विश्व सर्वोच्च फुटबल संस्था फिफा र एसियाली फुटबल महासंघ (एएफसी)ले अखिल नेपाल फुटबल संघ (एन्फा) माथिको प्रतिबन्धबारे प्रतिक्रिया दिएको छ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले चैत ११ गते एन्फालाई ३ महिनाका लागि प्रतिबन्ध लगाएको थियो।
फिफा र एएफसीले नेपालमा भएको फुटबल विवादबारे प्रतिक्रिया दिँदै सरकारी हस्तक्षेप स्वीकार्य नहुने स्पष्ट पारेको हो।
विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले राखेपले ३ महिनाका लागि निलम्बन गरेको एन्फासम्बन्धी पछिल्लो घटनाक्रमबारे पत्राचार गर्दै स्थगित भएको निर्वाचन प्रक्रिया तत्काल अघि बढाउन निर्देशन दिएको छ।
फिफा र एएफसीले पठाएको संयुक्त पत्रमा राखेपको निलम्बनलाई तेस्रो पक्षको हस्तक्षेपका रूपमा लिइएको छ। फिफाले चैत १३ गते स्थगित भएको निर्वाचन प्रक्रिया जहाँबाट रोकिएको थियो, त्यहीँबाट पुनः सुरु गरेर ७ दिनभित्र चुनाव सम्पन्न गर्न निर्देशन छ।
फिफा र एएफसीका प्रतिनिधि चैत १३ को निर्वाचनका लागि नेपाल आएका थिए। उनीहरू फर्किएपछि नेपालको अवस्थाबारे प्रतिवेदन बुझाइएपछि सोही प्रतिवेदनका आधारमा फिफाले प्रतिक्रिया जनाउँदै तत्काल चुनाव प्रक्रिया अघि बढाउन निर्देशन दिएको बताइएको छ।
वर्तमान कार्यसमितिको कार्यकाल असार ५ गतेसम्म बाँकी हुँदाहुँदै एन्फाले निर्वाचनको तयारी गरेको थियो।
फिफा र एएफसीले सरकारको कदमप्रति गम्भीर आपत्ति जनाउँदै कुनै पनि प्रकारको बाह्य हस्तक्षेप स्वीकार्य नहुने स्पष्ट पारेको छ। फिफाको निर्देशनअनुसार पनि चुनाव नगरे त्यसको जानकारी फिफा काउन्सिलमा पठाइने पनि पत्रमा उल्लेख गरेको छ।
अब फिफा र एएफसीको पत्रको आधारमा एन्फाले आफूमाथि लागेको निलम्बन फुकुवा गर्न राखेपलाई पत्र पठाउने भएको छ। फिफा र एएफसीको संयुक्त पत्र राखेपलाई जानकारी गराउँदै एन्फाले निलम्बन फुकुवा गर्न आग्रह गर्न लागेको हो।
चैत १३ का लागि एन्फाले निर्वाचनको तयारी गर्दा राखेपले चैत ११ गते निलम्बन गरेको थियो।
चैत १३ गतेसमेत गरेर तेस्रो पटक एन्फा निर्वाचन स्थगित भएको थियो। आफ्नो विधान र परम्पराविपरीत जिल्ला, प्रदेशको निर्वाचनविना नै एन्फाले पुस १६ गतेको बैठकबाट माघ २८ गते निर्वाचन गर्ने घोषणा गरेको थियो।
उच्च अदालत पाटनको अन्तरिम आदेशपछि माघ २८ का लागि तय निर्वाचन स्थगित भएको थियो। उच्चले माघ २७ गते अर्को आदेश गर्दै निर्वाचनका लागि बाटो खोलिदिएको थियो। त्यसपछि एन्फाले फागुन २७ गतेका लागि नयाँ मिति तोक्यो।
सो समयमा प्रतिनिधि सभा सदस्यका लागि निर्वाचनको समय भएपछि निर्वाचन आयोगले निर्वाचन आचारसंहिता लागू भएकाले निर्वाचन रोक्न भनेको थियो। त्यसपछि चैत १३ गते निर्वाचनको मिति तोकिएको थियो।
यस्तो छ पत्र


Shares

प्रतिक्रिया