थप सुदृढ बनाउनुपर्ने धारणा राखे।

यस्तै सभामुख अर्यालले कोरियाली पर्यटकलाई नेपाल भ्रमणका लागि प्रोत्साहन गर्न तथा नेपाल वायुसेवाको सिधा सिओल उडानका लागि सहजीकरण गर्न पनि कोरियाली सरकारसँग अनुरोध गरे। 

राजदूत पार्कले नेपाललाई कोरियाले विकास साझेदारका रूपमा प्राथमिकतामा राखेको उल्लेख गरे। उनले शिक्षा, स्वास्थ्य, कृषि, आर्थिक विकास र रोजगारी क्षेत्रमा सहकार्य जारी रहेको बताए। 

उनका अनुसार रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत हालसम्म करिब १ लाख २० हजार नेपालीले कोरियामा रोजगारीको अवसर पाएका छन् भने ५० हजार नेपाली हाल त्यहाँ कार्यरत छन्।

नेपाली कामदारले कोरियाको उत्पादनमूलक तथा कृषि क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गर्दै श्रमिकको स्वास्थ्य, सुरक्षा र सम्मानमा कोरिया सरकार संवेदनशील रहेको बताए। विदेशबाट फर्किएका नेपालीलाई पुनःस्थापना तथा उद्यमशीलतामा सहयोग गर्ने प्रयास पनि भइरहेको उनले जानकारी दिए।

राजदूत पार्कले कोरियाली लगानी नेपालमा विस्तार हुँदै गएको उल्लेख गर्दै ऊर्जा क्षेत्रमा विशेष लगानी भइरहेको बताए। रसुवास्थित अपर त्रिशूली–१ जलविद्युत् आयोजनाको निर्माण करिब ८० प्रतिशत सम्पन्न भइसकेको र आगामी वर्षदेखि विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको उनले जानकारी दिए। 

हरित ऊर्जा र कार्बन ट्रेडिङ क्षेत्रमा समेत कोरियाली व्यवसायी नेपालमा लगानी गर्न इच्छुक रहेको उनको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad