राजनीति


संक्रमण भएपछि एमाले अध्यक्ष ओलीका सबै भेटघाट बन्द

संक्रमण भएपछि एमाले अध्यक्ष ओलीका सबै भेटघाट बन्द

सागर न्यौपाने
बैशाख १८, २०८३ शुक्रबार १६:९, काठमाडौँ

स्वास्थ्य अवस्था बिग्रन नदिन नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई सबै खालका भेटघाटमा रोक लगाइएको छ। गत चैत ३० गते पत्थरीको शल्यक्रिया गरेर वैशाख ५ गते अस्पतालबाट डिस्जार्च भएका थिए।

उनी भक्तपुरस्थित गुण्डुमा रहेको निवासमा आराम गरिरहेका छन्। तर, उनको सचिवालयले केही दिनयता प्रत्यक्ष भेट गर्न दिएको छैन। स्वास्थ्य अवस्था बिग्रिन नदिन भेटघाट बन्द गरिएको एक पदाधिकारीले जानकारी दिए।

भक्तपुरको गुण्डुस्थित निवासमै आराम गरिरहे पनि उनको स्वास्थ्यलाभको कामना गर्न दैनिक नेता र कार्यकर्ताको भीड लागेपछि शल्यक्रिया गरेको ठाउँमा संक्रमण हुने जोखिम बढेको चिकित्सकले बताएका थिए। त्यसपछि तीन दिनयता सबै किसिमका भेटघाटलाई रोकिएको एक पदाधिधारीले बताए। 

‘बीचमा धेरै भेट गर्नु भएछ, त्यसले असर गर्‍यो भनेर डाक्टरले भनेपछि प्रत्यक्ष भेट अहिले बन्द गरिएको छ,’ उनले नेपालखबरसँग भने, ‘इन्फेक्सन नै भएकाले सबै भेट रोक्नुपर्‍यो। डाक्टरले अलि रेस्ट गर्नुपर्‍यो, केही समय भेटघाट गर्नुभएन भनेपछि दुई–तीन दिनयता कुनै भेट गर्न दिइएको छैन।’ 

सरकारले गौरीबहादर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्न भन्दै गत चै १४ गते ओलीलाई निवासबाटै पक्राउ गरेको थियो। त्यसयता उनी कुनै सार्वजनिक कार्यक्रममा सहभागी हुन पाएका छैनन्। 

पक्राउ गरेकै दिन प्रहरीले त्रिवि शिक्षण अस्पताल लगेर स्वास्थ्य जाँच गर्दा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो। स्वास्थ्य समस्याका कारण अदालतमा उपस्थित पनि हुन सकेका थिएनन्। 

उनको पक्राउविरुद्ध पत्नी राधिका शाक्यले सर्वाेच्चमा बन्दी प्रत्यक्षीकरणको रिट हालेकी थिइन। सर्वोच्च अदालतले फेरि म्याद नथप्न परमादेश दिएपछि गत चैत २६ गते ओली हिरासतमुक्त भएका थिए।

हिरासत मुक्त भए पनि उनी डिस्चार्ज भएनन्। किनकि, उनको पित्तथैलीमा पत्थरी देखिएको थियो। त्यसपछि गत चैत ३० गते शल्यक्रिया गरिएको थियो। स्वास्थ्यमा सुधार आएपछि वैशाख ५ गते मात्रै उनलाई डिस्चार्ज गरिएको थियो। 

अस्पतालबाट डिस्चार्ज भएपछि उनी सार्वजनिक कार्यक्रममा देखिएका छैनन्। निवासमै आराम गरिरहे पनि उनलाई भेट्न नेता र कार्यकर्ता गुण्डु पुगिरहेका छन्। 

शल्यक्रिया गरिएको भागमा संक्रमण हुन नदिन चिकित्सकको सुझाव अनुसार सबैखालका भेटघाट रोकिएको एमालेका केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले जानकारी दिए। ‘उहाँलाई इन्फेक्सन भएको देखिएपछि भेटघाट रोकिएको हो,’ अधिकारीले नेपालखबरसँग भने, ‘मान्छे जतिधेरै भयो उति इन्फेक्सनको डर भयो। त्यसो नहोस् भनेर तत्कालका लागि भेटघाट कम गरिएको हो।’

वैशाख ९ गते एमालेको सचिवालय बैठक बसेको थियो। ओली सहभागी हुने भनिए पनि स्वास्थ्य अवस्थामा सुधार नआएकाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को अध्यक्षतामा बैठक सबेको थियो। 

प्रत्यक्ष भेटघाट बन्द गरे पनि सामाजिक सञ्जालमार्फत भने आफ्ना भनाइ राखिरहेका छन्। आज मात्रै पनि चार वटा स्टाटस् लेखेका छन्।

बिहान बुद्ध जयन्तीको अवसरमा शुभकामना दिएका ओलीले त्यसपछि श्रमिक दिवस र उभौलीको शुभकामना सन्देश जारी गरेका छन्। त्यस्तै, रोल्पामा भएको गाडी दुर्घटनामा ज्यान गुमाउने यात्रुप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। 

यसअघि उनले वैशाख १ गते नयाँ वर्षको शुभकामना दिएका थिए। सर्वोच्चका आदेशपछि थुनामुक्त भएको दिन चैत २६ मा अस्पतालबाटै सामाजिक सञ्जालमार्फत आफ्ना भनाइ राखेका थिए। 

गत भदौको जेनजी आन्दोलनको कारण सत्ता गुमाएका ओली गत मंसिरमा पार्टीको ११औँ महाधिवेशन गरेर तेस्रो पटक अध्यक्ष निर्वाचित भएका थिए। गत फागुनमा सम्पन्न प्रतिनिधि सभाको चुनावमा एमालेले नराम्रो पराजय बेहोरेपछि नैतिकका आधारमा अध्यक्ष पद छोड्न पार्टीभित्रका उपाध्यक्ष विष्णु पौडेलसहितका पदाधिकारीले दबाब दिँदै आएका छन्।

त्यसबारे भने एमाले अध्यक्ष ओलीले कुनै प्रतिक्रिया दिएका छैनन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad