राजनीति


लेखा समितिको सभापतिमा कांग्रेसबाट भरत खड्का उम्मेदवार

लेखा समितिको सभापतिमा कांग्रेसबाट भरत खड्का उम्मेदवार

नेपालखबर
बैशाख ३, २०८३ बिहिबार १४:२२, काठमाडौँ

प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिको सभपातिमा नेपाली कांग्रेसले भरत खड्कालाई उम्मेदवार बनाउने भएको छ। 

कांग्रेस संसदीय दलको बैठकले खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको हो। उनी प्रतिनिधि सभाको निर्वाचनमा डोटीबाट निर्वाचित भएका हुन्। 

२०१४ सालमा साविकको खिरसैन गाविसमा जन्मिएका खड्का डोटीको पूर्वीचौकी गाउँपालिका–१ फुलौटका बासिन्दा हुन्। २०३२ सालमा नेपाल विद्यार्थी संघको एकाइ उपसभापतिबाट राजनीतिक यात्रा थालेका उनी २०३६ सालमा नेविसंघको डोटी क्याम्पस एकाई समितिको उपसभापति भएका थिए। 

खड्काको जनप्रतिनिधि हुने यात्रा २०३९ सालदेखि सुरु भएको हो। उनी २०३९ सालमा गाउँ पञ्चायत चुनावबाट २३ वर्षकै उमेरमा साविक खिरसैन गाउँ पञ्चायतको प्रधानपञ्च बनेका थिए। 

त्यसपछि २०४४ सालमा डोटी जिल्ला पञ्चायतको सभापति भएका खड्का बहुदलपछि कांग्रेसमै सक्रिय भएका थिए। २०४९ सालको स्थानीय निकायको निर्वाचनमा जिल्ला विकास समिति उपसभापति भएका उनी २०५४ सालमा जिल्ला विकास समितिको सभापति भए।

२०६४ सालको संविधानसभा सदस्य निर्वाचनमा समानुपातिकको सूचीमा रहे पनि सांसद बन्न पाएनन्। त्यसपछि २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा समानुपातिकतर्फ संविधानसभा सदस्य भए। 

२०७४ सालमा भएको निर्वाचनमा डोटी-१ ‘क’ बाट प्रत्यक्षतर्फ प्रदेशसभा सदस्य निर्वाचित भएका उनी विशेष महाधिवेशनबाट कांग्रेसको केन्द्रीय सदस्य बनेका हुन्। गत निर्वाचनमा सभापति गगन थापाले टिकट दिएर पठाएपछि खड्का गत फागुन २१ मा सम्पन्न निर्वाचनमा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad