राजनीति


सरकारले सुकुम्बासीका झुप्रा भत्काएको र विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाएको भन्दै नेकपाले जनायो आपत्ति

सरकारले सुकुम्बासीका झुप्रा भत्काएको र विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाएको भन्दै नेकपाले जनायो आपत्ति

नेपालखबर
बैशाख ६, २०८३ आइतबार १४:१३, काठमाडौँ

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले सरकारले हालै देशका विभिन्न स्थानमा सुकुम्बासी परिवारहरूलाई उचित विकल्पबिना उठिबास गराउने तथा झुप्रा भत्काउने कार्य गरेकोप्रति गम्भीर आपत्ति जनाएको छ। 

नेकपाले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै सरकारको कदमलार्ई अमानवीय’ भन्दै विरोध गरेको हो। 

नेकपा केन्द्रीय कार्यालयको तर्फबाट गणेमान पुनले जारी गरेको विज्ञप्तिमा सुकुम्बासीका झुप्रा भत्काउने कार्य तत्काल रोक्न र उनीहरुलाई पुनर्वासको व्यवस्था गर्न सरकारसँग माग गरेको छ।

विज्ञप्तिमा सुकुम्बासी व्यवस्थापनका नाममा गरिएका गतिविधिले पीडित परिवारलाई बिचल्ली बनाएको र सीमान्तकृत समुदायमा राज्यप्रतिको विश्वास कमजोर हुने खतरा बढेको उल्लेख छ। 

‘समुचित पुनर्वासको व्यवस्था नगरी यस्ता कार्य नगर्न सरकारसमक्ष आग्रह गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ।

यसैबीच बालेन नेतृत्वमा नयाँ सरकार गठनलगत्तै बजारमा महँगी र कालोबजारी बढेको भन्दै नेकपाले तत्काल नियन्त्रण गर्न पनि माग गरेको छ।

सरकारले विद्यार्थी संगठनहरूमाथि प्रतिबन्ध लगाउने प्रयासलाई संविधानविपरीत भन्दै त्यसलाई अस्वीकार गर्ने निर्णय गरेको छ।

पञ्चायती व्यवस्थाको समयमासमेत उपभोग गरिएको संगठित हुने अधिकार संघीय लोकतान्त्रिक गणतन्त्रमा खोस्ने प्रयास भएको भन्दै यसप्रति नेकपाले गम्भीर चिन्ता व्यक्त गरेको छ। 

साथै, ट्रेड युनियनमाथि प्रतिबन्ध लगाउने प्रयासले संवैधानिक अधिकार तथा अन्तर्राष्ट्रिय सन्धि–सम्झौताको उल्लङ्घन हुने नेकपाको दाबी छ। 

वर्तमान सरकारप्रति जनताले सुशासन, सामाजिक न्याय र समृद्धिको अपेक्षा गरेको उल्लेख गर्दै नेकपाले सरकारका सकारात्मक कार्यक्रमहरूलाई स्वागत गरेको जनाएको छ। 

तर शासन सञ्चालन र संसदीय अभ्यासमा देखिएको पूर्वाग्रही र एकपक्षीय प्रवृत्तिले चिन्ता बढाएको नेकपाले जनाएको छ। 

पार्टीले सरकारलाई अझ लोकतान्त्रिक, उत्तरदायी र समावेशी बन्न आग्रह गर्दै सुकुम्बासी, किसान, मजदूर तथा उत्पीडित समुदायप्रति जिम्मेवार हुन आग्रहसमेत गरेको छ। 

‘लोकतन्त्रको सुदृढीकरण अधिकार खोसेर वा जनताको घरबास उजाडेर सम्भव हुँदैन,’ विज्ञप्तिमा भनिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad