राजनीति


सुकुम्बासीलाई दुःख दिने काम भयो: प्रदीप पौडेल

सुकुम्बासीलाई दुःख दिने काम भयो: प्रदीप पौडेल

नेपालखबर
बैशाख १४, २०८३ सोमबार १४:२, काठमाडौँ

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सरकारले नागरिकमाथि जब्बरजस्ती बल प्रयोग गर्न लागेको आरोप लगाएका छन्। 

सोमबार कांग्रेस मुख्यालय सानेपामा सुकुम्बासी बस्ती हटाउने सरकारको कदमबारे जिज्ञासा राख्दा पौडेलले वास्तविक सुकुम्बासीलाई समेत पीडा दिएर सरकारले जब्बरजस्ती गरेको भन्दै आपत्ति जनाए। ‘यो एकदमै हतारमा जब्बरजस्ती गरिएको जस्तो देखियो। यसमा अनधिकृत रुपमा बसेको अवस्था थियो भने उनीहरूलाई हटाउनुहुँदैन भन्ने हाम्रो कुरा होइन। तर समय दिएर, प्रक्रिया पूरा गरेर अनि त्यहाँ थप छानबिन गरेर वास्तविक सुकुम्बासीलाई दुःख नहुने गरी उनीहरूलाई मर्का नपर्ने गरी गरिनु पर्दथ्यो,’ पौडेलले भने, ‘तर यो चाँही एकदमै हतारमा जोड जब्बरजस्ती अनि राज्यले पेलेजस्तो देखियो। राज्य त सबैका लागि सहयोगी हुनुपर्छ।’

सरकारले वास्तविक सुकुम्बासीको पहिचान समेत नगरी हतारमा सुकुम्बासीलाई दुःख दिएर जे गरे पनि हुन्छ भन्ने खालको दम्भ देखाएको बताए। ‘जोड जब्बरजस्ती डोजर लगाएर निकाल्ने काम भयो। दुःख दिने काम भयो। राज्यले दायित्व निर्वाह गरेजस्तो परिस्थिति देखिएन,’ उनले भने। 

बस्ती हटाउने सरकारको कामको विरोध भन्दा पनि वास्तविक सुकुम्बासीलाई दुःख दिएकोमा पीडाबोध भएको पनि महामन्त्री पौडेलको भनाइ थियो। सरकारले बैकल्पिक व्यवस्था नगरी बस्ती हटाउने कुरा पनि उचित नभएको उनले बताए। 

‘धेरै दुःख नहुनेगरी, पीडा नहुने गरी सजिलोगरी यसलाई गरिनु पर्दथ्यो। हतार गरियो, पीडा दिइयो। दमन गरेजस्तो गरियो,’ पौडेलले भने, ‘अध्ययन नगरी, जाँचबुझ नगरी म राज्य हुँ, मैले जे गरे पनि हुन्छ भनेजस्तो गरी हतारमा राज्यको सम्पूर्ण बल प्रयोग गरी त्यसो गरिनुहुँदैन्थ्यो।’

पहिले पनि सुकुम्बासीबारे धेरै गृहकार्य भएको उनले सुनाए। पहिला भएको गृहकार्यको आधारमा को बास्तविक सुकुम्बासी हो, को नक्कली सुकुम्बासी हो भन्ने छुट्टयाउन सकिने उनको भनाइ थियो। महामन्त्री पौडेलले सरकारले बस्ती हटाउनु अघि त्यहाँका बास्तविक सुकुम्बासीको पहिचान नगर्नुं गलत भएको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad