सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार छनोट गर्न तयारी थालेको छ।
बिहीबार वडादेखि प्रदेश कार्यालयहरूलाई परिपत्र गरी उम्मेदवार छनोट रूपरेखा तयार गर्न सुझाव मागेको छ।
रास्वपाले उम्मेदवार छनोटका लागि सह-महामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा ७ सदस्यीय स्थानीय निर्वाचन उमेदवार छनोट रूपरेखा तथा क्यान्डिडेट क्लब सम्पादन समिति गठन गरेको थियो।
सोही समितिको आज बसेको बैठकले उम्मेदवार छनोट रूपरेखा तयार गर्न सबै तहगत समितिहरुबाट व्यवहारिक, अर्थपूर्ण र व्यवस्थित सुझाव संकलन गर्ने निर्णय गरेको सहमहामन्त्री आचार्यले जनाएका छन्।
निर्धारित समयसीमाभित्र सुझाव उपलब्ध गराउन सम्पूर्ण समितिहरूलाई आग्रह गरिएको छ।
रास्वपा केन्द्रीय कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘२०८३ वैशाख १४ वडा तहमा छलफल गरी पालिकामा पठाउने विशेष कारणले सम्बन्धित समिति सभापति व्यस्त वा उपस्थित हुन नसक्ने भएमा उपसभापतिमार्फत भौतिक वा भर्चुअल विधिबाट मिटिङ राखि छलफल गरी उल्लेखित समयसिमाभित्रमा पठाउने २०८३ वैशाख १६ पालिकामा छलफल गरी जिल्लामा पठाउने २०८३ वैशाख १७ जिल्लामा छलफल गरी प्रदेशमा पठाउने २०८३ वैशाख १८ प्रदेशमा छलफल गरी केन्द्रमा पठाउने।’

Shares

प्रतिक्रिया