राजनीति


देउवा-कोइराला पक्षको चुनावी समीक्षा: गगन- विश्वप्रकाशको सहयोगी भूमिकाले रास्वपालाई दुई तिहाइ मत

देउवा-कोइराला पक्षको चुनावी समीक्षा: गगन- विश्वप्रकाशको सहयोगी भूमिकाले रास्वपालाई दुई तिहाइ मत

नेपालखबर
चैत १९, २०८२ बिहिबार ७:४३, काठमाडौँ

नेपाली कांग्रेसको शेरबहादुर देउवा र शेखर कोइराला समूहले राष्ट्रिय स्वतन्त्र पार्टीको दुई तिहाइ आउनुमा सभापति गगन थापा र विश्वप्रकाश शर्माको भूमिका सहयोगी बनेको निष्कर्ष निकालेको छ।  

मंगलबार र बुधबार धुम्बाराहीको होटल स्मार्टमा बसेको देउवा-कोइराला पक्षको बैठकले विशेष महाधिवेशनका नाममा कांग्रेस विभाजित हुँदा रास्वपा दुई तिहाइ नजिक पुगेको निष्कर्ष निकालेको हो। 

छलफलका कांग्रेसकम निवर्तमान कार्यवाहक सभापति खड्काले रास्वपालाई दुई तिहाइ नजिक पुर्‍याउन पार्टीकै केही नेता ९गगन थापा र विश्वप्रकाश शर्मा०ले सहयोगी भूमिका खेलेको गम्भीर आरोप लगाए। 

रास्वपाको रणनीति सफल नहुने देखेर एउटा गिरोह नै लागेर विशेष महाधिवेशनको नाममा कांग्रेसलाई छिन्नभिन्न पारेको उनको भनाइ थियो।उनले भने, ‘कांग्रेसलाई त्यो ठाउँमा नपुर्‍याउन्जेलसम्म रास्वपाको दुई तिहाइ आउने थिएन, त्यसैले यो सबै काम नियोजित हो।’ 

कांग्रेसलाई थप कमजोर गराउन अझै प्रयत्न भइरहेको खड्को दाबी छ। कांग्रेस नेता शेखर कोइरालाले पनि कांग्रेस कमजोर बनाउन केही नेता प्रयोग भएको आक्षेप लगाए। सभापति थापा र शर्मालाई लक्षित गर्दै कोइराला भन्छन्, ‘कनट्रोल्ड डेमोक्रेसिको प्र्याक्टिस हुँदैछ । पार्टीलाई सक्काउने डिजाइन अनुसार  कांग्रेसका केही नेताहरू प्रयोग हुनुभयो।’

कांग्रेसलाई कमजोर बनाउन लागिरहेको शक्तिले एकतामा भाँजो हालिएको छलफलमा कोइारालाको भनाइ थियो। ‘पार्टी एकताका लागि उहाँहरु ९गगन थापा विश्वप्रकाश शर्माहरु०सँग सहमति गर्न सकिन्छ तर झुकेर होइन,’ उनले भने, ‘झुकेर जाने भन्ने हुँदैन। दुबै पक्ष बसेर संवादबाट सहमतिमा पुग्नुपर्छ। पार्टी एकतामा भाँजो हाल्ने शक्ति सक्रिय छ। यसमा हामी पनि गम्भीर बन्नुपर्छ।’ नेता खड्कालाई पार्टीको अनुशासन समितिको आजको बैठकले सचेत गराउने निर्णय पनि दुखद भएको कोइरालाको भनाइ थियो।

नेता खड्काले पनि अनुशासन समितिले आफूलाई सचेत गराउने निर्णय पनि कांग्रेसलाई थप कमजोर बनाउने रणनीतिबाटै उत्प्रेरित रहेको बताए। उनले भने, ‘आफ्नो स्वार्थ पूरा नहुँदासम्म सानेपा (पार्टी मुख्यालय) बाट सचेत गराउनेजस्ता कुराहरू आइरहन्छन्। हाम्रा साथीहरूले कुरा नबुझेर यस्ता काम गरिरहन्छन्।’

यस्तै नेता विमलेन्द्र निधिले आफूहरू वैध कांग्रेस भएकैले निर्वाचन आयोगको निर्णय नमानेर अदालत पुगेको बताए।

‘२२ गते सर्वोच्च अदालतमा पेसी छ। निर्वाचन आयोगले विशेष महाधिवेशन पक्षधरलाई मान्यता दियो, त्यो अवैध हो, गैरकानुनी हो र राजनीतिक रूपमा उपयुक्त होइन भनेर हामी सर्वोच्च अदालतमा मुद्दा दिएका छौँ,’ निधिले भने, ‘विशेष महाधिवेशनलाई हामीले मानेका छैनौँ, हामी सहभागी पनि भएनौँ।’ 

दुई दिनको बैठकले १४ औं महाधिवेशनबाट निर्वाचन कार्यसमिति नै वैध कांग्रेस भएको निष्कर्ष निकालिएको उनको भनाइ छ।‘हामी नै असली कांग्रेस हौं, हामी जहाँ छौं, त्यही असली कांग्रेस हो । हामी जहाँ छौं, त्यही वैध कांग्रेस हो । यही निष्कर्ष निकालेका छौं,’ निधिले भने।

यस्तै बैठकमा निर्वाचनबारे पनि छलफल भएको उनले बताए । उनले भने, ‘जुन परिस्थितिमा निर्वाचन भयो, परिणाम अकल्पनीय आयो । निर्वाचन पनि आकस्मिक भयो, २०८४ मा हुनुपर्ने निर्वाचन २०८२ भयो।’ 

संविधानको रक्षाका लागि निर्वाचनमा भाग लिएको भन्दै  कांग्रेसले पहिलेभन्दा सशक्त ढंगले लोकतान्त्रिक प्रणालीलाई अगाडि लिन भूमिका खेल्नुपर्ने उनले बताए।  ‘यसमा नेपाली कांग्रेसले पहिलेभन्दा पनि सशक्त रूपमा लोकतान्त्रिक प्रणालीलाई कसरी अगाडि लैजान सकिन्छ भन्ने छलफल भयो,’ उनले भने, ‘त्यसका लागि वृहत एकताको जरुरत छ । त्यसैलाई हामीले मिसन बनाएर जान्छौं । देशभरका साथीसँग संवादमा रहन्छौं।’

कांग्रेस नेतृ सीता गुरुङले दुई पक्षबिचको संवादहीनता तोड्नुपर्ने भन्दै अदालतको निर्णय मानेर जानुको विकल्प नभएको बताइन्।

उनले भनिन्, ‘कांग्रेस पछारिनु पछारिसक्यो। कांग्रेसले सिक्नुपर्ने सबै सिकी पनि सक्यो। अब उठ्ने कुरा गरौं। उठाउनका लागि दुई समूहबीच देखिएको संवादहिनता तोडौं। आ-आफ्नो अहंकार पनि छाडौं । दुवै पक्षले त्यो त्याग गरौँ । अनि पार्टी एकताका लागि अदालतले जे निर्णय दिन्छ त्यो निर्णय अनुसार अघि बढौं।’

कांग्रेसका नेता शिव हुमागाईँले नियमित र विशेष महाधिवेशन भनेर विवाद गरेर चुनावमा जाँदा आउने नतिजा यस्तै हुने टिप्पणी गरे।  

‘विशेष र नियमित अधिवेशन भनेर विवाद गरेर चुनावमा गएपश्चात् आउने रिजल्ट यहीँ नै थियो,’ हुमागाईँले भने, ‘हाम्रो गन्तव्य स्पष्ट पार्नुपर्छ। के उद्देश्य राखेर कहाँ पुग्ने गन्तव्य हो र? अहिले हाम्रो कुरा कसैले सुन्नेवाला छैन । सकिन्छ भने मिलेर जाउँ, नभए चुप लागेर बसौं । गन्तव्य क्लियर गरौं।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad