नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले हालै सम्पन्न निर्वाचन र त्यसपछि बनेको सरकार नेपालको राजनीतिक आवश्यकता नभई अमेरिकी रणनीतिको उपज भएको टिप्पणी गरेका छन्।
शनिबार राष्ट्रिय जनमोर्चाले आयोजना गरेको ‘निर्वाचनको मूल्याङ्कन तथा नेपालको परराष्ट्र नीतिबीचको अन्तरसम्बन्ध’ विषयक कार्यक्रममा बोल्दै सिंहले अहिलेको निर्वाचनमार्फत नेपालमा अमेरिकी निर्देशनमा चल्ने सरकार स्थापना गरिएको जिकिर गरे। कुनै पनि देशको परराष्ट्र नीति सरकारको स्वरूपले निर्धारण गर्ने उनको भनाइ छ।
तर, नेपालमा अहिले बनेको सरकारले छिमेकी देशहरूसँगको सम्बन्धमा आघात पुर्याउने र अमेरिकी स्वार्थलाई मात्र प्राथमिकता दिने सिंहको विश्लेषण छ। महामन्त्री सिंहले अमेरिकी रणनीतिको मुख्य उद्देश्य नेपालको भूमि प्रयोग गरेर चीनको तिब्बतमाथि आक्रमण गर्नु रहेको आशंका व्यक्त गरे।
‘अमेरिकालाई नेपालमा यस्तो राजनीतिक शक्ति चाहिएको थियो, जसको आफ्नै कुनै राजनीतिक दिमाग छैन र अर्कैको निर्देशनमा नाङ्गो रूपमा चल्छ,’ महामन्त्री सिंहले भने, ‘हामीले युक्रेन, गाजा र इरानको स्थिति देखेका छौँ, नेपाललाई पनि त्यस्तै युद्धभूमि बनाउने योजनावद्ध प्रयास भइरहेको छ।’

उनले वर्तमान सरकारका कतिपय मन्त्रीहरू खुला रूपमा ‘फ्री तिब्बत’ आन्दोलनका समर्थक रहेको उल्लेख गर्दै यसले नेपाललाई युद्धभूमि बनाउने खतरा बढेको बताए। लोकप्रियतावादलाई अन्तर्राष्ट्रिय समस्याका रूपमा चित्रण गर्दै यसले फासीवादलाई जन्म दिने उनको भनाइ छ।
‘जब जनतामा राजनीतिक विचारभन्दा भावना हावी हुन्छ, तब देशले गम्भीर क्षति बेहोर्नुपर्छ। अहिले नेपालका युवा र विद्यार्थीहरू अमेरिकी प्रचार यन्त्रको शिकार भएका छन्,’ सिंहले भने।
सरकारले स्वतन्त्र विद्यार्थी युनियन, ट्रेड युनियन र प्रेसमाथि नियन्त्रण गर्न थालेको भन्दै उनले लोकतान्त्रिक अधिकारहरू खोसिएकोमा चिन्ता व्यक्त गरे। अमेरिकी साम्राज्यवाद र यो गम्भीर संकटका विरुद्ध सारा देशभक्त नेपाली, वामपन्थी र प्रगतिशील शक्तिहरू एकजुट हुनुपर्ने आवश्यकतामा जोड दिए।
जनमोर्चाका कार्यवहाक अध्यक्ष रश्मीराज नेपालीको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा पूर्वपरराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसका नेता एनपी साउद, परराष्ट्रविद् तथा नेकपा (एमाले) का सचिव डा. राजन भट्टराई, पूर्वराजदूत हिरण्यालाल श्रेष्ठ, अजय शर्मा, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता लीलामणि पोखरेल, क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेता सीताराम तामाङलगायतले धारणा राखेका थिए। कार्यक्रमको सञ्चालन जनमोर्चाका महासचिव मनोज भट्टले गरेका थिए।
Shares

प्रतिक्रिया