राजनीति


महाधिवेशनको तयारीमा जुट्यो कांग्रेस, सबै जिल्लामा खटायो केन्द्रीय प्रतिनिधि

महाधिवेशनको तयारीमा जुट्यो कांग्रेस, सबै जिल्लामा खटायो केन्द्रीय प्रतिनिधि

नेपालखबर
चैत २१, २०८२ शनिबार १७:१९, काठमाडौँ

नेपाली कांग्रेसले १५औँ महाधिवेशनको औपचारिक तयारी सुरु गरेको छ। पूर्वनिर्धारित कार्यतालिकाअनुसार चैत २१ गतेदेखि ७७ वटै जिल्लामा सदस्यता अभियान र सांगठनिक सुदृढीकरणका लागि प्रतिनिधि खटाउँदै कांग्रेसले महाधिवेशनको प्रक्रिया अगाडि बढाएको हो। 

कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा शनिबार आयोजित प्रतिनिधि अभिमुखीकरण कार्यक्रमपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै महामन्त्री प्रदीप पौडेलले महाधिवेशनको तयारीसँगै ‘जरा अभियान’ सञ्चालन गरिएको जानकारी दिए।

महामन्त्री पौडेलका अनुसार, ७७ वटै जिल्लामा खटिएका प्रतिनिधिले वैशाख महिनाभर जिल्लामा बसेर सदस्यता वितरण, अद्यावधिक र सांगठनिक अवस्थाको प्रतिवेदन तयार पार्नेछन्। 

पुराना क्रियाशील सदस्यहरूले वैशाख महिनाभित्र अनिवार्य रूपमा आफ्नो सदस्यता अद्यावधिक गर्नुपर्ने पौडेलले बताए। कांग्रेसले यसपटक सबै सदस्यलाई ‘कांग्रेस आईडी’ प्रदान गर्ने भएको छ। सदस्यता अद्यावधिक गरेपछि मात्र यो परिचयपत्र प्राप्त हुनेछ। 

महामन्त्री पौडेलकाअनुसार कांग्रेस आईडी नभएका व्यक्तिले १५औँ महाधिवेशनमा भाग लिन पाउने छैनन्। नयाँ सदस्यका हकमा भने डिजिटल माध्यमबाट सदस्यता प्रदान गर्ने व्यवस्था मिलाइएको उनले बताए। 

‘वैशाख महिनाभित्र सदस्यता अद्यावधिक भएन भने पुरानो क्रियाशील सदस्यता कायम रहने छैन,’ पौडेलले भने, ‘सदस्य जुन भूगोल वा वडाको हो, त्यहीँ पुगेर अनिवार्य रूपमा नवीकरण वा अद्यावधिक गर्नुपर्ने व्यवस्था गरिएको छ।’ 

कांग्रेसले महाधिवेशनको तयारीलाई ‘जरा अभियान’ नाम दिएको छ। यस अन्तर्गत चार वटा मुख्य विषयहरू समेटिएका छन्। १५औँ महाधिवेशनको तयारी, सांगठनिक सुदृढीकरण, नागरिकसँग निर्वाचनको समीक्षा र पार्टीलाई सामाजिक गतिविधिमा जोड्ने कुरा यसमा समेटिएको उनले बताए। 

कांग्रेसले गत निर्वाचनमा बेहोरेको हारको कारण खोज्न र पार्टीलाई पुनर्जीवित गर्न नागरिक स्तरमा अन्तरक्रिया गर्ने निर्णय गरेको छ। केन्द्रीय सभापतिको नेतृत्वमा राष्ट्रिय स्तरमा बुद्धिजिवी र पेशाकर्मीसँग संवाद गरिनेछ भने जिल्ला तहमा खटिएका प्रतिनिधिले स्थानीय स्तरमा समीक्षा कार्यक्रम सञ्चालन गर्नेछन्। 

कांग्रेसको संगठनलाई चलायमान बनाउन स्थानीय आवश्यकताअनुसार सामाजिक कार्यमा जोड्ने नीति लिइएको छ। जिल्लामा खटिएका प्रतिनिधिलाई भ्रातृ संगठनको अवस्था बुझ्न र सांगठनिक प्रतिवेदन बुझाउन समेत निर्देशन दिइएको छ। 

प्रतिनिधिलाई आवश्यक निर्देशिका, कार्यविधि र फारमहरू उपलब्ध गराएर जिल्ला पठाइसकिएको र अब वैशाखभर सदस्यता अद्यावधिक गर्ने काम व्यापक रूपमा अगाडि बढ्ने महामन्त्री पौडेलले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad