नेकपा (एमाले)को जारी केन्द्रीय सचिवालय बैठकमा अधिकांश पदाधिकारी पार्टी पुनर्गठनको पक्षमा उभिएका छन्। उनीहरूले अब पुरानै तरिकाले अघि बढ्न नसकिने धारणा राखेका छन्।
एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको गुण्डुमा शनिबार बसेको सचिवालय बैककको सुरुवातमै अध्यक्ष ओलीले सबैलाई खुलस्त भएर बोल्न भनेका थिए। अध्यक्ष ओलीले भनेका थिए, ‘पार्टीलाई व्यवस्थित गरेर लैजान, तपाईहरूलाई लागेका कुरा खुलेर राख्नुस्।’
त्यसपछि बोलेका पदाधिकारीले आ–आफ्नो धारणा खुलस्त भएर राखेका थिए। शुक्रबार बोलेका पदाधिकारीभन्दा शनिबार बोलेका पदाधिकारी कडा सुनिएका थिए।
सचिवालय बैठकमा शनिबार नौ जनाले आफ्नो धारणा राखेका छन्। जसमा महासचिव शंकर पोखरेलसँगै उपमहासचिव र सचिवहरू छन्।
अब चार जना सचिवले मात्रै बोल्न बाँकी छ। आफ्नो धारणा राख्न बाँकी रहेका सचिवहरूमा भानुभक्त ढकाल, खगराज अधिकारी, शेरधन राई र यामलाल कँडेल छन्।
आज बोलेका अधिकांश पदाधिकारी अध्यक्ष ओलीको विपक्षमा उभिएका छन्। उनीहरूले खुलेरै पार्टी पुनर्गठन गर्नुपर्ने बताएका छन्। अधिकाशंले अध्यक्ष ओलीले मार्गप्रशस्त गर्नुपर्ने धारणा राखेको एक पदाधिकारीले नेपालखबरलाई बताए।
‘सबैले खुलस्त बोल्नु भएको छ,’ बैठकमा सहभागी अर्का पदाधिकारीले नेपालखबरसँग भने, ‘यथास्थितमा, यहि राम्रो भनेर कसले बोल्छ र एमालेको? कसैले बोलेका छैनन्।’
सबै जसो पदाधिकारीले परिवर्तनका पक्षमा बोलेको उनको भनाइ छ। ‘पराजित भएको एमालेलाई पराजितै गरिराख्नुपर्छ भनेर बोल्छ त कसैले?,’ उनले भने, ‘पार्टी राम्रो बनाउनुपर्छ, नयाँ ढंगले जानुपर्छ भन्ने नै छ।’
एमाले महासचिव शंकर पोखरेलले समेत अध्यक्ष ओलीलाई साथ दिएनन्। उनले पनि पार्टी पुनर्गठन गरेर जानुपर्नेमा जोड दिए। महासचिव पोखरेलले भने, ‘पार्टी पुनर्गठनको आवाज ठूलो छ। अब पार्टी पुनर्गठन गरेर जानुपर्छ।’
पोखरेलले राजीनामा शब्द त प्रयोग गरेनन्, तर मार्गप्रशस्त गर्नुपर्ने बताए। त्यसपछि बोलेका अधिकांश उपमहासचिवहरूले पनि अध्यक्ष ओलीले मार्गप्रशस्त गर्नुपर्नेमा जोड दिएका छन्।
यसअघि शुक्रबार बोलेका उपाध्यक्षहरूले पनि ओलीले राजीनामा दिनुपर्ने बताएका थिए। उपाध्यक्ष रामबहादुर थापा ‘बादल’बाहेक चारै जना उपाध्यक्षले ओलीले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने धारणा राखेका थिए।
एमाले प्रवक्ता लेखराज भट्टले भने बाहिर आएजस्तो भित्र कुराकानी नभएको प्रतिक्रिया दिए। ‘अहिले जे कुरा बाहिर आएका छन्, अतिरञ्जित तरिकाले बाहिर आएका छन्,’ भट्टले भने।
पार्टी पुनर्गठन, रुपान्तरण गर्नुपर्ने धारणा आए पनि राजीनामै भनेर कसैले नभनेको उनको भनाइ छ। ‘नेतृत्व परिवर्न हुनैपर्छ भन्ने त कसैले भनेको छैन। राजीनामा गरिहाल्नुपर्छ भन्ने आएको छैन,’ भट्टले भने।
दुई दिनदेखि जारी बैठकमा उपाध्यक्ष, महासचिव, उपमहासचिव र केही सचिवले आफ्नो धारणा राखिसकेका छन्। आइतबारको बैठकमा चार जना सचिवले बोल्ने कार्यसूची छ। त्यसपछि सचिवालय बैठक अन्त्य हुनेछ।
एमाले बैठकमा पदाधिकारी र केन्द्रीय सदस्यको कार्यविभाजनसँगै ११ वटा एजेन्डा छन्। अर्को बैठक आइतबार बिहान साढे ११ बजे अध्यक्ष ओली निवास गुण्डुमै बस्नेछ।
Shares

प्रतिक्रिया