सरकारले सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका लागि पक्राउ पुर्जी जारी गरेपछि पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र उनकी पत्नी पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवाले कानुनी परामर्श थालेका छन्। देउवा दम्पती स्वास्थ्य उपचारका लागि विदेशमा छन्।
विदेशमा रहेकी आरजु ह्वाट्सएपमार्फत कानुन व्यवसायीसँग पक्राउ पुर्जीबारे परामर्श लिइरहेकी छन्। कांग्रेसका राष्ट्रिय सभा सदस्य तथा वरिष्ठ अधिवक्ता खम्मबहादुर खाती, वरिष्ठ अधिवक्ता शेरबहादुर केसीलगायतसँग आरजुले ह्वाट्सएपमार्फत कानुनी परामर्श लिएकी हुन्।
आफूहरूविरुद्ध सम्पत्ति शुद्धीकरणका विषयमा छानबिन सुरु भएपछि आरजु कांग्रेसका नेताहरू र आफूनिकट कानुन व्यवसायीसँग नियमत संवादमा छिन्। उनीसँग कुराकानी गरेका कांग्रेसका एक नेताले नेपालखबरसँग भने, ‘ह्वाट्सएपमा कुराकानी भइरहेको छ। नेपालमा के छ? के भइरहेको छ भनेर सोधिराख्नु हुन्छ। केही भिडिओ र टेक्स्ट म्यासेज गरिराख्नु भएको छ।’
पक्राउ पुर्जीपछि नेपाल आउने–नआउनेबारे भने केही नखुलाएको ती नेताले बताए। देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी भएपछि ह्वाट्सएपमा आरजुसँग कुराकानी भएको वरिष्ठ अधिवक्ता खातीले बताए। पक्राउ पुर्जी जारी भएसँगै देउवा दम्पतीलाई फरार सूचीमा राखिएको छ।
नेपाल नआए अब ‘रेड नोटिस’को प्रक्रिया अघि बढाउने सरकारको तयारी छ। कांग्रेस महामन्त्री प्रदीप पौडेलले देउवा दम्पतीले नेपाल आएर अनुसन्धानमा सहयोग गर्न उपयुक्त हुने बताए। ‘रेड नोटिस’ जारी हुनुअघि नै उनीहरू स्वदेश फर्केर अनुसन्धानलाई सघाउँदा राम्रो सन्देश जाने पौडेलको भनाइ छ।
गत फागुनमा विदेश उडेका देउवा दम्पती नेपाल फर्किने टुंगो छैन। गत फागुन १३ मा देउवा सिंगापुर उडेका थिए भने फागुन १० मा आरजु भारत गएकी थिइन्। उनी भारतबाट स्वदेश नफर्र्की सिंगापुर गएकी थिइन् ।
देउवा दम्पती सिंगापुरबाट हङकङ गएको उनको सचिवालले जनाएको थियो। स्वास्थ्य उपचारका लागि विदेशमा रहेको र अझै उपचार जारी रहेको देउवाले जनाएका छन्। पक्राउ पुर्जी जारी भएको समाचार आएपछि बुधबार देउवाले सामाजिक सञ्जालमार्फत आफ्नो भनाइ राख्दै आफ्नो र परिवारको सम्पत्तिसम्बन्धी विषयमा भ्रामक प्रचार भएको बताएका छन्।
‘नेपालको कानुनअनुसार हामीले सार्वजनिक पदमा रहँदा सम्पत्तिको यथार्थ विवरण सम्बन्धित सरकारी निकायमा पेश गरेको अवगत गराउन चाहन्छु,’ देउवाले भनेका छन्, ‘देशमा लोकतान्त्रिक शासन व्यवस्थाको स्थापना, विधिको शासन, स्वतन्त्र न्यायपालिका, पारदर्शितासँगै राज्यका अंगहरू स्वतन्त्र र सक्षम हुनुपर्दछ भन्ने मान्यताका लागि मैले सिंगो जीवन संघर्षमै व्यथित गरेको हुँ, मेरो जीवन एउटा खुला पुस्तकका रूपमा रहेको छ ।’
भ्रष्टाचारमुक्त समाज निर्माण गर्दै सुशासन र पारदर्शिता कायम गर्न आफू गृहमन्त्री हुँदा आफ्नै अग्रसरतामा २०४८ सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन र २०५९ सालमा आफ्नो नेतृत्वको सरकारले भ्रष्टाचार निवारण ऐन ल्याएको उनले स्मरण गराएका छन्। ‘वास्तविकता समयक्रमसँगै खुल्दै जाने नै छ, अतिरञ्जना गरी सार्वजनिक भएका विवरणहरूबाट भ्रममा नपर्न सबैमा अपिल गर्दछु,’ देउवाले भनेका छन्।
उनले उपचार जारी रहेको जनाएका छन्। नेपाल आउने समय भने उल्लेख गरेका छैनन्। ‘स्वास्थ्य उपचारका निम्ति हाल हामी विदेशमा छौँ र अझै उपचारको क्रम जारी रहेको जानकारी गराउन चाहन्छु,’ देउवाले लेखेका छन्।
देउवा दम्पती बाहिर (पक्राउ नपरी) बसेर सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा कानुनी लडाइँ लड्ने बाटो खोजिका लागि परामर्श गरिरहेको कानुन व्यवसायी बताउँछन्।
Shares

प्रतिक्रिया