राजनीति


बाँदर भगाउने प्रविधि छैन, नयाँ अध्ययन गर्न ७ करोड छुट्याउनुपर्छ: महावीर पुन

बाँदर भगाउने प्रविधि छैन, नयाँ अध्ययन गर्न ७ करोड छुट्याउनुपर्छ: महावीर पुन

नेपालखबर
जेठ ७, २०८३ बिहिबार १४:१६, काठमाडौँ

सांसदर महावीर पुनले बाँदर भगाउने प्रविधि विकास नभएको सुनाउँदै यसमा अध्ययन गर्नका लागि बजेट विनियोजन गर्न माग गरेका छन्। 

बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद पुनले मुलुकभर टाउको दुखाइको विषय बनेको बाँदर नियन्त्रणका लागि केवल संसद्मा आवाज उठाएर मात्र समाधान नहुने बताए। यसका लागि ठोस अनुसन्धान र प्रविधिको आवश्यकता रहेको उनको भनाइ थियो। 

‘मैले सात वर्षदेखि यो विषय उठाउँदै आएको छु र राष्ट्रिय आविष्कार केन्द्रमार्फत ५०-६० लाख रुपैयाँ खर्च गरेर अनुसन्धानको प्रयास पनि गरिएको छ। संसारभर बाँदर भगाउने ठोस प्रविधि अहिलेसम्म पत्ता लागेको छैन,’ पुनले भने, ‘यो समस्या समाधान गर्न सरकारले दुई देखि सात करोड रुपैयाँसम्मको अनुसन्धान बजेट छुट्याउनुपर्छ।’

सरकारले बाँदर नियन्त्रणका लागि एउटा विज्ञ टोली गठन गर्न लागेको जानकारी पाउँदा आफू उत्साहित भएको बताउँदै उनले टोलीमा रहेर काम गर्न आफू इच्छुक रहेको सुनाए। बाँदर निकै बुद्धिमान जनावर भएकाले यसको व्यवहार र नियन्त्रणका उपायबारे गहन वैज्ञानिक अनुसन्धान विना समस्या समाधान नहुने उनको भनाइ थियो। 

यससँगै उनले ट्याक्सीको ‘कालो प्लेट’ (नम्बर प्लेट) वितरणमा ठूलो आर्थिक चलखेल र भ्रष्टाचार भइरहेको गुनासो गरे। ट्याक्सी व्यवसायी र मजदूरहरू चर्को शोषणमा परेको सुनाए। 

‘एउटा ट्याक्सी किन्न ३०-३५ लाख खर्चनुपर्छ, त्यसमाथि कालो प्लेट पाउन १५ लाख रुपैयाँ अतिरिक्त बुझाउनुपर्ने बाध्यता रहेछ। यो चरम सिन्डिकेट र भ्रष्टाचार हो,’ उनले भने। 

सांसद पुनले सरकारले ट्याक्सी आयातमा २५० देखि ३०० प्रतिशतसम्म भन्सार शुल्क लिने गरेको उल्लेख गर्दै थप १५ लाख रुपैयाँ ‘कालो प्लेट’का लागि अवैध रूपमा असुल भइरहेको बताए। यस विषयमा आफूले यातायात विभागका महानिर्देशकसँग समेत छलफल गरेको र यसमा प्रदेश सरकारदेखि विभागसम्मको मिलेमतो हुनसक्ने आशंका व्यक्त गर्दै तत्काल छानबिन गरी खारेज गर्न माग गरे। 

एउटा ट्याक्सी चालकले १५ लाख रुपैयाँ उठाउन मात्रै करिब २५ महिना लाग्ने भन्दै उनले यस्तो व्यवस्थाले निम्न वर्गका श्रमिकको परिवार पाल्न कठिन भएको उल्लेख गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad