श्रममन्त्रीबाट बर्खास्त भएका दीपक साहकी पत्नी जुनु श्रेष्ठले आफूहरूमाथि अन्याय भएको बताएकी छन्।
उनले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको ‘सुशासन’ प्रति पनि प्रश्न उठाएकी छन्।
श्रममन्त्री साहले पदको दुरुपयोग गरी पत्नी जुनुलाई स्वास्थ्य मन्त्रालय अन्तरगतको स्वास्थ्य बीमा बोर्डमा थमौति गराएको भन्दै प्रधानमन्त्री बालेन्द्र शाहले उनलाई बर्खास्त गरेका हुन्।
जुनुले स्वास्थ्य बीमा बोर्डमा आफ्नो निरन्तरतालाई लिएर श्रीमानलाई जोड्नु आवश्यक नभएको टिप्पणी गरेकी छन्।
उनले श्रीमान र आफूसँग एकपटक पनि स्पष्टीकरण नसोधि कारबाही गरिएको गुनासो गर्दै ‘बिनास्पष्टीकरण पदमुक्त गर्नु नै सुशासन हो भने सुशासनको परिभाषा फेरि पढ्नुपर्छ’ भनेकी छन्।
सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडिओमा उनले आफ्नो योग्यता र उपलब्धीको फेहरिस्त प्रस्तुत गरेकी छन्।
यस्तो छ उनको भनाई
हालै आइरहेको स्वास्थ्य बीमा बोर्डमा मेरो पुनर्नियुक्तिको कुराको बारेमा प्रष्ट रूपमा आफ्नो कुरा राख्न चाहन्छु। यहाँ र मेरो पृष्ठभूमि थाहा नभएर पनि नानाथरि कुराहरू उठिरहेको हुन सक्छ भन्ने लागेर म त्यसबारे पनि केही भन्न चाहन्छु।
म टिचिङ हस्पिटल, त्रिभुवन विश्वविद्यालयबाट अप्टोमेट्रीमा स्नातक पढेको हुँ। त्यस विषयमा स्नातक तहमा म त्यहाँको स्वर्ण पदक विजेता थिएँ। त्यसपछि मैले अस्पतालमा काम गरेँ, क्लिनिकमा पनि काम गरेँ। त्यस लगत्तै मैले फेरि जनस्वास्थ्यमा स्नातकोत्तर गरेँ, जसमा पनि म स्वर्ण पदक विजेता नै हुँ।
सोपश्चात मैले मातृ तथा बाल स्वास्थ्य र प्रजनन स्वास्थ्य सम्बन्धित विभिन्न संस्थाहरूमा काम गरेँ। कोभिड सम्बन्धित कामहरू पनि गरेँ।
२०२० मा म युके सरकारको छात्रवृत्तिबाट लन्डन स्कूल अफ इकोनोमिक्स एन्ड पोलिटिकल साइन्स र लन्डन स्कूल अफ हाइजिन एन्ड ट्रपिकल मेडिसिनमा अध्ययन गर्न गएँ।
मैले त्यहाँ स्वास्थ्य नीति, योजना र वित्तमा एमएससी अध्ययन गरेँ। त्यस क्रममा मैले विभिन्न देशका स्वास्थ्य प्रणालीहरूको अध्ययन गरेँ।
मैले परामर्शदाताका रूपमा थाइल्याण्डको स्वास्थ्य प्रणाली मूल्याङ्कन गरेको छु। त्यसैगरी अक्सफोर्ड विश्वविद्यालयसँग मिलेर कोभिड अनुसन्धान पनि गरेको छु। मेरो दुवै स्नातकोत्तर अध्ययनका थेसिसहरूमा स्वास्थ्य बीमा सम्बन्धी अनुसन्धान गरेको छु। नेपाल फर्किएपछि पनि म यस विषयमा पठनपाठन गराइरहेको छु।
स्वास्थ्य बीमा बोर्डमा मेरो नियुक्ति २०८० मङ्सिरमा भएको हो। त्यहाँ मैले आफूले पढेको र अध्ययन गरेको कुरा कार्यान्वयन गर्न सक्छु भन्ने सोचेको थिएँ। त्यहाँ काम गर्दा धेरै राजनीतिक कुराहरू पनि आए। म युवा थिएँ र त्यतिबेला गर्भवती पनि थिएँ। पछि म फेरि लन्डन गएँ। त्यहाँ बस्दा बोर्डको बैठकमा उपस्थित हुन सकिनँ। तर मैले पूर्ण रूपमा जानकारी गराएर नै अनुपस्थित भएको थिएँ।
पहिला तीनवटा बैठकमा मैले अनलाइन सहभागी भएर आफ्नो राय दिएको थिएँ। चौथो बैठकमा प्राविधिक समस्याका कारणले म्युट भएर बोल्न पाइनँ। पछि हरेक बैठकमा मैले आफ्नो अनुपस्थितिको कारण जानकारी गराएँ। तर पछि इमेल संवाद पनि रोकियो।
नेपाल फर्किएपछि (म फर्केको करिब १०० दिन पनि पुगेको छैन), मैले पुनः निरन्तरता दिन इच्छा व्यक्त गरेँ। वेबसाइटमा पनि मेरो नाम बोर्ड सदस्यका रूपमा कायम थियो। त्यसैले मैले अझै योगदान गर्न सक्छु भन्ने सोचेर आफ्नो रुचि देखाएको थिएँ।
म अहिले विश्व स्वास्थ्य संगठनको नागरिक समाज आयोगको स्टीयरिङ कमिटी सदस्य पनि हुँ। मैले विश्व स्वास्थ्य सभा र कार्यकारी बोर्ड बैठकमा आफ्नो कार्यालयको प्रतिनिधित्व गर्दै आएको छु। त्यहाँ म आँखा स्वास्थ्यको वकालत गर्दै आएको छु। मैले घरेलु स्वास्थ्य वित्तसम्बन्धी प्रस्तावमा पनि मन्त्रालयलाई सुझाव दिएको थिएँ।
मेरो काम, जागिर (जव)ले मलाई आवश्यक सबै दिएको छ। तर मेरो रुचि वित्त र अर्थशास्त्रमा भएकाले म यस क्षेत्रमा योगदान दिन चाहन्छु।
मलाई बोर्ड बैठकमा बोलाइयो र म गएँ। तर अहिले भइरहेको घटनामा मेरो पतिलाई जोडिनु उचित होइन। हामीले समाजमा महिलाहरू सधैँ कसैको सहारामा मात्र अगाडि बढ्छन् भन्ने सोच हटाउनुपर्छ। अहिले पनि यस्तो सोच हाम्रो समाजमा छ।
अन्त्यमा, बिनाकुनै स्पष्टीकरण पदमुक्त गरिनु र मलाई सोधनी पनि नहुनु दुःखद छ। यदि यसलाई नै सुशासन भनिन्छ भने, सुशासन के हो भन्ने पुनः सोच्नुपर्ने अवस्था आएको छ।
Shares

प्रतिक्रिया