नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले प्रधानमन्त्री बालेन्द्र शाहका कारण संसदीय समिति अनिर्णयको बन्दी बनेको बताएका छन्।
मंगलबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै नेता आङदेम्बेले प्रधानमन्त्री शाहको व्यवहारमाथि प्रश्न गरेका छन्। सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा प्रधानमन्त्री शाह बाहिरिएका थिए।
त्यसलाई लिएर नेता आङदेम्बेले प्रश्न गरेका हुन्। ‘सभामुखको चेतनाले व्यवस्थित गरिदिने हो। किन गर्नु भएन? सदनलाई गरिमामय बनाउनु सक्नुपर्थ्यो। त्यो पनि भएन, यो दुःखको कुरा हो,’ उनले भने।
त्यस्तै, उनले राज्य व्यवस्था समितिको पनि प्रसंग निकाले। गृह मन्त्रालयको समेत नेतृत्व गरिरहेका प्रधानमन्त्री शाहले बैठकमा नआएकोमा उनले आपत्ति जनाए।
‘राज्य व्यवस्था समितिको बैठक बस्न सकिरहेको छैन। प्रधानमन्त्रीलाई बोलाएको होइन, गृह मन्त्रालयको जिम्मेवारी लिएको मन्त्री त्यो समितिमा उपस्थिति हुनैपर्यो,’ आङदेम्बेले भने।
जनतामा समस्याका विषयमा गृहमन्त्रीले समितिमा जवाफ दिनुपर्ने उनको भनाइ थियो। तर, गृहमन्त्री समेत रहेका शाह नआउँदा निर्णय हुन नसकेको उनको भनाइ थियो।
‘जवाफ दिन पनि हिचकिचाइरहनु भएको छ,’ आङदेम्बेले भने, ‘राज्य व्यवस्थापन समिति अनिर्णयको बन्दी बनिरहेको छ।’
Shares

प्रतिक्रिया