उनी झापामा एउटा सामान्य किसान थिए। कहिले बारीमा बेसार खन्थे, कहिले अरु किसानहरूसँग धुलोमैलोमा झुम्मिन्थे। शम्भुप्रसाद ढकाल (शम्भु सुस्केरा) आज प्रतिनिधिसभामा पुगेका छन्, तर आफूलाई नेताभन्दा पनि किसानका रुपमै चिनाउन रुचाउँछन्।
नेपालखबरको ‘संसदमा म’मा आफ्नो अनुभूति सुनाउन आइपुगेका उनी भन्छन्, ‘म एउटा सामान्य मान्छे, किसान हुँ। चुनावका बेला पनि मेरो बारीमा बेसार थियो। पानी परेर खन्न नपाएको बेला म उम्मेदवार बन्दै थिएँ।’
शम्भुको संसदीय यात्रामा ०७४ को निर्वाचन एउटा बिर्सन नसकिने मोड हो। त्यतिबेला उनी एमालेका उम्मेदवार एलपी साँवासँग पराजित भएका थिए। तर, उनको त्यो हार हारजस्तो थिएन।
उनी सम्झिन्छन्, ‘म एउटा अनुभवी र भाग्यमानी मान्छे हुँ। पहिलो प्रयासमा हारेँ, तर त्यो हारबाट निकै ठूलो अनुभव बटुलेँ। मलाई हराएर विजयी हुनुभएका उम्मेदवार (एलपी साँवा) लाई ढाका टोपी लगाइदिएर बधाई दिँदा म उहाँभन्दा बढी खुसी देखिएको थिएँ।’
त्यतिबेलाको हारले उनलाई निराश बनाउनुको साटो झन् तिखार्ने काम गर्यो।
उनी भन्छन्, ‘मलाई आत्मविश्वास थियो कि दोस्रो प्रयासमा म सफल हुनेछु। पाँच वर्षसम्म झापाका साथीहरूसँग निरन्तर खटिएर काम गरेँ, जसको प्रतिफल आज म संसदमा छु।’

यसपटक उनले तिनै एलपी साँवालाई पराजित गर्दै बदला मात्र लिएनन्, नयाँ राजनीतिक शक्ति स्थापनाको सन्देश पनि दिए।
राजनीतिमा आउनुअघि ०७९ को स्थानीय तहको निर्वाचनले शम्भुलाई ठूलो उत्साह दियो। विशेषगरी काठमाडौँमा बालेन शाहको उदयले उनलाई गहिरो गरी छोयो। उनी बालेनलाई जिताउन आफूले पर्दा पछाडि बसेर खेलेको भूमिकाबारे गौरवका साथ सुनाउँछन्।
‘बालेन शाह र रमेश खरेलमध्ये एकजना मात्रै उठ्नुपर्छ भन्ने हाम्रो मान्यता थियो, ताकि मत नबाँडियोस्। हामीले एउटा भूमिका निर्वाह गर्यौँ र बालेन शाहलाई सहयोग गर्यौँ। काठमाडौँमा बालेनको जितले मलाई प्रत्यक्ष निर्वाचनमा होमिने हिम्मत दियो,’ उनले भने।
झापा–४ जस्तो ठूलो र खर्चिलो मानिने क्षेत्रमा चुनाव लड्दा उनले पैसा र पाखुराको राजनीतिलाई भत्काइदिए।
‘करोडौँ खर्च हुन्छ भन्ने सुनेको थिएँ तर हामी चार वर्ष झापामा संगठन बनाउँदा र चुनाव लड्दा सामान्य ढंगले अघि बढ्यौँ,’ शम्भुले सुनाए, ‘भोजभतेर र कुपन बाँड्ने संस्कृतिलाई हामीले पूर्णतः अस्वीकार गर्यौँ। मतदाताले हातमा मुठ्ठी पारेर उम्मेदवारलाई सहयोग गरेको देख्दा अचम्म लाग्यो।’
२२ वर्ष नेपाल प्रहरीमा सेवा गरेका शम्भुलाई सिंहदरबारको गेट छिर्दाको अनुभव अलि भिन्न लाग्यो। संसद् भवन छिर्दा उनलाई विजयको उत्सवभन्दा बढी एउटा गह्रौँ भारी बोकेको महसुस भयो।
‘म पातलो शरीरको मान्छे, तर संसद् छिर्दा ठूलो भारीले थिचिएको जस्तो महसुस भइरहेको थियो। त्यो भारी इमानदारीको थियो, विश्वासको थियो र ती लाखौँ नेपालीको आशाको थियो, जो रोजगारीका लागि विदेशिएका छन्,’ उनले भने।
संसदमा उनले अनौठो विविधता देखे। एकातिर दशकौँदेखि संसद् धाइरहेका पुराना अनुहार, अर्कोतिर २५–३० वर्षका तन्नेरी साथीहरू। उनले यसलाई ‘मिनी नेपाल’ को संज्ञा दिए। थारु भाषादेखि संस्कृतसम्मको शपथ ग्रहण र विभिन्न जातजातिको मिश्रणले उनलाई रोमाञ्चित बनायो।

शम्भुलाई आज पनि मत माग्न जाँदा भेट भएका ती वृद्धवृद्धाहरूको आशीर्वादले ऊर्जा दिन्छ।
‘१०३ वर्षको बुबाले तिमीहरूले गर्छौ नि भनेर सोध्नुभयो। कतिपय आमाबुबाहरू अंकमाल गरेर रुनुभयो। त्यो आँसु खुसीको मात्र थिएन, एउटा ठूलो आशाको थियो,’ उनी भावुक हुँदै भन्छन्।
आगामी दिनमा उनी पार्टीको नीतिमा मात्र होइन, आवश्यकता पर्दा प्रतिपक्षी जस्तै भएर पनि काम गर्ने अठोट गर्छन्।
‘हाम्रा सभापति रवि लामिछानेले सुरुमै भन्नुभएको छ– हाम्रा गलत क्रियाकलाप छन् भने पनि औँल्याउनुस्। म पार्टीभन्दा माथि देश र नागरिकलाई राख्छु,’ उनले भने।
हेर्नुहोस्, ‘संसदमा म’, जहाँ सांसदहरू बोल्छन्, संसद् भवनको रोस्ट्रमबाट होइन, हृदयको गहिराइबाट–नेपालखबरबाट :
फोटो/भिडिओ : सरोज नेपाल

प्रतिक्रिया