राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्याल पार्टीबाट अलग भएका छन्।
आइतबार सभामुख चयन भएसँगै डीपी रास्वपाबाट अलग भएका हुन्।
रास्वपाका सभापति रवि लामिछानेले एक विज्ञप्ति प्रकाशित गरी सभामुख पदलाई साझा व्यक्तित्वका रूपमा स्थापित गर्ने संसदीय परम्परा अनुरूप उम्मेदवारी दिएदेखि नै पार्टीका जिम्मेवारीबाट अलग रहँदै उच्च राजनीतिक नैतिकता र संस्थागत प्रतिबद्धता प्रदर्शन गरेका बताएका छन्।
‘सभामुखको हैसियतमा उनले निष्पक्षता, पारदर्शिता, विधिको शासन तथा संस्थागत मर्यादालाई केन्द्रमा राख्दै सफल र उदाहरणीय कार्यकाल प्रदान गर्नु हुनेछ भन्ने विश्वास व्यक्त गर्दछु’ लामिछानेले भनेका छन्।
सभापति लामिछानेले नवनिर्वाचित सभामुख अर्यालले संसद्को गरिमा, मर्यादा र प्रभावकारिता कायम राख्दै निष्पक्ष, सन्तुलित र उत्तरदायी ढंगले भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका बताएका छन्।
‘सदनको कामकारबाहीलाई थप चुस्त, प्रभावकारी र परिणाममुखी बनाउँदै संसदीय अभ्यासलाई सुदृढ गर्ने दिशामा उहाँले आफ्नो तर्फबाट कुनै कसर बाँकी नराख्नु हुनेमा म विश्वस्त छु’ उनले भनेका छन्, ‘साथै, सबै राजनीतिक दल तथा माननीय सांसदहरूसँग सहकार्य र समन्वय गर्दै संसद्लाई प्रभावकारी, उत्तरदायी र जनमुखी संस्थाका रूपमा स्थापित गर्ने उहाँको दृष्टिकोण सराहनीय छ।’
Shares

प्रतिक्रिया