नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादव र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले आफ्नो पद तथा गोपनीयताको शपथ लिएका छन्।
राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मन्त्रीद्वयले पद तथा गोपनीयताको शपथ लिएका हुन्।
समारोहमा उपराष्ट्रपति रामहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह, सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रीगण, सांसद, संवैधानिक निकायका प्रमुख, उच्च सरकारी अधिकारी तथा अन्य लब्धप्रतिष्ठित व्यक्तिहरूको उपस्थिति थियो।
प्रधानमन्त्री बालेन्द्र शाहले शुक्रबार दुवै जनालाई मन्त्री नियुक्त गरेका हुन्। नवनियुक्त दुवै मन्त्री राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हुन्।
बिहीबार प्रधानमन्त्री शाहले दिपककुमार साहलाई श्रममन्त्रीबाट पदमुक्त गरेका थिए। त्यस ठाउँमा रामजी यादवलाई ल्याएका हुन्।
त्यस्तै, यसअघि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय खाली रहेको थियो। प्रधानमन्त्री शाहले नै हेरिरहेका थिए। त्यसमा गौरीकुमारी यादवलाई ल्याएका हुन्।
नवनियुक्त दुवै मन्त्री प्रत्यक्षबाट निर्वाचित सांसद हुन्। गत फागुन २१ मा भएको प्रतिनिधि सभाको निर्वाचनमा गौरी महोत्तरी-४ र रामजी सप्तरी-२ बाट सांसद निर्वाचित भएका हुन्।
यससँगै शाह नेतृत्वको मन्त्रिपरिषद् १६ सदस्यीय बनेको छ। अझै एक जना मन्त्री नियुक्त गर्न बाँकी छ।
शाह नेतृत्वको मन्त्रिपरिषद्को पारित गरेको गरेको सय बुँदे कार्यसूचीमा मन्त्रालयको संख्या घटाएर १७ मा झार्ने उल्लेख छ।
Shares

प्रतिक्रिया