राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रधानमन्त्री वालेन्द्र शाह संसद्मा नआउँदा सभापतिको रुपमा आफूलाई कुनै दबाब नपरेको बताएका छन्।
बिहीबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै सभापति लामिछानेले प्रधानमन्त्री शाह संसद्मा आउने प्रतिक्रिया दिए। प्रधानमन्त्री शाह संसद्मा आउँछन् कि आउँदैनन् भन्ने प्रश्नमा लामिछानेले भने, ‘आउनुहुन्छ, नआउने भन्ने कुरै छैन। आएपछि थाहा पाइहाल्नु हुन्छ नि!’
प्रधानमन्त्री शाह संसद्मा नआउँदा सभापतिका रुपमा दबाब परेको विषयमा पनि सञ्चारकर्मीले प्रश्न गरेका थिए। त्यसको उत्तरमा सभापति लामिछानेले भने, ‘म दबाबमा बस्ने मान्छे पनि होइन, मलाई त्यस्तो कुनै दबाब पनि छैन।’
उनले प्रक्रिया र अभ्यासको कुरा गरे। संसद्मा आउने नआउने भन्ने कुराले भन्दा कामले दबाब पर्ने उनको भनाइ थियो।
‘कहिले काँही कुनै प्रक्रिया हुँदै जाने कुरा हुन्छ। अभ्यासहरू हुँदै जाने कुरा हुन्छन्,’ लामिछानेले भने, ‘काम महत्त्वपूर्ण कुरा हो, रिजल्ट महत्त्वपूर्ण कुरा हो।’
अहिले सरकारले काम गरिरहेको उनको भनाइ थियो। सरकार सय दिन नपुग्दै पनि राम्रो काम गरिरहेको लामिछानेले दाबी गरे।
‘सरकारले यो काम खराब गर्यो, सरकारको यो काम भएन भन्ने प्रश्न आइदियो भने त्यो मेरो लागि दबाबको विषय हुन्छ। सरकारले आफ्नो काम गरिरहेको छ, कामको रिजल्ट आउँदै छ,’ उलने भने।
उनले मिडियालाई सत्तापक्षका भन्दा पनि प्रतिपक्षका कुरालाई महत्त्व दिन सुझाए। ‘मिडियाको स्पेश पनि हामी सत्ता पक्षलाई होइन, मलाई होइन, तपाईहरूको स्पेश, महत्त्वपूर्ण समय प्रतिपक्षलाई दिनुभयो भने अझ बढी सजिलो हुन्छ,’ लामिछानेले भने।
रास्वपाको महाधिवेशनसम्बन्धी सोधिएको प्रश्नमा उनले तयारी भइरहेको बताए। विधानको व्यवस्थाअनुसार नै महाधिवेशनको मिति तय गरिएको उनको भनाइ थियो।
Shares

प्रतिक्रिया