‘आधुनिक इमेल र सामाजिक सञ्जालको जमानामा हुलाक सेवा ब्युँतेला र? बालेन हावा हो!’, सरकारले शासकीय सुधारको सूची सार्वजनिक गर्ने समयमा धेरैले भनेका थिए। १०० मध्ये २७ बुँदामा लेखिएको थियो, ‘राहदानी, लाइसेन्स, नागरिकता जस्ता सरकारी कागजात हुलाकमार्फत् सेवाग्राहीको घरमै पुर्याइनेछ।’
योजना केवल कागजको योजनामा सीमित रहेन। सरकारले ‘गभर्न्मेन्ट कुरियर सर्भिस’ जनताको घरदैलोमा पुग्न थालेको छ।
डडेल्धुरामा जिल्ला प्रशासन कार्यालयले राहदानी हिजोआज सेवाग्राहीको घरमै पठाउँछ। घोषित योजना कार्यान्वयन भएसँगै सेवाग्राहीका घरमै पुग्न थालेका हुन्।
जिल्ला प्रशासन कार्यालय डडेल्धुराको राहदानी शाखाका नायब सुब्बा जनकराज पन्तका अनुसार पहिलो चरणमा हुलाकमार्फत ७५ राहदानी सेवाग्राहीलाई घरमै पुगिसकेका छन्।
‘सरकारी सेवा घरमै उपलब्ध गराउने सरकारको नीति अनुसार काम सुरु गरेका छौँ। हुलाक कार्यालयमार्फत राहदानीलाई घरमै पुगेर उपलब्ध गराउने कामले निरन्तरता पाउने छ,’ नेपालखबरसँग उनले भने।
उनका अनुसार पहिलो चरणमा राहदानी बनेर प्रशासन कार्यालयमै थन्किएका ७५ राहदानीलाई हुलाकमार्फत सेवाग्राहीको घरमै पठाइएको हो। जिल्ला प्रशासनबाट सबैभन्दा पहिला जिल्ला हुलाक कार्यालयले राहदानी बुझेर लैजान्छ। जिल्ला हुलाक कार्यालयले इलाकामा पठाउँछ। इलाका हुलाक कार्यालयका कर्मचारीले बुझेर सेवाग्राहीका घरमै राहदानी पुर्याइदिन्छन्।
पछिल्लो एक महिनामा प्रशासनमा आएर अनलाइन फाराम भरी बनेका १ सय ३९ राहदानी सेवाग्राहीका घरमा-घरमा पुर्याउन हुलाक कार्यालयको जिम्मा लगाइ सकिएको पन्तले जानकारी दिए।
जिल्ला हुलाक कार्यालयका अनुसार इलाका हुलाकले स्थानीय तह हुँदै गाउँ टोल पत्ता लगाएर निवेदक स्वयं वा एकाघरका परिवार सदस्यलाई राहदानी प्रदान गर्ने गरिएको छ।
जिल्ला हुलाक कार्यालय डडेल्धुराका कार्यालय प्रमुख निमित्त हुलाक अधिकृत दिजयराज ओझाका अनुसार हुलाकमार्फत घरमै राहदानी पाउन थालेपछि सेवाग्राही खुसी भएका छन्। दुर्गम क्षेत्रका बासिन्दाले घरमै राहदानी पाउन थालेपछि पैसा र समय दुवैको बचत भएको छ। त्योभन्दा महत्वपूर्ण कुरा त राहदानी बनाउन लाइन बस्नुपर्ने र लिनका लागि पटक-पटक धाउनुपर्ने झमेला हटेको छ।
देशभरि हुलाक सेवा विभागसँग १७ हजारभन्दा बढी जनशक्ति छ। ७७ जिल्ला, ७५३ स्थानीय तह र ३ हजार ७४ अतिरिक्त हुलाक कार्यालयहरूको सञ्जाल छ। यति ठूलो पूर्वाधार हुँदाहुँदै पनि हुलाक लामो समयदेखि ‘सुनसान’ जस्तै थियो। बालेन सरकारले यो संयन्त्रलाई ब्युँताएर आधुनिकीकरण गर्दै सिधै जनतासम्म सरकारी सेवा पुर्याउन काम थालेको हो।
यो पनि: सीडीओ अफिसमा सोध्न थालियो- राहदानी लिन आउनुहुन्छ कि घरमै पठाइदिऊँ?
Shares

प्रतिक्रिया