राजनीति


पाथीभरा केबलकारबारे संसद्‌मा सरकारको धारणा माग

पाथीभरा केबलकारबारे संसद्‌मा सरकारको धारणा माग

नेपालखबर
जेठ ५, २०८३ मंगलबार १२:५५, काठमाडौँ

नेकपा (एमाले( का सांसद क्षितिज थेबेले ताप्लेजुङस्थित पाथिभरा (मुकुम्लुङ) मा निर्माणाधीन केवलकार परियोजना र सडक पूर्वाधारको सुस्त गतिलाई लिएर सरकारको ध्यानाकर्षण गराएका छन्। 

मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद थेबेले राष्ट्रिय गौरव र स्थानीय विकाससँग जोडिएको पाथिभरा केवलकार परियोजनाका सम्बन्धमा सरकारको आधिकारिक धारणा माग गरेका छन्। केवलकार निर्माण कार्य रोकिएको भन्ने मौखिक सूचनाहरू बाहिरिएका कारण ताप्लेजुङका जनतामा अन्योल छाएको उनले स्मरण गराएका छन्। 

‘यो आयोजना बन्ने हो कि रोकिने हो? सरकारको आधिकारिक धारणा के हो? ताप्लेजुङका जनता स्पष्ट जानकारीको पर्खाइमा छन्,’ सांसद थेबेले भने, ‘ताप्लेजुङबाट काठमाडौँ आउँदा उक्त सडक खण्डमा गाडी चल्न नसक्ने अवस्था थियो। अन्ततः डोजरले बाटो खोलेपछि मात्र यात्रा सम्भव भयो। तीन–तीन वर्ष म्याद थप्दा पनि ट्र्याक खुल्न नसक्नु कस्तो विडम्बना हो?’

एकातिर परियोजनाको विरोध भइरहेको र अर्कोतर्फ विकास, पर्यटन तथा रोजगारीका लागि यो आयोजना अपरिहार्य रहेको बताउँदै स्थानीय समुदायको धार्मिक तथा सांस्कृतिक आस्था र विकासबीच सन्तुलन कायम गर्न सरकारसँग ठोस योजना माग गरेका छन्। उनले सरकारलाई अफवाहको भरमा नभई स्पष्ट आधिकारिक निर्णयका साथ अगाडि बढ्न र सबै पक्षबीच विश्वासको वातावरण सिर्जना गर्न आग्रह गरेका छन्।

उनले ताप्लेजुङको लुम्बिनी पुलदेखि दोभान बजार खण्डको सडक निर्माणमा भइरहेको चरम ढिलाइप्रति पनि आपत्ति जनाएका छन्। २०७७ सालमा ठेक्का लागेको र २०८० सालमा म्याद सकिएर पुनः थप गरिएको तीन वर्ष बितिसक्दा पनि सडकको ट्र्याक समेत खुल्न नसक्नु लज्जास्पद भएको उनको भनाइ थियो। 

सांसद थेबेले अलपत्र अवस्थामा रहेको उक्त सडक खण्डको काम तत्काल अगाडि बढाउन र पूर्वाधार निर्माणमा देखिएको ढिलासुस्ती अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad