नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद वर्षमान पुनले सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले स्पष्ट मार्गचित्र र दिशा समात्न नसकेको टिप्पणी गरेका छन्।
प्रतिनिधि सभाको बिहीबारको बैठकमा जारी नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी बोल्दै सांसद पुनले नीति तथा कार्यक्रम यथास्थितिवादी भएको र यसले जनअपेक्षा सम्बोधन गर्न नसक्ने बताए। सांसद पुनले नीति तथा कार्यक्रममाथि छलफलका लागि पर्याप्त समय उपलब्ध नगराइएको प्रति असन्तुष्टि व्यक्त गरे।
‘सत्तारुढ दलको सय बुँदे कार्ययोजना र नीति तथा कार्यक्रममा मेल देखिँदैन। सरकारको प्राथमिकता के हो भन्ने कुरा यसमा स्पष्ट छैन,’ उनले भने।
विगतमा कम्तीमा पाँच दिनसम्म छलफल हुने र त्यसपछि प्रि-बजेट छलफलका आधारमा बजेट निर्माण हुने परम्परा रहेकोमा यसपटक समय असाध्यै न्युन पारिएको उनको भनाइ थियो। प्रधानमन्त्रीले संसद्मा प्रतिपक्षी दलका नेताहरूको प्रश्नको सामना गर्दै आफ्ना कार्यक्रमको औचित्य पुष्टि गर्नुपर्नेमा उनले जोड दिए।
‘प्रधानमन्त्रीकै नीति तथा कार्यक्रम भए पनि उहाँको उपस्थिति र स्वामित्वमा कमी देखियो। राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव आफैँले प्रस्तुत गरेर पुनः आफैँले समर्थन नगर्ने जस्तो नयाँ र अनौठो अभ्यास संसद्मा देखिएको छ,’ उनले भने।
दुई तिहाइ नजिकको समर्थन प्राप्त सरकारसँग जनताको उच्च आकांक्षा रहेको स्मरण गराउँदै सांसद पुनले नीति तथा कार्यक्रम र सत्तारुढ दलको चुनावी प्रतिबद्धताबीच तादात्म्यता नदेखिएको उल्लेख गरे।
नेपालको राजनीतिक उपलब्धिबारे चर्चा गर्दै उनले ६ दशक लामो सङ्घर्षबाट सामन्तवादको अन्त्य भई सङ्घीय समावेशी लोकतान्त्रिक गणतन्त्र स्थापना भएको स्मरण गराए।
Shares

प्रतिक्रिया