राजनीति


सभापति थापासँग रुष्ट राजेन्द्र बजगाईंले त्यागे कांग्रेस, भने– 'सज्जनका हातमा गोबर छ'

सभापति थापासँग रुष्ट राजेन्द्र बजगाईंले त्यागे कांग्रेस, भने– 'सज्जनका हातमा गोबर छ'

राजेन्द्र बजगाईं


नेपालखबर
चैत ३०, २०८२ सोमबार ९:४५, काठमाडौँ

नेपाली कांग्रेसका नेता एवं पूर्वसांसद राजेन्द्र बजगाईंले पार्टी परित्यागको घोषणा गरेका छन्। पछिल्लो समय पार्टी नेतृत्व, विशेषगरी सभापति गगन थापासँग असन्तुष्ट रहेका बजगाईंले आइतबार साँझ सामाजिक सञ्जाल 'एक्स' मार्फत आफू अब कांग्रेसमा नरहेको जानकारी दिएका हुन्।

पार्टीभित्रको आन्तरिक खिचातानी र कार्यशैलीप्रति तिखो टिप्पणी गर्दै उनले कांग्रेस अब विचलित मानसिकता भएकाहरूको भीड बनेको आरोप लगाएका छन्। उनले लेखेका छन्, ‘अन्ततः कांग्रेसमा बसिएन, सज्जनका हातमा गोबर छ। पिठ्युँमा घाँसको भारी बोकेर हिँडिरहेका छन्, अनुहारमा सम्भावना बोकेका सोझा नागरिकले पछाडि मात्र सत्य थाहा पाउनेछन्।’

बजगाईंले पार्टी क्रियाशील सदस्यता खारेजीको घोषणाप्रति पनि असन्तुष्टि पोखेका छन्। सभापति थापातर्फ संकेत गर्दै उनले प्रश्न गरेका छन्, ‘त्यो (सदस्यता) फेरि-फेरि भर्न किन पर्थ्यो र? त्यसको औचित्य नै थिएन नि।’

कांग्रेसमा संस्कार, इतिहास र प्रगतिपथ अनिश्चितताको भुमरीमा हराएको उनको दाबी छ। केही निश्चित समूहले चरणबद्ध रूपमा पार्टी कब्जा गर्ने अभियान चलाएको भन्दै उनले नेतृत्वको नियतमाथि प्रश्न उठाएका छन्।

‘उनीहरूले यसरी खेल खेलिरहेका छन्— सके प्रभावको कोर्रा हानेर आधिकारिकता लिने, नसके अप्ठ्यारो ढुंगाको पर्खाल खडा गरेर तथ्यांक संकलनको आडमा भित्री षड्यन्त्रमार्फत कांग्रेसमाथि नियन्त्रण जमाउने गरी सदस्यताको डिएनए बनाउने,’ बजगाईंले आक्रोश पोखेका छन्।

गोरखाबाट राजनीतिमा सक्रिय र पर्यटन व्यवसायी समेत रहेका बजगाईंको बहिर्गमनले कांग्रेसभित्रको आन्तरिक विवादलाई फेरि सतहमा ल्याइदिएको छ।

यसअघिदेखि नै उनले पार्टीका गतिविधिप्रति असन्तुष्टि जनाउँदै आएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad