राजनीति


गणतन्त्र दिवस समारोहमा प्रधानमन्त्री नबोल्ने, राष्ट्रपतिलाई सम्बोधनका लागि पत्राचार

गणतन्त्र दिवस समारोहमा प्रधानमन्त्री नबोल्ने, राष्ट्रपतिलाई सम्बोधनका लागि पत्राचार

नेपालखबर
जेठ ११, २०८३ सोमबार १२:४१, काठमाडौँ

प्रधानमन्त्री वालेन्द्र शाहले गणतन्त्र दिवसको आयोजना हुने समारोहलाई सम्बोधन नगर्ने भएका छन्। समारोहमा सम्बोधनका लागि राष्ट्रपतिलाई पत्राचार गरिएको छ। 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को बैठकबाटै निर्णय गराएर प्रधानमन्त्री शाहले राष्ट्रपति रामचन्द्र पौडेललाई गणतन्त्र दिवसको समारोहमा सम्बोधनका लागि अनुरोध गरेका हुन्। मन्त्रिपरिषद्को निर्णयअनुसार, सरकारले राष्ट्रपतिको कार्यालयमा पत्राचार गरिसकेको प्रधानमन्त्री तथा मन्त्रिपरिष्को कार्यालय स्रोतले जनाएको छ। 

‘गणतन्त्रको प्रतिक राष्ट्रपति भएकाले उहाँले बोल्न उपयुक्त हुन्छ भन्ने कुरा अनौपचारिक रुपमा भइरहेको थियो,’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतले नेपालखबरसँग भन्यो, ‘अहिले भने मन्त्रिपरिषद् बैठकबाटै निर्णय गरेर राष्ट्रपतिलाई सम्बोधन गर्न अनुरोध पत्र पठाइएको हो।’

गणतन्त्र दिवसका दिन जेठ १५ गते विशेष समारोह आयोजना हुँदै आएको छ। सैनिक मञ्च, टुँडिखेलमा आयोजना हुने गणतन्त्र दिवस समारोहमा प्रधानमन्त्रीले सम्बोधन गर्दै आएका थिए। 

यस पटकको गणतन्त्र दिवस समारोहमा भने प्रधानमन्त्रीको सट्टा राष्ट्रपतिलाई सम्बोधन गर्नका लागि अनुरोध गरिएको हो। गणतन्त्र दिवस समारोहलाई सम्बोधन नगरे पनि प्रधानमन्त्री शाह सहभागी हुने स्रोतको भनाइ छ। 

प्रधानमन्त्री शाहले संसद्मा पनि बोलेका छैनन्। राष्ट्रपति पौडेलले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। 

त्यसका लागि संसद्मा प्रधानमन्त्रीले धन्यवाद दिने परम्परा छ। तर, यस पटक प्रधानमन्त्री शाहले धन्यवाद प्रस्तावमा नबोली सिधै सभामुखसमक्ष पेश गरेका थिए। 

प्रधानमन्त्री शाहले नीति तथा कार्यक्रममाथि सांसदले सोधेका प्रश्नको पनि उत्तर दिएका थिएनन्। प्रधानमन्त्री शाहको सट्टा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नीति तथा कार्यक्रमाथि उठेका प्रश्नको उत्तर दिएका थिए। 

त्यस्तै, संसद्को प्रश्नोत्तर कार्यक्रममा पनि प्रधानमन्त्री शाह सहभागी भएका छैनन्। संसद् चलेको बेला हरेक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम राख्नुपर्ने व्यवस्था छ। तर, प्रधानमन्त्री शाहले बोल्न नचाहेपछि प्रश्नोत्तर कार्यक्रम नै राखिएको छैन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad