झापाका विभिन्न सीमावर्ती क्षेत्रबाट प्रहरीले लागूऔषध ब्राउन सुगरसहित पाँच जनालाई नियन्त्रणमा लिएको छ। जिल्लाको झापा गाउँपालिका र भद्रपुर नगरपालिकाका छुट्टाछुट्टै स्थानमा गरिएको चेक जाँचका क्रममा उनीहरू पक्राउ परेका हुन्।
प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको गस्ती टोलीले बिहीबार दिउँसो झापा गाउँपालिका–४ को चौधरीटोलमा भारतबाट पैदल आउँदै गरेका शिवसताक्षी नगरपालिका–११ का ३१ वर्षीय मदन मिश्रलाई पक्राउ गरेको हो। उनले लगाएको सर्टको कलरभित्र लुकाएर ल्याएको ३ ग्राम ८९ मिलिग्राम ब्राउन सुगर फेला परेको थियो।
त्यसैगरी, साँझ भद्रपुर नगरपालिका–४ डाँगीबारीमा जिल्ला र वडा प्रहरी कार्यालय भद्रपुरको संयुक्त टोलीले ८ ग्राम ७५० मिलिग्राम ब्राउन सुगरसहित तीन जनालाई नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेहरूमा पाँचथरको फिदिम नगरपालिकाका २४ वर्षीय भिमराज खजुम, २९ वर्षीय राजमान राई र २३ वर्षीय लक्ष्मण लिम्बु रहेका छन्। उनीहरूलाई थप कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइएको छ।
यसैगरी, साँझ नै भद्रपुर नगरपालिका–५ मेचिबिटमा वडा प्रहरी कार्यालय भद्रपुरको टोलीले साइकलमा सवार स्थानीय २४ वर्षीय सुमन मुखियालाई पक्राउ गरेको छ।
मुखियाले चलाएको साइकलको सिटमुनि लुकाइएको ७ ग्राम ७६० मिलिग्राम ब्राउन सुगर र नगद ९ हजार रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ। नियन्त्रणमा लिइएका सबैमाथि आवश्यक अनुसन्धान भइरहेको छ।
Shares

प्रतिक्रिया