राजनीति


निर्वाचनबाट लोकतन्त्रको विजय भयो, संविधान बाँच्यो: सुनील थापा

निर्वाचनबाट लोकतन्त्रको विजय भयो, संविधान बाँच्यो: सुनील थापा

नेपालखबर
चैत २५, २०८२ बुधबार १७:४२, काठमाडौँ

नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य सुनील थापाले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनबाट लोकतन्त्रको विजय भएको र संविधान बाँचेको बताएका छन्। बुधबार बसेको राष्ट्रियसभा बैठकमा उनले वर्तमान राष्ट्रिय राजनीति भदौ २३–२४ को जेनजी विद्रोहको जगमा खडा भएको बताए।

‘यसको व्यवस्था र विश्लेषण विविध सोच र कोणबाट भइरहेको छ,’ उनले भने, ‘प्रश्न र तर्कहरु आ–आफ्ना ठाउँमा भएपनि जेनजी विद्रोहको कारण भएको प्रतिनिधिसभाको निर्वाचनबाट लोकतन्त्रको विजय भएको छ, संविधान बाँचेको छ।’

लोकतन्त्र र संविधानलाई साधन बनाएर निहित स्वार्थ, अभिष्ट र उद्देश्य प्राप्तिको लागि हुँदै आएको राजनीति किनारा लागेको उनको भनाइ छ। नेपाल लागयत दक्षिण एशियाली राजनीतिमा यो ठूलो ऐतिहासिक प्रस्थान भएको थापाले बताए।

अन्तर्राष्ट्रिय द्वन्द्वले नेपालमा परेको प्रभावलाई नजिकबाट निगरानी गरी इन्धन आपूर्ति निरन्तरता सुनिश्चित गर्न सरकारलाई आग्रह गरे।

‘इन्धनको मूल्यवृद्धिले समग्र अर्थतन्त्रमा गम्भीर प्रभाव पार्नेछ। यस सन्दर्भमा अर्थमन्त्रीज्यूले इन्धन आयातमा कर तथा अन्य अप्रत्यक्ष शुल्क घटाउने निर्णय लिनुभएकोमा म स्वागत गर्दछु,’ उनले भने, ‘तर, म सरकारलाई दीर्घकालीन रूपमा यस्ता अप्रत्यक्ष करहरू स्थायी रूपमा घटाउने वा पुनरावलोकन गर्ने आग्रह गर्दछु। इन्धनको मूल्य सुलभ राख्नु हाम्रो अर्थतन्त्रलाई गतिशील बनाउन अत्यन्त आवश्यक छ।’

सबैले दल र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्रहितलाई केन्द्रमा राख्नुपर्ने भन्दै संविधानको सर्वोच्चतामा विश्वास गर्नुपर्ने थापाले बताए। लोकतन्त्रको सफलता कानुन निर्माणमा नभइ कार्यान्वयनमा निर्भर हुने उनको भनाइ छ।

राजनीति र समाजमा देखिएको तिक्त विभाजनलाई यथाशीघ्र अन्त्य गर्नुपर्नेमा उनको जोड छ।

‘आज देशलाई सबैभन्दा बढी आवश्यक छ—सम्झौता र मेलमिलाप। वर्तमान अवस्थामा नेपालले कुनै पनि प्रकारको राजनीतिक अस्थिरता वहन गर्न सक्दैन। आज राजनीतिक क्षेत्रमा देखिएको विभाजन अब जनस्तरसम्म फैलिन थालेको देख्दा म गहिरो चिन्तित छ,’ उनले भने म सरकारलाई नेल्सन मण्डेलाले देखाउनुभएको मार्गबाट सिक्न आग्रह गर्दछु। उहाँले दक्षिण अफ्रिकामा सम्भावित जातीय हिंसालाई रोक्न सफल हुनुभयो र देशलाई एकताबद्ध बनाउनुभयो।’

वर्तमान सरकारसँग नयाँ राजनीतिक संस्कृति—सहिष्णुता, सम्मान र सहकार्यमा आधारित संसदीय अभ्यास विकास गर्ने सुनौलो अवसर रहेको थापाले बताए। 

संसदभित्र महत्वपूर्ण राष्ट्रिय र रणनीतिक मुद्दाहरूमा द्विपक्षीय सहकार्यको संस्कार विकास गर्न आवश्यक छ रहेको उनको भनाइ छ।

विश्वभरी प्रभावमा परेको जलवायु परिवर्तनले नेपाल पनि अछुत रहन सकेको भन्दै प्रधानमन्त्री कार्यलयमा विशेष र अधिकार प्राप्त संयन्त्र स्थापना गरी जलवायु सम्बन्धी सम्पूर्ण काम गनुपर्ने बताए। बैठकमा थापाले धनकुटामा किसानहरूले भोगिरहेको बाँदर आतंक, सिँचाइको कमी र खानेपानीको बढ्दो हाहाकारको समाधानका लागि सरकारको ध्यानाकर्षण गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad