राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वडा र पालिका अधिवेशन पुनः सुरु भएको छ। २०८० मंसिरबाट सुरु भएको वडा अधिवेशन फागुन २१ को प्रतिनिधि सभा निवाचनलाई लक्षित गरी गत माघ दोस्रो साताबाट रोकिएको थियो।
चुनावका कारणले रोकिएको वडा र पालिका तहमा संगठन निर्माणको कार्य वैशाख २ गतेदेखि सुरु भएको रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीले नेपालखबरलाई बताए। उनका अनुसार संगठन निर्माण हुन नसकेका वडा र पालिकामा तदर्थ समिति गठन गर्न लागिएको छ।
वैशाख महिनाभर वडा र पालिकामा तदर्थ समिति तथा वडा परिषद् गठन गर्ने उनको भनाइ छ। महामन्त्री बुर्लाकोटीका अनुसार अहिलेसम्म ४५२ वडा र ६२ पालिकाको अधिवेशन सकिएको छ।
देशभरका ७५३ पालिकामध्ये २८९ पालिकामा र सात हजार ६४३ वडामध्ये चार हजार ४८७ वडामा संगठन निर्माण गर्न हुन सकेको छैन। वैशाख र जेठमा वडा अधिवेशन, असार र साउनमा पालिका र जिल्ला, भदौमा प्रदेश अधिवेशन र असोजमा केन्द्रीय महाधिवेशन गर्ने रास्वपाको तयारी छ।
गत कात्तिकमा चितवनमा बसेको विस्तारित बैठकले चुनावको ६ महिनापछि प्रथम महाधिवेशन गर्ने निर्णय गरेको थियो। उक्त निर्णयअनुसार भदौभित्र महाधिवेशन गर्नुपर्ने भए पनि असोजमा प्रथम महाधिवेशन गर्ने आन्तरिक तयारी भएको नेताहरू बताउँछन्।
‘महाधिवेशनबारे औपचारिक निर्णय भएको छैन। केही दिनमा बस्ने केन्द्रीय समिति बैठकले निर्णय लिन्छ। अहिले पालिका र वडा तहको अधिवेशन अगाडि बढेको छ। जिल्ला अधिवेशनको वैशाख १५ बाट सुरु गर्ने गरी सिफारिस आएको छ,’ महामन्त्री बुर्लाकोटीले भने, ‘सबै कुरा हेरेर जिल्ला अधिवेशनको निर्णय हुन्छ।’
Shares

प्रतिक्रिया