सांसद गणेश कार्कीले लालपूर्जा पर्खेर बसेका नागरिकको पीडा सुनाउँदै कानुन सुधार गर्न आग्रह गरेका छन्।
मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद कार्कीले आफ्नो क्षेत्रका नागरिकले जग्गाधनी पूर्जा नपाएको पीडा सुनाएका हुन्। उनी गत २१ गते सम्पन्न निर्वाचनमा मोरङ-३ बाट निर्वाचित भएका थिए।
‘देशमा धेरै समस्या छन्। करिब करिब ति सबै समस्या मोरङ-३ मा छन्। मात्रा र अनुहार फरक होलान्,’ कार्कीले भने, ‘तर ति सबैभन्दा माथि, सबैभन्दा पुरानो र सबैभन्दा गेजु भएको समस्या छ, भुमिको समस्या।’
उनले पाँच पुस्तासम्म पनि जग्गाधनी पूर्जा नपाएका नागरिक गुनासो सुनाउन आउन थालेको बताए। ‘एक जना आमा हुनुहुन्छ, ३५ सालमा १७ वर्षको हुँदा हजुरबुबा र बुबाआमासँगै मोरङ-३ झर्नु भएको। धनिपूर्जा आउला भन्दाभन्दै उहाँको हजुरबुबा, बुबाआमा बिति सक्नु भयो। अहिले उहाँकी पनातिनी छिन्। धनीपुर्जा पर्खिने ५ पुस्ता भयो तर हात लागेको छैन,’ कार्कीले थपे, ‘आमाले भन्नुहुन्छ- धनीपुर्जा दिनु, पुजाकोठामा भगवानसँगै तपाईको फोटो राखेर पूजा गर्छु।’
यो समस्या समाधानका लािग भूमिको समस्यालाई प्राथमिकतामा राख्न उनले आग्रह गरे। ‘सदनलाई आग्रह गर्छु कि भूमिको समस्यालाई १ नम्बरमा राखौँ र सबै एकै ठाउँ उभिएर कानुन सुधार गरौँ,’ कार्कीले भने, ‘मलाई आफ्नो फोटो राख्नु छैन, तर सम्मानित यो सदन उहाँहरूको भगवान बनोस्। गेजु नहोस्।’
Shares

प्रतिक्रिया