राजनीति


रास्वपाको चमत्कारिक जितको कारण खोज्नुपर्छ: डा. राजन भट्टराई

रास्वपाको चमत्कारिक जितको कारण खोज्नुपर्छ: डा. राजन भट्टराई

नेपालखबर
चैत २१, २०८२ शनिबार १६:५७, काठमाडौँ

नेकपा (एमाले) का सचिव डा. राजन भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) शक्तिशाली बन्नुको कारण खोजतलास गर्नुपर्ने बताएका छन्। 

शनिबार काठमाडौँमा आयोजित निर्वाचनको मूल्यांकन तथा परराष्ट्र नीति विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै डा. भट्टराईले रास्वपाले निर्वाचनमा चमत्कारिक रुपमा परिणाम ल्याएको उल्लेख गरे। त्यसको कारण खोजीको विषय भएको उनको भनाइ थियो। 

‘आजको शक्तिशाली दल त धेरै फरक हिसाबले आएको छ। उसको आउने तरिका नै चमत्कारिक छ। त्यससँग के के जोडिएका छन, त्यो खोजतलासको विषय बाँकि नै छ,’ डा.भट्टराईले भने।

मुलुकमा भूराजनीतिक संवेदनशीलता बढेर गएकाले दलहरूबीच राष्ट्रिय एकता कायम गरेर अघि बढने कुरामा ढिलाई गर्न नहुनेमा उनले जोड दिए। दलहरूबीचको संवाद तत्काल सुरु गरी राष्ट्रिय एकतालाई  कायम गरेर अघि बढ्ने गरी मुलुकमा विदेशनीतिबारे सार्वजनिक बहस गर्नु पर्ने उनको भनाइ थियो। 

‘नेपालभित्र चलखेल हुने सम्भावना छ। हाम्रो भूराजनीतिक संवेदनशीलता बढेर जान खोजेको छ। यतिबेला गर्ने के?,’ उनले भने, ‘यतिबेला गर्ने पहिलो काम भनेको नै राष्ट्रिय एकता कायम गर्ने हो। राष्ट्रिय एकता कायम गर्नका लागि हामी आन्तरिक रुपमा प्रतिष्पर्धा गरौँ, विवाद गरौँ। सबै चिज गरौँ।’

राजनीतिक दलका फरकफरक मान्यता र विचार भए पनि राष्ट्रियका विषयमा एकजुट हुनुपर्ने उनको भनाइ थियो। ‘यो संवेदनशील विश्व व्यवस्था आईसकेपछि यस्तो बेलामा हामी राष्ट्रिय एकता कायम गर्नका लागि सबैले पहल लिनु आवश्यक छ। त्यो पहल आन्तरिक संवादबाटै अगाडि बढाइनुपर्छ,’ उनले भने, ‘हाम्रा केही मान्यताहरू फरक हुन सक्छन्। हिजोदेखि फरक मान्यता बोकी आएका कारण हामी फरक फरक ठाउँमा उभिने स्थिति बन्नसक्छ।’

सचिव भट्टराईले दलहरूबीच आन्तरिक रुपमा प्रतिष्पर्धा भए पनि मुलुकलाई भूराजनीतिक संवेदनशीलताबाट जोगाउनका लागि राष्ट्रिय एकता कायम गरेर अघि बढ्नुको विकल्प नभएको जिकिर गरे। ‘हामी चीन र भारत जस्ता छिमेकीको बीचमा भने साना नै हौँ। यस्तो समवेदनशील ठाउँमा रहेको नेपालका विदेश नीतिबारेको छलफललाई सार्वजनिक बहसको विषय व्यापक बनाउँदै लैजानु आवश्यक छ,’ उनले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad