जनता समाजवादी पार्टी (जसपा) नेपालले गत निर्वाचनमा पार्टीको हारको प्रमुख कारण बाह्य शक्ति र नेपाली सेनाको हस्तक्षेप रहेको निष्कर्ष निकालेको छ।
पार्टी अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा तीन दिनसम्म बसेको बिस्तारित बैठकले यस्तो निष्कर्ष निकालेको हो।
पार्टीको केन्द्रीय कार्यालयमा आयोजित विस्तारिक बैठकबाट निर्वाचनमा हारको समीक्षासहित केही महत्त्वपूर्ण निर्णय गरिएको नेता शैलेन्द्र साहले जानकारी दिए।
उनका अनुसार बैठकमा दुई दिनसम्म प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले भोगेको हारको समीक्षा र जनप्रतिनिधिसँग समन्वयकारी भूमिका लगायतका विषयमा छलफल भएको थियो भने तेस्रो दिन अर्थात् सोमबार विभिन्न कार्यदल गठन गरिएको छ।
बैठकले वडा तहसम्म अन्तरक्रिया कार्यक्रमसँगै संगठन सुदृढीकरण अभियान सञ्चालन गर्ने निर्णय गरेको साहले बताए।
यस्तै, जसपा नेपालले ७ वटै प्रदेशमा प्रतिनिधि सभाका उम्मेदवारहरूको प्रदेशस्तरीय भेला गर्ने भएको छ। भेलामा निर्वाचनको समीक्षा तथा आगामी निर्वाचनको तयारीबारे छलफल गर्ने जनाइएको छ।
यसैगरी स्थानीय तहका जनप्रतिनिधिसँग आउँदो बजेटमा आम नागरिकका सरोकारका विषयमा बजेट विनियोजनबारे छलफल गर्ने निर्णय गरिएको छ।
जसपा नेपालले तत्कालीन लोसपा नेपाल र जसपा नेपालबीच भएको एकीकरणपछि केन्द्रीय स्तरमा समायोजन भइसके पनि बाँकी रहेका प्रदेश, जिल्ला, स्थानीय तह र वडामा समायोजनका लागि उमाकान्त झा, लालबाबु राउत, सुरेन्द्र झा, राजकुमार थापा र प्रकाश अधिकारीसहितका पाँच सदस्यीय कार्यविधि कार्यदल गठन गरिएको छ।
यस्तै सिद्धान्त र विचार मिल्ने पार्टीसँग एकीकरण, समायोजन तालमेलका लागि सहजीकरण तथा समन्वयका लागि रकम चेम्जोङ्गको नेतृत्वमा रेणु यादव र सुरेन्द्र झा सम्मिलित तीन सदस्यीय कमिटीको गठन गरिएको नेता साहले बताए।
Shares

प्रतिक्रिया