इरानले २४ घण्टाभित्र अमेरिकाका दुईवटा सैन्य विमान खसालेको छ।
समाचार एजेन्सी एपीका अनुसार २३ वर्षपछि पहिलोपटक अमेरिकी लडाकु विमान शत्रुको गोलीले खसालिएका हुन्।
यसअघि सन् २००३ मा इराक युद्धको समयमा अमेरिकी सैन्य विमान खसालिएका थिए।
फेब्रुअरी २८ देखि इरानसँग जारी युद्धमा अहिलेसम्म अमेरिकाका ७ विमान नष्ट भइसकेका छन्।
इरानी सञ्चारमाध्यमका अनुसार बितेका २४ घण्टामा अमेरिकाका लडाकु विमान एफ-१५ई र ए-१० इरानको हमलामा परेका हुन्।
एफ-१५ई विमान दक्षिणपश्चिम इरानमाथि उडिरहेका बेला खसालिएको हो भने यसका एक चालक खोज्न निस्केको अमेरिकी ए-१० विमान पनि कुवेत क्षेत्रमा इरानको आक्रमणमा परी दुर्घटना भएको हो।
यद्यपि चालक भने विमान दुर्घटना हुनुभन्दा पहिले नै हाम फालेर बाँच्न सफल भएको बताइएको छ।
सीबीएस न्युजका अनुसार एफ-१५ई मा चालक दलका दुई सदस्य थिए। तीमध्ये एकलाई सुरक्षित रूपमा उद्धार गरिएको छ भने अर्का बेपत्ता छन्।
इरानको सरकारी सञ्चारमाध्यमले प्यारासुटबाट बाहिर निस्केका ती चालक देशको दक्षिणी भागमा अवतरण गरेको अनुमान गरेको छ।
यसैबिच एफ-१५ई लडाकु विमान उद्धार गर्न पठाइएका दुई ब्ल्याकहक हेलिकप्टर पनि इरानको आक्रमणमा परेका छन्। यद्यपि तिनमा सवार सबै अमेरिकी सैनिक सुरक्षित रहेको बताइएको छ।
यसैबिच अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अमेरिकी लडाकु विमान खसालेका कारण जारी शान्ति वार्तामा कुनै असर नपर्ने बताएका छन्।
एनबीसी न्युजका अनुसार संक्षिप्त फोन अन्तर्वार्तामा ट्रम्पलाई लडाकु विमान खसालिएको घटनाले वार्तामा कुनै प्रभाव पार्छ कि पार्दैन भनेर सोधिएको थियो।
जवाफमा उनले भने, ‘पर्दैन, बिलकुल पर्दैन। यो युद्ध हो। हामी युद्धमा छौँ।’
गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमा संयुक्त हवाई हमला गरेपछि सुरु भएको युद्ध अझै जारी छ। बदलामा इरानले इजरायलका साथै अमेरिकी आधार/अड्डा रहेका खाडीका देशहरूमा पनि आक्रमण गर्दा द्वन्द्व मध्यपूर्वभरि फैलिएको छ।
यसैबिच इरानसँग युद्ध सुरु गरेयता अहिलेसम्म अमेरिकी सेनाका १३ जना मारिएको र ३६५ सैन्य कर्मचारी घाइते भएको तथ्यांक अमेरिकाले सार्वजनिक गरेको छ।
यस्तै जारी युद्धमा अहिलेसम्म विभिन्न देशमा गरी मारिएकाको संख्या भने ५ हजार नाघिसकेको छ।
विभिन्न एजेन्सीको पछिल्लो तथ्यांकमा आधारित भन्दै रोयटर्सले सार्वजनिक गरेको मृतकको विवरण यस्तो छ:
इरान : ३,५१९ जना मारिए
अमेरिकास्थित मानव अधिकार संगठन एचआरएएनएका अनुसार इरानमा मारिएकाहरूमा कम्तीमा २४४ बालबालिकासहित १ हजार ५९८ आम नागरिक छन्।
लेबनन : १,३१८ जना मारिए
लेबननी अधिकारीहरूका अनुसार मारिएकाहरूमा १२४ बालबालिका छन्। इजरायलले मार्च २ मा लेबननमा आक्रमण सुरु गरेको थियो। जसमा अहिलेसम्म ४०० भन्दा बढी हेजबुल्लाह लडाकु मारिएका छन्।
छुट्टाछुट्टै हमलामा कम्तीमा ९ जना लेबननी सैनिक मारिएका छन् र संयुक्त राष्ट्रसंघ शान्ति सेनाका तीन जनाको पनि मृत्यु भएको छ। तीनै जना सैनिक इन्डोनेसियाली थिए।
इराक : कम्तीमा १०७ जना मारिए
इराकी स्वास्थ्य अधिकारीहरूका अनुसार मारिएकाहरूमा सर्वसाधारण, इरान-समर्थित सिया पपुलर मोबिलाइजेसन फोर्सका सदस्य, अमेरिका-समर्थित कुर्दिस पेसमेर्गा लडाकु, प्रहरी र सेनाका कर्मचारी छन्।
इराकी बन्दरगाहनजिकै ट्यांकरमा भएको आक्रमणमा चालक दलका एक विदेशी सदस्यको पनि मृत्यु भएको छ। आतंकवादविरोधी तालिम प्रदान गर्ने एक फ्रान्सेली सैनिक पनि ड्रोन आक्रमणमा मारिएका छन्।
इजरायल : १९ जना मारिए
इजरायलको एम्बुलेन्स सेवाका अनुसार इरान र लेबननबाट प्रहार गरिएका क्षेप्यास्त्रबाट १९ जनाको मृत्यु भएको छ। इजरायली सेनाले दक्षिणी लेबननमा आफ्ना १० जना सैनिकको पनि मृत्यु भएको बताएको छ। साथै मार्च २२ मा इजरायली सैनिकले गल्तीले गोली चलाउँदा सीमानजिकै एक इजरायली किसानको मृत्यु भएको थियो।
अमेरिका : १३ जना मारिए
अमेरिकी सेनाका अनुसार इराकमा सैन्य इन्धन भर्ने विमान दुर्घटना हुँदा ६ जना सैनिकको मृत्यु भएको पुष्टि भएको छ। इरानमा अपरेसनका क्रममा अन्य ७ सैनिकको मृत्यु भएको छ।
खाडी क्षेत्र
संयुक्त अरब इमिरेट्स (यूएई) मा ११, कतारमा ७, कुवेतमा ७, वेस्ट बैंकमा ४, सिरियामा ४, बहराइनमा २, ओमानमा २ र साउदी अरेबियामा २ जना मारिएका छन्।
Shares

प्रतिक्रिया