राजनीति


म कांग्रेसको कुनै पनि समूहमा छैन: डा. शेखर कोइराला

म कांग्रेसको कुनै पनि समूहमा छैन: डा. शेखर कोइराला

नेपालखबर
चैत २१, २०८२ शनिबार १४:२९, काठमाडौँ

नेपाली कांग्रेसका नेता डा. शेखर कोईरालाले आफू कुनै पनि समूहमा नरहेको बताएका छन्। 

शनिबार काठमाडौँमा बीपी स्मृति सामुदायिक सहकारी अस्पतालको १८औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै डा. कोइरालाले मतदाताले पार्टी नछोडेको तर मत मात्र फेरेको बताए। अब मत सिफ्ट हुन दिनु नहुने उनको भनाइ थियो। 

‘अहिले सुन्दै जाँदा खेरी तपाईहरूले पनि बुझ्नुभयो होला, तपाईहरूले पनि सुन्नु यो होला, हामीले पार्टी छोड्या छैन मत मात्रै फेरेको भनेर भन्या छ। त्यही भन्या छन् नि मानिसहरू’, कोइरालाले थपे, ‘यसपालिको निर्वाचनले जो हामी पराजित भयौँ, स्विङ भोट भएको छ। भोट सिफ्ट भएको छैन। फरक छ स्विङ भोट र सिफ्ट भोटमा। यसपालिको भोट स्वइङ मात्रै भएको छ। अब सिफ्ट हुन चाहीँ हामीले नदिऔँ।’

संसद्मा कांग्रेसको उपस्थिति कमजोर हुनुमा जनताको चाहना र नयाँ राजनीतिक ‘हावाहुरी’लाई बुझ्न नसक्नु मुख्य कारण रहेको उनले बताए। अबको लडाइँ वामपन्थीसँग भन्दा पनि ‘लिबरल डेमोक्रेट्स’हरूसँग हुने भएकाले संगठन बलियो बनाउनुपर्नेमा कोइरालाले जोड दिए। 

‘अहिले हाम्रो राजनीति संसद्मा उपस्थिति एकदमै कमजोर अवस्थामा हामी छौँ। त्यो हामीले स्वीकार्नुपर्छ। धेरैले भन्छन् कसरी हार्‍यो के गर्‍यो के भो भनेर। हावाहुरी हुण्डरीहरू आयो, हामीले बुझ्नै सकेनौँ भने पनि हुन्छ,’ डा. कोइरालाले भने, ‘यसलाई हामीले जनताको चाहना, नेपाली कांग्रेसका साथीहरूको चाहनालाई पनि हामीले बुझ्न सकेनौँ।’

आफूले सुरुदेखि नै केन्द्रीय कार्यसमितिको निर्णयबाट विशेष अधिवेशनमा जानुपर्ने अडान राखेको स्मरण गरे। विशेष अधिवेशनबाट गगन थापा सभापति भएको सन्दर्भ जोड्दै उनले यस विषयमा शेरबहादुर देउवा र पूर्णबहादुर खड्काले सर्वोच्च अदालतमा दिएको मुद्दाको किनारा लाग्न बाँकी रहेको उल्लेख गरे। 

‘विशेष अधिवेशनको कुरा गर्दा मैले नै हो विशेष अधिवेशनमा जानुपर्छ भनेर भनेको। तर मैले एउटा शब्द त्यहाँ अझ जोडेको छु। केन्द्रीय समितिले निर्णय गरेर विशेष अधिवेशन गरौँ भनेर भन्या थिएँ,’ उनले भने, ‘केन्द्रीय समितिले विशेष अधिवेशन गरेन भने हामी अप्ठ्यारो परिस्थितिमा पुग्छौँ भनेर मैले पटक पटक सबै साथीहरूलाई, वरिष्ठ साथीहरूलाई ती कुराहरु भनेकै हो। त्यो स्वीकार्य भएन। त्यो स्वीकार्य नभएपछि विशेष अधिवेशन भयो।’

अदालतको प्रक्रिया जे-जस्तो भए पनि पार्टीलाई एकताबद्ध बनाउन आफू अन्त्यसम्म लागिरहने उनले प्रतिबद्धता जनाए। ‘गगनजी अहिले सभापति विशेष अधिवेशनबाट हुनुभएको छ, ठिकै छ, त्यसमा केही छैन। तर शेरबहादुरजी र पूर्णजीले मुद्दा सर्वोच्च अदालतमा दिनुभएको छ। मुद्दाको छिनोफानो भोलिदेखि सुरु होला,’ कोइरालाले भने, ‘नेपाली काँग्रेसलाई एक ढिक्का बनाउनलाई, नेपाली कांग्रेसलाई एक ठाउँमा ल्याउनको लागि म अन्त्य सम्म प्रयास गर्नेछु। त्यो तपाईहरू ढुक्क हुनुस्। म कुनै यो ग्रुपमा उ ग्रुपमा छैन।’

पहिले कांग्रेसले वामपन्थीहरूसँग लड्दै आएको र अब लिबर डेमोक्रेट्ससँग लड्नुपर्ने बेला आएको उनको भनाइ थियो। ‘पहिले पहिले हाम्रो लडाई वामपन्थीहरूसित हुन्थ्यो सजिलो थियो। अबको लडाई लिबरल डेमोक्रेट्सहरूसित हाम्रो लडाई छ। त्यो लडाईमा हामी पछि पर्नुहुँदैन भन्ने मलाई लाग्छ,’ उनले भने, ‘हाम्रो संगठन छ र हामी गर्न सक्छौँ भन्ने विश्वास मैले लिएको छु।’

सामाजिक सञ्जालमा कांग्रेसकै नेता तथा कार्यकर्ताले आफूलाई गाली गरिरहेको र त्यसबारे आफू जानकार रहेको उनको भनाइ थियो। ‘मलाई जसले जति गाली गरे पनि हुन्छ। मलाई केही पनि असर गर्दैन, त्यो गालीले,’ उनले भने, ‘किन गर्दैन भने मेरो एउटै लक्ष्य छ, नेपाली कांग्रेसलाई एक ढिक्का बनाईकन आगामी निर्वाचनमा फेरि हामीहरू पहिलो पार्टीको रुपमा प्रस्तुत हुने मेरो त्यति मात्रै इच्छा हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad