अमेरिकाको होमल्याण्ड सेक्युरिटी (डीएचएस) र इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्ट (आइसीई) को ‘सबैभन्दा खतरनाक अपराधी’को सूचीमा ७ जना नेपाली परेका छन्। अमेरिका निकाला गर्ने सूचीमा उनीहरु प्राथमिकतामा परेको डीएचएसको वेबसाइटमा उल्लेख छ।
अदालतबाट दोषी ठहर भएकामध्ये आप्रवासी खराब अपराधी ‘हाइलाइट’ गर्दा नेपाली परेका हुन्। ‘डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी र आइसीईका मिहिनेती पुरुष महिलाहरुले राष्ट्रपति ट्रम्पको वाचा पूरा गर्दै अवैध आप्रवासी सहितलाई सामूहिक रुपमा देश निकाला गरिरहेका छन्’, डीएचएसको वेबसाइटमा भनिएको छ, ‘खतरनाक मध्येका खतरनाक पहिला देश निकाला हुनेछन्।’
होमल्याण्ड सेक्युरिटीका अनुसार ‘खतरनाक मध्येका पनि खतरनाक’ भनिएका नेपाली यौन शोषण, नाबालिग यौन शोषण, लागूऔषध ओसारपसार, हिंसात्मक आक्रमण र ठगी अभियोगमा अदालतबाट दोषी ठहर भएकाहरु हुन्।
को को हुन् ती सात जना?

लुजियानाका ऋतेष थापाको नाम पनि ‘खतरनाक मध्येको खतरनाक’ सूचीमा छ। उनी ‘वायर फ्रड’का दोषी हुन्। कोलोर्याडोका टेकन कँडेल नाबालिग यौन शोषण र बन्धक बनाउने अपराधी भएको डीएचएसले उल्लेख गरेको छ।
त्यस्तै, एरिजानोका सन्तोष दर्जीलाई खतरनाक लागूऔषध कारोबार, परिचय चोरी र सवारी साधन चोरीको अभियोगमा अदालतले दोषी ठहर गरेको डीएचएसको वेबसाइटमा उल्लेख छ।
न्यूयोर्कका श्यानम घिमिरेको नाम पनि ‘खतरनाक मध्येका खतरनाक’को सूचीमा परेको छ। यौन हिंसा, यौन दुर्व्यवहारको अभियोगमा दोषी ठहर भएका उनलाई डीएचएसले आफ्नो सूचीमा राखेको हो।
डोनाल्ड ट्रम्प दोस्रो पटक राष्ट्रपति बनेपछि अहिलेसम्म करिब एक हजार नेपालीलाई अमेरिकाले ‘डिपोर्ट’ गरेको छ। कतिपयलाई चाटर्ड उडानमार्फत् नेपाल फर्काएको छ।
Shares

प्रतिक्रिया