राजनीति


जनमोर्चाले आउँदो चैतमा राष्ट्रिय सम्मेलन गर्ने

जनमोर्चाले आउँदो चैतमा राष्ट्रिय सम्मेलन गर्ने

नेपालखबर
बैशाख १३, २०८३ आइतबार २०:३४, काठमाडौँ

राष्ट्रिय जनमोर्चाले यही २०८३ सालको अन्त्यमा राष्ट्रिय सम्मेलन गर्ने भएको छ।

आगामी चैत २४, २५ र २६ गते पाचौँ राष्ट्रिय सम्मेलन गर्ने घोषणा गरेको हो।

यही वैशाख ११ र १२ गते बुटवलमा सम्पन्न केन्द्रीय समितिको बैठकले राष्ट्रिय सम्मेलनको मिति तय गरेको अध्यक्ष चित्रबहादुर केसीद्वारा जारी वक्तव्यमा उल्लेख छ।

उक्त सम्मेलन यसभन्दा पहिलेको बैठकले मंसिरमा गर्ने ठेगान गरेको थियो।

जनमोर्चाले निर्वाचनमा अपेक्षित परिणाम प्राप्त गर्न नसकेता पनि साम्राज्यवादी हस्तक्षेपका विरुद्ध जनतालाई सचेत गराउन पार्टी सफल भएको निष्कर्ष निकालेको छ।

संविधान संशोधनबारे आफ्‌नो धारणा सार्वजनिक गर्दै राजमोले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको प्रणालीलाई अधिनायकवादतर्फको यात्रा हुने बताएको छ। हालको मिश्रित निर्वाचन प्रणाली नै उपयुक्त रहेको जनमोर्चाको ठहर छ।

यसैगरी बैठकले सरकारले नेपाललाई ‘बफर स्टेट’का रूपमा प्रस्तुत गर्नु गलत भएको उल्लेख गर्दै विद्यार्थी संगठनमाथि नियन्त्रण, ट्रेड युनियन अधिकार कटौती तथा सुकुमबासी बस्तीमा डोजर प्रयोगजस्ता कार्यले सरकारको अधिनायकवादी प्रवृत्ति झल्काएको निष्कर्ष निकालेको छ।

अध्यक्ष केसीद्वारा प्रस्तुत र पारित प्रतिवेदनमा वर्तमान सरकारलाई ‘अमेरिकाको कठपुतली सरकार’ को संज्ञा दिइएको छ। 

‘प्रतिवेदनले वर्तमान सरकार वा स्वतन्त्र पार्टीले आफ्नो परराष्ट्र नीतिका बारेमा अहिलेसम्म स्पष्ट पारेको छैन । परराष्ट्र नीतिका बारेमा मौन बस्नका पछाडि एउटा निश्चित कारणले काम गरेको छ’ वक्तव्यमा भनिएको छ, ‘अहिलेको सरकारको अमेरिकी साम्राज्यवादको परराष्ट्र वा सुरक्षा नीतिको मातहत वा निर्देशन वा ती नीतिसँग समन्वय गरी आफ्नो नीति निर्धारण गर्ने उद्देश्य रहेको छ। त्यसकारण प्रतिवेदनले स्वतन्त्र पार्टीको सरकारलाई अमेरिकाको कठपुतली सरकार भएको निष्कर्ष निकालेको छ।’

जनमोर्चाले यही वैशाख २६ गते काठमाडौँमा संविधान संशोधनसम्बन्धी बृहत् अन्तरक्रिया आयोजना गरिने जनाएको छ। त्यसका साथै, वैशाख २९ गतेदेखि जेठ १७ गतेसम्म देशका विभिन्न सहरमा जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न गर्ने तालिका पनि सार्वजनिक गरेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad