श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साह एक जना सञ्चारकर्मीले कडा प्रश्न गरेपछि कार्यक्रमस्थलबाट बाहिरिएका छन्।
मन्त्री साहलाई ती सञ्चारकर्मीले ‘एमबीबीएसमा नाम निकालिदिने भन्दै रकम लिने तपाइँ नै हो?’ भनि प्रश्न गरेका थिए।
बुधबार आयोजित एक कार्यक्रममा सञ्चारकर्मीले यस्तो प्रश्न सोधेपछि मन्त्री साह भने कार्यक्रमस्थलबाट बाहिरिए।
‘दीपक कुमार साह, एमबीबीएसमा पास गराइदिने भन्दै रकम लिएको भनेपछि पक्राउ परेको समाचार आएको थियो। त्यही दीपककुमार साह तपाइँ हो?’ प्रश्नकर्ताले सोध्छन्।
मन्त्रीले जवाफ दिन्छन्, ‘तपाइँलाई के भन्न चाहन्छु भने सबभन्दा पहिले, यही कुरामा सत्यता भएको भए आज म मन्त्री हुँदैनथेँ।’
हात जोड्दै ‘म यति मात्रै भन्न चाहन्छु’ भन्दै मन्त्री साह कुर्चिबाट उठेर सरासर हिँड्छन्। उनी बाहिरिएपछि कर्मचारीहरू भने मुखामुख गरेको भिडिओमा देख्न सकिन्छ।
प्रश्नकर्ताले अझै सोध्छन्, ‘भनेपछि नेपाल प्रहरी यसमा गलत छ?’
तर, मन्त्री साह भने पछाडी नफर्किकन कार्यकक्षबाट बाहिरिन्छन्।
वर्ड वाइड कन्सल्टेन्सीका तत्कालीन सञ्चालक रहेका साह एमबीबीएस परीक्षा पास गराइदिने भन्दै ठगी गरेको आरोपमा २०७३ असोज १६ गते पक्राउ परेका थिए।
पुतलीसडकमा रहेको सो कन्सल्टेनीबाट एमबीबीएसमा नाम निकालिदिने भनेर ठगी गरेको आरोपमा प्रहरीले साहसहित दुई जनालाई पक्राउ गरेको थियो।
महोत्तरी–२ बाट रास्वपाको उम्मेदवार बनेर निर्वाचित भएका साहलाई प्रधानमन्त्री बालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बनाएका हुन्।

Shares

प्रतिक्रिया