हाल नेपालमा भ्रमणमा रहेका सर्जियो गोर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एशिया मामिला हेर्ने विशेष दुत हुन्। विगतमा नेपाल भ्रमणमा आउने उच्च कुटनीतिज्ञले प्रधानमन्त्री, मन्त्री, राजनीतिक दलका नेतासँग भेटवार्ता गर्थे। वर्तमान प्रधानमन्त्री बालेन्द्र शाह यो मामिलामा निकै फरक देखिएका छन्।
परराष्ट्र मन्त्रालयका अधिकारीहरु बिहीबार साँझ विशेष दूत गोर काठमाडौं अवतरण गर्दासम्म पनि प्रधानमन्त्री शाहसँगको भेटबारे निश्चित थिएनन्। भेटवार्ता हुने अवस्थामा परराष्ट्रले तयारी गर्नुपर्छ तर प्रधानमन्त्री कार्यालयले खबर नै गरेको थिएन।
'आन्तरिक सुशासनमा व्यस्त'
अब निश्चित भएको छ, ट्रम्पका विशेष दूतको भेटवार्ता प्रधानमन्त्री शाहसँग हुनेछैन। गोरले शुक्रबार वा शनिबार प्रधानमन्त्रीको अनुकूल समय भेटका लागि मागेका थिए।
प्रधानमन्त्री कार्यालयले शुक्रबार साँझ नेपालखबरलाई दिएको जानकारीअनुसार आन्तरिक काममा व्यस्त रहनु परेकाले प्रधानमन्त्री र ट्रम्पका विशेष दूतबीच भेटवार्ता सम्भव नभएको हो।
प्रधानमन्त्रीकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले शुक्रबार साँझ नेपालखबरसँग भनिन्, ‘उहाँ (गोर)लाई प्रधानमन्त्रीलाई भेट्नु हुन्न। प्रधानमन्त्री आन्तरिक सुशासनको मामिलामा व्यस्त हुनुन्छ।’
एक हिसाबले, प्रधानमन्त्री शाह अर्को देशका राजदूत र तल्लो तहका अधिकारीलाई नभेट्ने अडानमा रहेजस्तो देखिएको छ। उनले चैत २६ मा विभिन्न देशका राजदूतहरूसँग सामूहिक भेटवार्ता गरेका थिए। त्यस यता उनले कुनै राजदूतलाई भेटवार्ता गरेका छैनन्। अनौपचारिक भेटमा काठमाडौंका कुटनीतिक नियोग कर्मचारीले सञ्चारकर्मीलाई अंग्रेजीमा टिप्पणी गर्न थालेका छन्– 'ऊ कुरै गर्दैन।'
ब्युरो अफ साउथ एन्ड सेन्ट्रल एशिया अफेयर्सको आधिकारिक एक्स अकाउन्टका अनुसार ट्रम्पका विशेष दूत गोरले बंगलादेशका निवर्तमान मुख्य सल्लाहकार मोहम्मद युनुससँग पटक-पटक भेटवार्ता गरेका थिए। भुटान जाँदा त्यहाँका राजा जिग्मे खेसर नाम्ग्याल र प्रधानमन्त्री छिरिङ तोब्गेसँग भेटवार्ता गरेका थिए। श्रीलंका भ्रमणमा रहँदा राष्ट्रपति अनुरा कुमारा दिसानायकेसँग भेटवार्ता गरेका थिए।
व्यापार, लगानी केन्द्रित भ्रमण
नेपाल भ्रमणको दोस्रो दिन शुक्रबार विशेष दूत गोरले परराष्ट्रमन्त्री शिशिर खनाल र अर्थमन्त्री डा.स्वर्णिम वाग्लेसँग भेटवार्ता गरे। अर्थमन्त्रीसँगको भेटमा उनले नेपालमा लगानी ल्याउने विषयमा छलफल गरेका छन्। अर्थमन्त्रालय स्रोतका अनुसार केही कानुन संशोधन गरी लगानीमैत्री वातावरण बनाए अमेरिकी कम्पनीहरुले नेपालमा लगानी गर्नसक्ने बताएका छन्।
यसअघि अप्रिल २० मा अमेरिकी सहायक विदेशमन्त्री समिर पल कपुरले नेपाल भ्रमणमा आएका थिए। गोर र कपुर यी दुई उच्च अमेरिकी अधिकारीको नेपाल भ्रमणमा २ विषय समान देखिन्छन्। उनीहरु दुवैसँग प्रधानमन्त्री शाहको भेटवार्ता भएन। दुवै जनाले नेपालमा लगानी, व्यापार, व्यवसायको मुद्दामा भेटवार्ता केन्द्रित गरे।
शनिबार साँझ विशेष दूत गोर नयाँ दिल्ली प्रस्थान गर्नेछन्। उनी भारतका लागि अमेरिकी राजदूत पनि हुन्।
Shares

प्रतिक्रिया