नेपाली कांग्रेसले आगामी वैशाख ४ गते संसदीय दलको नेता चयन गर्ने भएको छ। प्रमुख प्रतिपक्ष दलको नेता संवैधानिक परिषद्को सदस्य हुनेदेखि मन्त्रीसरहको सेवासुविधा पाउने भएपछि कांग्रेसमा दलको नेताका लागि सांसदहरूबीच रस्साकस्सी छ।
दलका नेतामा पूर्वसहमहामन्त्रीहरू अर्जुननरसिंह केसी, भीष्म आङदम्बे, मोहन आचार्य लगायतको दाबी छ। २०३८ सालको पञ्चायतदेखि नै चुनाव लड्दै आएका र पाँच पटकसम्म मन्त्री भएका केसीको अडानका कारण कांग्रेसमा दलको नेता चयनमा बिलम्ब भएको नेताहरू बताउँछन्।
कांग्रेसले दलको नेता चयनमा किन ढिलो गरेको भन्ने प्रश्नमा महामन्त्री प्रदीप पौडेलले भने, ‘दलको नेतामा सर्वसम्मति हुँदा अर्जुन दाई गर्ने नभए अरु गर्ने भन्ने सभापतिको कुरा छ। त्यसमा अलिकति समय लाग्यो।’
देउवा–कोइराला पक्षबाट पनि सर्वसम्मति हुँदा केसीलाई नै दलको नेता बनाउने उनको भनाइ छ।
‘सबैले माने सभापतिले नमान्न पनि त मिलेन नि त,’ पौडेलले भने।
कांग्रेस उपसभापति पुष्पा भुसाल, महामन्त्रीद्वय प्रदीप पौडेल, गुरुराज घिमिरे र प्रवक्ता देवराज चालिसेले चैत २४ मा भेटेरै सर्वसम्मति नजुटेको अवस्थामा दलको नेताको दाबी छाडिदिन केसीलाई आग्रह गरेका थिए।
‘तपाईंका नाममा अर्को पक्षले समेत स्वीकारेर सर्वसम्मति हुने अवस्था आयो भने त्यसमा आपत्ति छैन। तर, हुन सकेन भने तपाईंले दाबी छाडेर सहयोग गरिदिनुहोस् भनेका हौँ,’ पौडेलले भने।
सांसद केसी भने सभापति गगन थापाको ‘ससुरा’ नाता जोडेर आफ्नो राजनीतिक त्याग र संघर्षलाई अवमूल्यन गर्ने काम भएको बताउँछन्।
‘पारिवारिक नाता जोडेर गगन थापाको ससुरा भन्ने भाष्य खडा गरेर मेरो राजनीतिक पहिचानलाई सखाप पार्ने काममा तपाईंहरू लाग्नुभएको हो भने म त्यसलाई स्वीकार्दिनँ भनेर प्रस्ट भनेको छु,’ केसीले भने, ‘सहमतिका लागि हो भने मैले दाबी मात्रै गरेको हो। सहमति जुटाएर अघि बढ्न सकिन्छ।’
सभापति थापाको कारण नभएर आफ्नै राजनीतिक योगदान र क्षमताले अवसर पाएको उनको दाबी छ।
‘मेरो आफ्नै राजनीतिक योगदान र संघर्ष छ। मैले पनि गगनको ससुरा भएर अवसर पाएको होइन,’ केसीले भने, ‘मेरो लामो इतिहासलाई गगनको ससुरासँग जोडेर ममाथि अन्याय गर्न खोजिएको छ। यो म स्वीकार्न सक्दिनँ।’
पार्टीको सबै पक्षको साथ समर्थन जुटाउन केसीलाई समय दिँदा नयाँ संसदको पहिलो अधिवेशनमा दलको नेता चयन गर्न कांग्रेस असफल भएको नेताहरू बताउँछन्। चैत १९ गतेबाट सुरु भएको संसदको पहिलो अधिवेशन अन्त्य भएको छ। चैत २४ गतेको मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले चैत २७ गते दुवै सदनको अधिवेशन अन्त्य गरिसकेका छन्।
सभामुख चयन नभएसम्म प्रतिनिधिसभाका ज्येष्ठ सदस्यका रुपमा सभाको अध्यक्षता गरिराखेका केसीकै लागि कांग्रेसले दलको नेता चयनको प्रक्रिया अगाडि बढाएन। केसीले संसदको पहिलो बैठकको अध्यक्षता गर्दा सांसद भीष्मराज आङ्दम्बेले दलको तर्फबाट सम्बोधन गरेका थिए।
चैत २२ गते सभामुखमा डोलप्रसाद अर्याल निर्वाचित भएपछि केसी सभाध्यक्षको जिम्मेवारीबाट अलग भएर दलको नेताको कसरतमा लागे।
केसीका नाममा सहमति नहुने छाँट देखिएपछि निर्वाचन प्रक्रयामा अगाडि बढाउने कांग्रेसको तयारी छ। सहमहामन्त्री प्रकाश रसाइलीको नेतृत्वमा मुना भुसाल र राजु कटुवाल सदस्य रहेको निर्वाचन समिति गठन भइसकेको छ।
निर्वाचन समितिका संयोजक रसाइलीले वैशाख ४ गते कांग्रेसले दलको नेता पाउने बताए।
‘वैशाख २ गते निर्वाचनको कार्यतालिका ल्याउछौँ। वैशाख ४ मा कांग्रेसले संसदीय दलको नेता चयन गर्छ,’ उनले नेपालखबरलाई भने, ‘सकेसम्म हामी सहमतिको प्रयास गर्छौँ। सभापतिसहित शीर्ष नेताले सहमतिको प्रयास गर्नुहुन्छ। सहमति नभए चुनावी प्रक्रिया अगाडि बढ्छ।’
यता उपसभापति विश्वप्रकाश शर्मा भने तत्कालीन सभापति देउवाको पक्षमा रहेका भीष्म आङदम्बेलाई नै दलको नेतामा सर्वसम्मति बनाउन खोजिरहेका छन्। प्रतिनिधिसभाको पहिलो बैठकमा कांग्रेसका तर्फबाट सम्बोधन गरेका आङ्देम्बे पनि विशेष महाधिवेशनको स्वामित्व लिँदै सभापति गगन थापाको पक्षमा खुलेका छन्। ‘निरन्तरतामा नवीनता’ भन्ने दृष्टिकोण राखेको भन्दै कांग्रेसको विशेष महाधिवेशनले परिवर्तनको स्वर र भावनालाई आत्मसात गरेको उनको भनाइ छ।
कांग्रेसको १४ औँ महाधिवेशनमा निवर्तमान सभापति शेरबहादुर देउवा पक्षबाट आङ्देम्बे सहमहामन्त्रीमा निर्वाचित भएका थिए। पुस २७–३० मा सम्पन्न विशेष महाधिवेशनको पनि उनी विपक्षमा थिए। फागुन २१ को प्रतिनिधिसभा निर्वाचनपछि उनी मझधारमा थिए।
देउवा–शेखर कोइराला समूहले सोमबार नवनिर्वाचित सांसदलाई बधाईका लागि धुम्बाराहीको स्मार्ट होटलमा राखेको कार्यक्रममा आङ्देम्बे अनुपस्थित थिए। सोही होटलमा १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यको बैठकमा पनि आङ्देम्बे देखिएका थिएनन्। देउवा र थापा पक्षसँग समदुरीको सम्बन्धमा बसेका आङ्देम्बे संसदमार्फत थापाको पक्षमा प्रष्ट उभिएका छन्।
कांग्रेस उपसभापति शर्माले केसीलाई दलको नेताको दाबी छोडिदिन सार्वजनिक रुपमा आग्रह गरेका छन्।
‘उहाँ (केसी) सबैभन्दा ज्येष्ठ पनि हुनुहुन्छ र सबैभन्दा अनुभवी युवा ऊर्जा बोकेको योग्य व्यक्तित्व हुनुहुन्छ। त्यसैले हामीले उहाँलाई केवल कांग्रेसको मात्रै संसदीय दलको नेताका रूपमा होइन, सबै दलको एक साझा अभिभावकका रूपमा हेर्न चाहेका छौं’, शर्माले भने, ‘उहाँले कांग्रेस संसदीय दलको नेता स्वयं बन्न चाहँदा हामीले हुन्न भन्न अप्ठ्यारो हुन्छ नै, त्यसैले हाम्रो अपेक्षा नेताको पदबाट राजनेता बन्ने मार्ग उहाँले अपनाउनु समयानुकूल हुन्छ।’
उपसभापति शर्माले सांसदहरूले सकेसम्म सर्वसम्मत संसदीय दलको नेता चयन गर्न सहजीकरण गर्ने विश्वास पनि व्यक्त गरे। त्यसो नभए निर्वाचनमार्फत् दल नेता चुनिने उनको भनाइ छ।
‘नयाँ वर्ष सँगसँगै संसदीय दलको नेतृत्व चयन हुनेछ। साथीहरूबीच सर्वसम्मति नभए निर्वाचन हुनेछ’, शर्माले भने।
Shares

प्रतिक्रिया