राजनीति


दीर्घकालीन योजनामा स्थानीय सरकार केन्द्रित हुनुपर्छ: परराष्ट्रमन्त्री खनाल

दीर्घकालीन योजनामा स्थानीय सरकार केन्द्रित हुनुपर्छ: परराष्ट्रमन्त्री खनाल

नेपालखबर
जेठ ३, २०८३ आइतबार १२:४१, काठमाडौँ

परराष्ट्रमन्त्री शिशिर खनालले अल्पकालीन राजनीतिभन्दा दीर्घकालीन योजनामा स्थानीय सरकार केन्द्रित हुनुपर्ने बताएका छन्।

टोखा नगरपालिकाले आइतबार आयोजना गरेको आर्थिक वर्ष २०८३/८४ को नीति, कार्यक्रम तथा बजेट तर्जुमाका लागि सल्लाह, सुझाव सङ्कलन कार्यक्रममा उनले दीर्घकालीन योजना निर्माणमा स्थानीय सरकार केन्द्रित हुनुपर्नेमा जोड दिएका हुन्।

नेतृत्वले जनीतिक लाभभन्दा माथि उठेर काम गर्ने बेला आएको उनले बताए। ‘अबको २०/२५ वर्षपछिको पुस्ताले पनि सम्झिने गरी काम गर्ने अवसर अहिलेको स्थानीय तहका जनप्रतिनिधिमा छ, त्यसैले अल्पकालीन राजनीतिभन्दा दीर्घकालीन योजनामा केन्द्रित हुनुहोस्,’ उनले भने। 

काठमाडौँ क्षेत्र नं ६ का सांसदसमेत रहेका मन्त्री खनालले टोखाको दक्षिणी भेग निकै बाक्लो बस्तीले भरिएको र उत्तरी भेगमा अझै पनि खुला जमिन बाँकी रहेको भन्दै व्यवस्थित सहर निर्माणमा ध्यान दिनुपर्नेमा जोड दिए। उनले टोखाको ऐतिहासिक नेवारी बस्ती र शनिबार लाग्ने बजारलाई व्यवस्थित गर्दै पर्यटन प्रवर्द्धन गर्न जरुरी रहेको पनि बताए। टोखामा घरबास ‘होमस्टे’ विकास गर्न सकिने उनको भनाइ थियो।

मन्त्री खनालले टोखा–छहरे सुरुङ मार्ग विस्तार गर्दा टोखाका धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले यसको विकल्प खोज्नुपर्ने बताए। साङ्ला खोला करिडोर र विष्णुमती खोला करिडोरलाई उक्त राजमार्गको वैकल्पिक मार्गका रूपमा विकास गर्दा कम लागत र कम क्षतिमा अन्तरराष्ट्रिय मापदण्डको सडक बनाउन सकिने उनको भनाइ छ।

टोखा नगरपालिकालाई थप प्रविधिमैत्री बनाउन कर तिर्नेदेखि सामान्य सिफारिस लिने काम घरबाटै गर्न सकिने गरी ‘डिजिटल’ प्रणाली लागू गर्नुपर्नेमा पनि जोड दिए।

कार्यक्रममा बागमती प्रदेशकी सांसद एवम् पूर्वमन्त्री हरिप्रभा खड्गी श्रेष्ठले जनताले स्थानीय सरकारसँग धेरै अपेक्षा गरेको भन्दै आफ्नो स्रोत र साधनले भ्याएसम्म जनतालाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम बनाउनुपर्ने बताइन्।

सांसद श्रेष्ठले विकासको काममा कसैले पनि राजनीति गर्न नहुनेमा जोड दिइन्।

पूर्वमन्त्री डा वंशीधर मिश्रले संविधानले दिएको अधिकारअनुसार कानुन निर्माण गरी कार्यान्वयनमा जानुपर्ने बताए। उनले स्थानीयको इच्छा आकाङ्क्षाअनुसार स्थानीय सरकारले काम गर्नुपर्ने पनि बताए।

टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले जनताले दिएको राय, सुझाव र सल्लाहलाई ग्रहण गर्दै नगरपालिकाले आगामी वर्षको नीति तथा कार्यक्रम बनाउने उल्लेख गरे।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल भट्टराईले नगरपालिकाले सामाजिक विकासलाई विशेष प्राथमिकता दिएर काम गरिरहेको जानकारी दिए।

नगरपालिकाले विद्यार्थीका लागि दिवा खाजा कार्यक्रम, स्वास्थ्य जाँचका लागि मेयर दीर्घायु कार्यक्रम, बाल पोषण भत्ता कार्यक्रम, सार्वजनिक जग्गा संरक्षण, विभिन्न खोलामा ‘करिडोर’ निर्माणलगायत कामहरू गरिरहेको छ।

११ वटा वडा रहेको टोखामा एक लाख ३७ हजार जनसङ्ख्या छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad