झण्डै दुई तिहाइ सिटसहित राष्ट्रिय स्वतन्त्र पार्टीलाई सत्तामा पुर्याएपछि सभापति रवि लामिछाने सबैभन्दा शक्तिशाली नेताका रुपमा उदाए। तर, चुनावी नतिजापछि सभापतिकै शक्तिमा प्रश्न उठ्न थालेको रास्वपाका नेताहरूले बताउन थालेका छन्।
चुनावअघिकै सहमतिअनुसार रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्री बने। तर, उनले पार्टीसँग आवश्यक समन्वय नगर्दा सभापतिका रुपमा रविले गरेका केही निर्णय अलपत्र मात्र परेको छैन, संसदमै धोकेबाजको आरोप समेत खेप्नु परेको छ।
राजकीय निर्णयहरूमा बालेन हाबी हुँदै जाँदा रविसँग उनको दूरी बढ्नसक्ने रास्वपा नेताहरूको चिन्ता छ। त्यसलाई रोक्न नेताहरूले समन्वय बढाउनुपर्ने उनीहरू बताउँछन्।
मन्त्रिपरिषद्मा बालेन हाबी
बालेनको नेतृत्वमा सरकार बनाउने सहमतिसहित उनी एकतामा आएका थिए। सभापति रवि लामिछानेले शाहलाई प्रधानमन्त्रीमा अघि सारेर चुनावमा होमिए। जुन रणनीतिमा रास्वपा सफल पनि भयो र पूर्वसहमति अनुसार बालेनको नेतृत्वमा चैत १३ गते यो सरकार गठन भयो। तर, रविले मन्त्री चयन आफैँले गर्ने योजना बनाएका थिए। उनले सार्वजनिक रुपमै सांसदको विज्ञताबारे आफूहरू जानकार रहेकाले मन्त्री बन्न धाउनु नपर्ने अभिव्यक्ति पनि दिएका थिए।
तर, केही मन्त्री नियुक्तिमा रविको इच्छाविपरीत निर्णय भयो।
पार्टीका उपसभापति डोलप्रसाद अर्याललाई गृहमन्त्री बनाउने रविको चाहना थियो। उनले अन्तिम घडीसम्म प्रयास पनि गरे। तर, बालेन त्यसका लागि तयार भएनन् र सुदन गुरुङ गृहमन्त्री बने।
गभर्नरमा पौडेलको निरन्तरता
जसअनुसार नेपाल राष्ट्र बैंकदेखि विभिन्न निकायमा भएका १ हजार १ सय ७० जनाको राजनीतिक नियुक्ति खारेज गर्ने तयारी अघि बढिसकेको छ। यस्तोमा राष्ट्र बैंकमा पनि नयाँ गभर्नर ल्याउने रविको चाहना थियो। तर, प्रधानमन्त्री बालेन्द्र शाहले मानेनन्।
बरु, गभर्नर विश्वनाथ पौडेललाई प्रधानमन्त्री कार्यालय सिंहदरबारमै बोलाएर कामलाई निरन्तरता दिन भने।
‘तपाईं विज्ञ व्यक्ति हो, निडरताका साथ काम गर्नु, तपाईंलाई हटाउँदैनौँ,’ बालेनले पौडेललाई भनेका थिए।
यससँगै गर्भनर पौडेल सुरक्षित भए, सभापति रवि लामिछानेको चाहना पूरा हुन सकेन।
मन्त्रीको सहयोगी सांसद
सांसदलाई मन्त्रीको सहजीकरणमा खटाउने तयारीप्रति पनि रवि लामिछानेलाई चित्त बुझेको छैन। प्रधानमन्त्री बालेन्द्रले केही सांसदलाई मन्त्रीहरूको काममा सहजीकरण गर्न खटाए पनि पार्टीले आधिकारिक रुपमा नपठाउने नीति लिएको छ।
रास्वपाका सहप्रवक्ता विपिन आचार्यले सांसदलाई मन्त्रीका काममा सहजीकरण गराउन नहुने बताए।
‘सांसदहरू नीति बनाउने व्यक्ति हुन्,’ उनले नेपालखबरसँग भने, ‘त्यसको नकारात्मक प्रभाव पनि ख्याल गर्नुपर्छ। यो गर्नुहुन्न भन्ने छ। म आफैँ पनि यसको पक्षमा छैन। यो एकदमै पेचिलो विषय हो, हलुका तरिकाले गर्दा यसको अर्थ हुँदैन।’
प्रधानमन्त्री बालेनले सुशान्त वैदिक, गणेश कार्की, सागर ढकाल लगायतका सांसदलाई विभिन्न मन्त्रालयमा खटाएका छन्। पार्टीले आधिकारिक निर्णय नगरे पनि वैदिक, कार्की र ढकाल नियमित रुपमा मन्त्रालय पुगेर ब्रिफिङ लिइरहेका छन्।
उपसभामुख चयन
उपसभामुख चयनले पनि चयनमा रवि र बालेनबीचको बेमेल देखाउँछ। चैत २२ गते उपसभामुख निर्वाचन थियो। रविले उपसभामुखमा राप्रपा उम्मेदवारलाई सघाउने आश्वासन दिइसकेका थिए।
राप्रपाका दलका नेता ज्ञानबहादुर शाहीले त्यही दिन संसदमा यो कुरा खुलाएका थिए। रास्वपाका सभापतिले फोन गरेरै उपसभामुखमा उम्मेदवारी दिनुस् भनेको शाहीले नेपालखबरलाई जानकारी दिएका थिए।
तर, यसमा पनि बालेन नै हाबी भए।
जसकारण रास्वपाले श्रमसंस्कृति पार्टीकी उम्मेदवार रुवीकुमारी ठाकुरलाई उपसभामुखमा समर्थन गर्यो। रास्वपाकै अशोककुमार चौधरी समर्थक बसे।
रास्वपाले धोका दिएको भन्दै राप्रपाका ज्ञानबहादुर शाहीले सभापति रवि लामिछानेसँग भएको कुराकानी रोस्ट्रममा उभिएर उल्लेख गरे। जवाफमा रविले राजनीतिमा अलगअलग फ्याक्टरले काम गर्ने बताएका थिए। रविको संकेत थियो– पार्टीभित्र प्रधानमन्त्री बालेन्द्र हाबी भए।
यस विषयले रवि खुसी नभएको नेताहरू बताउँछन्।
अभिमुखीकरण कार्यक्रममा बालेनको अनुपस्थिति
बालेन र रविको स्वभाव अलग छ। बालेन थोरै बोल्छन्, कम भेटघाट गर्छन्। रवि घण्टौँ बोल्न सक्छन्। सबैसँग भेटवार्ता, छलफल गरेर हिँड्न रुचाउँछन्।
चैत ३ र ४ गते रास्वपाले ललितपुरको एक होटलमा आफ्ना सांसदहरूका लागि विशेष अभिमुखीकरण कार्यक्रम आयोजना गरेको थियो। देशभरबाट चुनिएका सांसदहरूलाई संसदीय अभ्यास सिकाउने भनिएको उक्त महत्वपूर्ण कार्यक्रममा बालेन सहभागी भएनन्।
उनको अनुपस्थितिलाई लिएर रास्वपाकै नेताहरूले नमज्जा माने।
हालै अमेरिकी कांग्रेसको अनुसन्धान सेवाले तयार पारेको प्रतिवेदनमा पनि प्रधानमन्त्री बालेन र रास्वपाबीच ‘सुविधाको मिलन’ भएको उल्लेख छ।
रवि र बालेनबीच समन्वयको अभाव भएको रास्वपाका एक नेताले नेपालखबरसँग बताए।
‘हामीले हेर्दा सांसदहरूको अभिमुखीकरणदेखि उपसभामुख चयनको निर्णयसम्म आइपुग्दा पार्टीभित्र सभापतिसँग प्रधानमन्त्रीको समन्वय भएको देखिएको छैन,’ रास्वपाका ती नेताले भने, ‘यो राजनीति यस्तै रहेछ। पार्टीमा के हुँदैछ भन्ने कुरा दोस्रोबाहेक तेस्रोलाई थाहा हुँदैन।’
Shares

प्रतिक्रिया