प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘संविधान संशोधन बहसपत्र’ तयार पार्न गठन गरेको कार्यदल सक्रिय बनेको छ।
प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले गत चैत १३ गते सार्वजनिक गरेको ‘शासकीय सुधारसम्बन्धी एक सय बुँदे कार्यसूची’ को बुँदा नम्बर ४ मा यो कार्यदल गठन गर्ने व्यवस्था गरिएको थियो।
उक्त कार्यसूचीमा देशको दीर्घकालीन राजनीतिक तथा संस्थागत सुधार र निर्वाचन प्रणाली लगायतका विषयमा राष्ट्रिय सहमति निर्माण गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ७ दिनभित्र उक्त कार्यादल गठन गर्ने उल्लेख छ। साथै, उक्त बहस प्रक्रियालाई सहभागितामूलक, पारदर्शी र तथ्यमा आधारित बनाउने लक्ष्य राखिएको छ।
सोही योजना अनुसार गत चैत १६ गतेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा उक्त कार्यदल गठन गर्ने निर्णय गरेको थियो।
कार्यदलमा संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूले तोकेका एक–एक जना प्रतिनिधि, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको कानुन तथा मानव अधिकार हेर्ने सचिव, नेपाल कानुन आयोगका सचिव र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कानुन तथा फैसला कार्यान्वयन हेर्ने सह–सचिव सदस्य–सचिव रहने व्यवस्था छ।
प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञका अनुसार कार्यदलका सदस्यका लागि राजनीतिक दलहरूलाई नाम पठाउन पत्राचार भइसकेको छ र दलहरूबाट नाम प्राप्त हुने क्रम जारी छ।
सदस्यहरूको टुङ्गो लाग्नासाथ यसै साताभित्र कार्यदलको बैठक बस्ने तयारी भइरहेको छ। उक्त बैठकमा सदस्यहरूका राय र सुझाव सङ्कलन गर्ने योजना छ।त्यसपछि कार्यदलले पूर्वराष्ट्रपति, संविधानविद्, कानुनी व्यवसायी, पूर्वप्रधानन्यायाधीश, सञ्चार माध्यम, धार्मिक संस्था, निजी क्षेत्र, ‘जेन–जी’ पुस्ताका अगुवा र स्थानीय तहका प्रतिनिधिहरूसँग चरणबद्ध रूपमा बृहत् छलफल गरेर मात्र संविधान संशोधन बहसपत्रलाई पूर्णता दिनेछ।
कार्यदलका संयोजक शाहसँग २० वर्षभन्दा लामो समय सञ्चारकर्मीको रूपमा काम गरेको र संसदीय मामिलाको रिपोर्टिङ गरेको अनुभव छ। चलचित्र निर्देशनमा सफल उनी राजनीतिमा समेत प्रभावशाली मानिन्छन्।
२०७९ को निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित पूर्वसांसद शाहले संसदमा रहँदा विभिन्न विधेयकको मस्यौदा तयार पार्न महत्वपूर्ण भूमिका खेलेका थिए। उनी हाल काठमाडौँ विश्वविद्यालयबाट आमसञ्चार विषयमा विद्यावारिधि (पीएचडी) गर्दैछन्।
रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री शाहबीच राजनीतिक सहकार्यको वातावरण निर्माणमा निर्णायक भूमिका निर्वाह गरेका शाहको सञ्चार रणनीति, राजनीति र समन्वयको अनुभवले यो बृहत् बहसपत्र तयार पार्न सहयोग पुग्ने विश्वास प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले लिएको छ।
Shares

प्रतिक्रिया