नेकपा एकालेका अध्यक्ष केपी ओलीले वर्तमान अवस्थामा नेपालको वाम आन्दोलनले अलिकति धक्का खाए पनि यो फेरि उठ्ने विश्वास व्यक्त गरेका छन्।
नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४८ औँ स्मृति दिवसका अवसरमा बिहीबार सामाजिक सञ्जालबाट सन्देश जारी गर्दै उनले पुष्पलाल र बीपी कोइराला नेपालको वाम तथा प्रजातान्त्रिक आन्दोलनका महान हस्ती भएको बताएका हुन्।
‘पुष्पलाल र बीपी नेपालको वाम तथा लोकतान्त्रिक आन्दोलनका महान हस्ती हुनुहुन्थ्यो,’ ओलीले भनेका छन्, ‘उहाँहरू दुवै नेपालको वाम तथा प्रजातान्त्रिक आन्दोलनका बहुआयामिक र शिखर व्यक्तित्व हो, ‘उहाँहरू दुवैको आ-आफ्नो ठाउँमा नेपालको राजनीतिक र सामाजिक परिवर्तनमा असाधारण योगदान छ। यस सन्दर्भमा उहाँहरूको योगदाको सम्मान गर्दै, योगदानहरूबाट सिक्दै अगाडि बड्ने प्रण गर्दछु।’
उनले पुष्पलाल नेकपाका संस्थापक महासचिव मात्रै नभएर नेपाली राजनीतिका सही विश्लेषक, इतिहासकार, व्याख्याता, राजनीतिक साहित्यका प्रखर विश्लेषक, आफ्ना विचारलाई सही निष्कर्षमा पुर्याउन सक्ने असाधारण चिन्तक भएको बताएका छन्।
पुष्पलाल श्रेष्ठ राणा शासन विरोध १९९७ सालका सबैभन्दा कान्छा सहीद गंगालाल श्रेष्ठका माइला भाइसमेत रहेको स्मरण गर्दै उनले पुष्पलाल राजनीतिक आन्दोलनलाई जनताको जीवनसँग जोड्ने नेता भएको बताएका छन्।
ओलीले पुष्पलाल र बीपीले राणा शासन, पञ्चायती अधिनायकवाद र निरंकुश राजतन्त्रविरुद्ध संघर्ष गरेको स्मरण गरेका छन्।
तत्कालीन समयमा लोकतान्त्रिक र कम्युनिष्ट शक्तिहरू मिलेर पञ्चायती अधिनायकवाद विरुद्ध लड्नुपर्छ भनेर पुष्पलालले विकास गरेको सिद्धान्त एमालेका तत्कालीन महासचिव मदन भण्डारीले व्यवहारमा कार्यान्वयको लागि पहल गरेको बताएका छन्।
‘पुष्पलालका थुप्रै नीतिहरू अहिले पनि सान्दर्भिक र ताजा छन्,’ ओलीले भनेका छन्, ‘उहाँको समयपछि मदन भण्डारीको अगुवाइमा नेकपा एमालेले त्यो नीतिलाई कार्यान्वयनको लागि अगुवाई गरेको थियो। अहिलेको अवस्थामा आन्दोलनले अलिकति धक्का खाए पनि यो आन्दोलन फेरि अघि बढ्नेछ । पुष्पलाल र बीपीबाट प्रेरणा लिएर हामी फेरि उठ्नेछौँ, अघि बढ्नेछौँ।’
केपी ओलीको भिडिओ सन्देश
Shares

प्रतिक्रिया