नेपाली कांग्रेस आधिकारीकताको विवाद सम्भवत: शुक्रबार टुंगो लाग्दैछ। निर्वाचन आयोगले विशेष महाधिवेशनबाट चुनिएको गगन थापा नेतृत्वलाई आधिकारीकता दिएपछि तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आफूहरू आधिकारीक भएको दाबी गर्दै निर्वाचन आयोगको निर्णय खारेज गर्न माग गरेका छन्। उक्त रिटमा बहस सकिएको छ।
न्यायाधीश शारङ्गा सुवेदी र नृपध्वज निरौलाको इजलासले आजै संक्षिप्त आदेश दिने तयारी गरेको छ। जुन कुरा बहसकै क्रममा न्यायाधीश सुवेदीले भनेकी थिइन्, ‘यो मुद्दा हामी लम्ब्याउने पक्षमा छैनौँ। आजै सक्नुपर्छ।’
त्यसपछि जवाफी बहस पनि सुरु भयो र सुनुवाइ सकियो।
बहसको अन्तिममा कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आफ्ना कुरा राखेका थिए। सरोकारवालाको तर्फबाट शर्माले इजलासको अनुमति लिएर झण्डै १० मिनेट समय लिए।
बहसको अन्तिममा उनले अदालतको फैसला आफ्नो पक्षमा आयो (रिट खारेज भयो) भने सबैलाई समेटेर अगाडि बढ्ने बताउँदै निर्वाचनमा टिकट वितरण गर्दाको प्रशंग सुनाए।
महामन्त्रीबाट कारबाही गर्नेहरूलाई पनि निर्वाचनमा टिकट दिएको उदाहरण दिँदै उनले उमेरमा सानो भएपनि व्यवहार र अनुभवमा कमी नरहेको बताए। उनले गएको निर्वाचनमा आफूलाई महामन्त्रीबाट कारबाही गर्ने विमलेन्द्र निधी, प्रकाशशरण महत र रिट लिएर सर्वोच्च पुगेका पूर्णबहादुर खड्काका भाइलाई पनि टिकट दिएको उनले बताए।
त्यसअघि उनले भने, ‘यो बच्चाको कथा होइन श्रीमान। यो त आमा कसको हो भन्ने विषय हो। बाबु कसको हो भन्ने विषय हो। यसका लागि बाबु–आमाको रेखदेख कसले गरिरहेको छ भन्ने कुरा हेरिनुपर्छ।’
उनले रिट निवेदकले उठाएका विषयमा जवाफ इजलासमा दिएका थिए। महाधिवेशन प्रतिनिधिले हस्ताक्षर फिर्ता गरेको भन्ने विषयमा पनि उनले जवाफ दिए। जसको जवाफमा उनले गएको निर्वाचनमा ओखलढुंगाको नतिजाको विषय सुनाएका थिए।
‘उहाँहरूले विशेष महाधिवेशनका पक्षमा हस्ताक्षर गरेका प्रतिनिधिले आफ्नो हस्ताक्षर फिर्ता गरेको भन्नु भएको छ। गएको निर्वाचनमा ओखलढुंगामा रास्वपा उम्मेदवारलाई मत दिएका १० जनाले हाम्रो मत फिर्ता भने भनेको होला। फिर्ता गर्दा फिर्ता हुन्छ भनेत त्यहाँ कांग्रेसका कुमार लुइटेल विजयी हुनु पर्ने हो। उहाँ जम्मा ५ मतले पराजित हुनु भएको हो। हरेक कुराको विधि हुन्छ, समय र प्रक्रिया हुन्छ’, शर्माले भने।
यस्तै महाधिवेशन प्रतिनिधिहरूले नै विशेष महाधिवेशन आयोजना गरेको र आफूहरू सहभागी मात्रै भएको बताए। हिजो जसले चुनेर पठाएका थिए उनीहरूले नै अर्को नेतृत्व चुनेकाले आफूहरू नै आधिकारीक भएको दाबी शर्माले इजलासमा गरे।
उनले जेनजी आन्दोलनको प्रशंग समेत सुनाएका थिए।
सांसदको कार्यकाल ५ वर्षको हुने भएपनि जेनजी आन्दोलनका कारण त्यसअघि नै संसद विघटन भएको प्रशंग उनले इजलासमा सुनाए।
‘संविधानमै सांसदको कार्यकाल ५ वर्षको हुने उल्लेख छ। तर जेनजी आन्दोलनका कारण समयअघि नै विघटन हुन पुग्यो। आन्दोलन गर्ने पनि हामीलाई मत दिएकै नागरिकहरु थिए। उनीहरूले हामीविरुद्ध विद्रोह गरे र बिदा गरिदिए’, शर्माले भने, ‘कहिलेकाहिँ यस्तो पनि हुन्छ श्रीमान्। कांग्रेसको विशेष महाधिवेसन पनि यस्तै भयो। जसले चुनेर पठाएका थिए उनीहरूले नै अब तिमीहरू हुँदैन भनेर विशेष महाधिवेशन माग गरे। त्यसलाई नेतृत्वले बेवास्ता गर्दा आजको अवस्था आयो।’
Shares

प्रतिक्रिया