सरकारले खुला प्रतिस्पर्धाबाट राजदूत नियुक्ति गर्ने तयारी अघि बढाएको छ।
परराष्ट्रमन्त्री शिशिर खनालले मन्त्रालयका वरिष्ठ अधिकारीहरूसँगको छलफलमा खुला प्रतिस्पर्धाबाट राजदूत नियुक्त गर्न छिट्टै विज्ञापन हुने संकेत गरेका अधिकारीहरूले बताएका छन्।
खनालले गएको सोमबार मन्त्रालयका उच्च अधिकारीहरूसँगको छलफलमा यस्तो संकेत गरेका हुन्। मन्त्री खनालले खुला प्रतिस्पर्धाबाट राजदूत नियुक्ति गर्नको लागि प्रधानमन्त्री बालेन्द्र शाहसँगसमेत सहमति लिइसकेका छन्।
बालेन्द्र शाह (बालेन) नेतृत्वमा सरकार बनेपछि पहिलोपटक खुला प्रतिस्पर्धाबाट राजदूत नियुक्ति गर्न लागिएको हो।
यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले २०७५ सालमा पनि राजनीतिक कोटाबाट नियुक्ति हुने राजदूतका लागि मापदण्ड तोकेको थियो।
‘राजदूत नियुक्तिसम्बन्धी निर्देशिका, २०७५’ले कुल रिक्त राजदूत पदमा कम्तीमा ५० प्रतिशत परराष्ट्र सेवाबाट र बाँकी ५० प्रतिशत राजनीतिक नियुक्ति गर्ने व्यवस्था गरेको छ।
तर यसअघिका सरकारले खुला प्रतिस्पर्धाबाट राजदूत नियुक्त गरेको थिएन।
नेपालमा परराष्ट्र मन्त्रालयमा कार्यरत ‘करियर डिप्लोम्याट’ मध्येबाट र सत्तारूढ दलले छानेका व्यक्तिहरू राजदूत नियुक्त हुँदै आएका छन्।
परराष्ट्र मन्त्रालयका अधिकारीहरूले यसपटक पनि ‘करिअर डिप्लोम्याट’बाट ५० प्रतिशतभन्दा बढी राजदूत नियुक्ति गर्न मन्त्री खनाललाई आग्रह गरेका छन्।
खुला प्रतिस्पर्धाका लागि गरिने विज्ञापनमा आकांक्षीहरूको उमेर, अनुभव र शैक्षिक योग्यताजस्ता विवरणहरू माग गर्ने तयारी मन्त्रालयले गरेको छ।
Shares

प्रतिक्रिया