नेकपाका सांसद वर्षमान पुनले अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बजेटको विषयमा जबाफ दिने क्रममा धाकधम्कीको भाषा प्रयोग गरेको भन्दै विरोध गरेका छन्।
शुक्रबार संसद् बैठक सुरु हुनासाथ आफ्नो भनाई राख्दै पूर्वअर्थमन्त्रीसमेत रहेका पुनले अर्थमन्त्रीलाई आफ्नो दलले बजेटको विषयमा शंकाको लाभ दिए पनि वाग्लेले आर्थिक अपराध गरेको आरोप लगाए।
उनले वाग्लेमाथि संसदीय छानबिन गर्नुपर्ने पनि माग गरे।
‘हिजो संसद्मा जसरी अर्थमन्त्रीले जबाफ दिनुभयो, त्यसले संसद्, समितिको अवमूल्यन भएको छ। धाकधम्की दिने कोसिस उहाँले गर्नु भएको छ, यो खेदजनक छ,’ उनले भने, ‘अर्थमन्त्रीबाट समिति र संसद्को अवमूल्यन भएको छ। धम्काउने कोसिस भएको छ। यसमा हाम्रो गम्भीर आपत्ति छ। उहाँले सातवटा करका दर हेरफेर गरेको खुल्लामखुल्ला स्वीकार्नुभो। यो आर्थिक अपराध हो। उल्टै धम्की दिँदै मैले गरेकै हुँ भन्नुभएको छ। यसले संसद्को मानहानी भएको छ। सभामुखबाट रुलिङ हुनुपर्छ। उहाँमाथि संसदीय छानबिन गरिनुपर्छ।’
उनले बजेटको विषयमा सांसदले उठाएका विषय आरोप मात्रै नहुने बताए।
हिजो आर्थिक विधेयकमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्री वाग्लेले सांसदहरूलाई लक्ष्यित गर्दै ‘तपाईंहरूको काण्डबारे पनि अनभिज्ञ छैनन्, ती पनि खुल्नेछन्’ भनेका थिए।
नेकपाका नेता पुनले प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा बोलेको विषयमा परराष्ट्रमन्त्रीको स्पष्टीकरण पर्याप्त नभएको बताए।
‘यस विषयमा प्रधानमन्त्रीले नै संसद्लाई जबाफ दिनुपर्छ, संसद्को अभिलेखबाट उहाँको भनाई हट्नुपर्छ,’ पुनले भने।
Shares

प्रतिक्रिया