ad ad

म्यागेजिन


यी ‘रकस्टार स्वास्थ्यमन्त्री’, जसले केरलामा कोरोना नियन्त्रण गरिन्

यी ‘रकस्टार स्वास्थ्यमन्त्री’, जसले केरलामा कोरोना नियन्त्रण गरिन्

लौरा स्पिनी
जेठ २, २०७७ शुक्रबार ५:३९,

२० जनवरीका दिन दक्षिण भारतीय राज्य केरलाकी स्वास्थ्यमन्त्री के के शैलजाले मन्त्रालयका एक अधिकारीलाई फोन गरिन्। उनले अनलाइनमा एउटा समाचार पढेकी थिइन्– चीनमा एउटा खतरनाक भाइरस फैलिँदैछ।

‘त्यो भाइरस हामीकहाँ आइपुग्छ?’ उनले सोधिन्।

‘निश्चय नै, म्याडम,’ ती चिकित्सकले जवाफ दिए।

लगत्तै मन्त्री शैलजाले कोरोना भाइरसविरुद्धको तयारी थालिन्। अहिले त्यसको चार महिना बित्यो र केरलामा हालसम्म ५ सय २४ मात्र संक्रमित फेला परेका छन्। जसमध्ये ४ को मृत्यु भएको छ। हालसम्म भाइरस समुदायमा नफैलिएको शैलजा बताउँछिन्।

३ करोड ५० लाख जनसंख्या भएको केरलाको प्रतिव्यक्ति आय २ हजार ६ सय ८२ डलर छ। त्यो भन्दा दोब्बर जनसंख्या र ४९ हजार २ सय प्रतिव्यक्ति आय भएको बेलायतमा ४० हजारको ज्यान गइसकेको छ। केरलाभन्दा १० गुणा जनसंख्या र ६२ हजार १ सय डलर प्रतिव्यक्ति आय भएको अमेरिकामा ८२ हजारभन्दा बढीको मृत्यु भइसकेको छ।

६३ वर्षीया यी मन्त्रीलाई सबैले स्नेहपूर्वक शैलजा टिचर भनेर बोलाउँछन्। केरलाले भाइरस रोकथाममा सफलता हासिल गरेसँगै उनले पछिल्लो समय केही उपनाम पनि कमाएकी छिन्। कसैले उनलाई ‘कोरोना भाइरस विनाशक’ भन्छन् भने कसैले ‘रकस्टार स्वास्थ्यमन्त्री।’ यी उपनाम उनको रङरुपसुहाउँदो देखिँदैन। चस्मा लगाउने उनी यसअघि माध्यामिक विद्यालयमा विज्ञान विषय पढाउने शिक्षक थिइन्। तर, यिनले एउटा गरिब लोकतन्त्रले पनि महामारीलाई प्रभावकारी रुपमा नियन्त्रण गर्न सक्छ भनेर प्रमाणित गरेकी छन्। त्यसैकारण अहिले जताततै उनको हाइहाइ छ।

उनले यो सफलता कसरी हासिल गरिन् त?

चीनमा नयाँ भाइरससम्बन्धी समाचार पढेको तीन दिनपछि नै शैलजाले आफ्नो रोकथाम टोलीसँग पहिलो बैठक गरिन्। भोलिपल्ट २४ जनवरीमा त्यो टोलीले एउटा कन्ट्रोल रुम तयार गर्‍यो। त्यस्तै केरलाका १४ वटै जिल्लाका मेडिकल अफिसरहरुलाई पनि एकएक वटा कन्ट्रोल रुम बनाउन निर्देशन दिइयो।

२७ जनवरीका दिन चीनको वुहानबाट विमान चढेर पहिलो कोरोना संक्रमित केरला आइपुगे। तर, त्यसबेलासम्म यो राज्यले विश्व स्वास्थ्य संगठनले जारी गरेको प्रोटोकल अनुसार परीक्षण, अनुसन्धान र आइसोलसनको विधि अपनाइसकेको थियो।

चीनबाट आएका यात्रुहरुको ज्वरो नाप्न थालियो। ज्वरो आएका तीन जनालाई नजिकैको अस्पतालमा आइसोलेसनमा राखियो। बाँकी यात्रुलाई घरमै क्वारन्टिनमा राखियो। उनीहरुलाई स्थानीय मलयालम भाषामा लेखिएको कोभिड–१९ सम्बन्धी जानकारीमूलक पर्चा दिइएको थियो। अस्पतालमा राखिएकाहरुमा कोभिड–१९ पोजिटिभ देखियो। तर, त्यसबेला रोग फैलिन पाएन।

‘सुरुमा त हामीले विजय हात पार्‍यौँ,’ शैलजा भन्छिन्, ‘तर, भाइरस चीनबाट विश्वभर फैलिएको थियो। त्यसैले चाँडै नै यो जताततै पुग्यो।’

फेब्रुअरीको अन्तिमतिर शैलजाले तैनाथ गरेको निगरानी समूहको आँखा छलेर एक मलयाली परिवार इटलीको भेनिसबाट केरला आइपुग्यो। आफ्नो यात्रा विवरण लुकाएर त्यो परिवार सीधै घर पुग्यो। स्वास्थ्यकर्मीहरुले एक कोरोना बिरामीमा भएको संक्रमणको स्रोत त्यो परिवार भएको पत्ता लगाउँदा धेरै ढिला भइसकेको थियो। त्यो परिवारले सयौँ मानिसहरुसँग सम्पर्क कायम गरिसकेको थियो। सामाजिक सञ्जाल र विज्ञापनमार्फत ती सबैको खोजी गरियो र क्वारन्टिनमा राखियो। जसमध्ये ६ जनामा भाइरस देखियो।

त्यस्तै अर्को समूहको नियन्त्रणमा पनि सफलता हात लाग्यो। तर, त्यतिञ्जेल खाडी मुलुकबाट ठूलो संख्यामा कामदारहरु भाइरस बोकेर फर्किरहेका थिए। २३ मार्चमा राज्यका चार वटै अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरियो। दुई दिनपछि भारतमा देशव्यापी लकडाउन भयो।

संक्रमण दर उच्च रहेको बेला केरलामा १ लाख ७० हजार मानिस एकै पटक क्वारन्टिनमा थिए। उनीहरुलाई स्वास्थ्यकर्मीको कडा निगरानीमा राखिएको थियो। जसको घरभित्र बाथरुम थिएन, उनीहरुलाई सरकारी खर्चमा व्यवस्थित आइसोलसेनमा राखियो। अहिले क्वारन्टिनमा बस्नेको संख्या मात्र २१ हजार छ।

‘हामीले छिमेकी राज्यका डेढ लाख आप्रवासी कामदारलाई पनि खाना र बासको व्यवस्था गर्‍यौँ, जो लकडाउनका कारण यहाँ अड्किएका थिए,’ शैलजा भन्छिन्, ‘हामीले उनीहरुलाई ५ हप्तासम्म दिनको तीन छाक खाना खुवायौँ।’

ती कामदारलाई अहिले रेलमा घर पठाइँदैछ।

उसो त कोभिड–१९ को महामारीअघि नै शैलजा भारतमा सेलेब्रिटी बनिसकेकी थिइन्। गत वर्ष भाइरस नामक फिल्म रिलिज भएको थियो। त्यो फिल्म सन् २०१८ मा फैलिएको कोरोनाभन्दा घातक भाइरस निपा नियन्त्रण गर्न शैलजाले खेलेको भूमिकामा आधारित थियो।

तर, फिल्ममा शैलजाको भूमिकामा देखिएकी चरित्र अलि बढी चिन्तामा डुबेको जस्तो शैलजालाई लाग्यो। ‘मलाई डराउने छुट छैन,’ उनले भनेकी छन्। निपा भाइरसको प्रकोप रोक्न उनले चालेको कदमको त प्रशंसा भयो नै, प्रकोपको केन्द्रमा रहेको गाउँ पुगेकोमा पनि मानिसहरुले उनको वाहवाही गरे।

निपा भाइरस फैलिएको गाउँका बासिन्दा आतंकित थिए र भाग्नलाई तयार भइसकेका थिए। भाइरस कसरी फैलियो उनीहरुलाई थाहै थिएन।

‘म हतारहतार डाक्टरसहित त्यहाँ पुगेँ, हामीले पञ्चायत कार्यालयमा बैठक राख्यौँ र गाउँ छोड्न जरुरी छैन भनेर मैले सम्झाएँ। किनभने भाइरस प्रत्यक्ष सम्पर्कमा भएकामा मात्र सर्थ्यो,’ उनी भन्छिन्, ‘खोक्दै गरेको व्यक्तिबाट एक मिटर दूरी राख्ने हो भाइरस सर्दैनथ्यो। मैले यो कुरा बताएपछि उनीहरु शान्त भए।’

निपाले आफूलाई कोरोनाविरुद्ध तयार पारेको शैलजा बताउँछिन्। एक हिसाबले उनी यी दुवै प्रकोपविरुद्ध जीवनभरदेखि तयारी गरिरहेकी थिइन्।

उनी जन्मेको अर्को साल अर्थात्, सन् १९५७ देखि नै केरलामा धेरैजसो समय भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) ले सरकार चलाउँदै आएको छ (भाकपा सन् १९६४ मा फुटेको थियो)। स्वतन्त्रता सेनानी र अभियन्ताहरुको परिवारमा उनी जन्मेकी थिइन्। उनकी हजुरआमाले छुवाछुतविरुद्ध अभियान चलाएकी थिइन्। हुर्किंदै गर्दा उनले शासन सञ्चालनको ‘केरला मोडल’ को निर्माण भएको देखिन्।

यो मोडेल खासगरी तीन वटा जगमा निर्माण भएका थिए– भूमिसुधार, विकेन्द्रीकृत जनस्वास्थ्य प्रणाली र सार्वजनिक शिक्षामा लगानी। केरलामा अहिले हरेक गाउँमा प्राथमिक स्वास्थ्य केन्द्र, हरेक प्रशासकीय तहमा एउटा अस्पताल र १० वटा मेडिकल कलेज छन्।

महाराष्ट्र राज्यको पुनेस्थित एक जनस्वास्थ्य विज्ञ एमपी करिअप्पा भारतका अन्य राज्यमा पनि यस्ता संरचना उत्तिकै संख्यामा भएको बताउँछन्। तर, ती ठाउँमा मानिसले केरलामा जस्तो प्राथमिक स्वास्थ्य प्रणालीमा लगानी गरेका छैनन्। भारतभरमै केरलामा औसत आयु सबैभन्दा बढी र शिशु मृत्युदर सबैभन्दा कम छ। सबैभन्दा बढी साक्षरता पनि यहीँ छ। ‘शिक्षाको आम पहुँचका कारण स्वास्थ्य महत्वपूर्ण छ भन्ने सबैले बुझेका छन्,’ करिअप्पा भन्छन्।

‘मैले हजुरआमाबाट त्यो बेलाको कृषि आन्दोलन, स्वतन्त्रताको लडाइँजस्ता संघर्षका कथा सुनेँ,’ शैलजा भन्छिन्।

लकडाउनजस्ता संकटकालीन नीति कार्यान्वयन गर्ने अधिकार केन्द्र सरकारसँग मात्रै छ, तर भारतका हरेक राज्यले आफ्नै स्वास्थ्य नीति लागू गर्न पाउँछन्। ‘यदि केरला मोडल हुँदैनथ्यो भने कोभिड–१९ विरुद्ध हाम्रो सरकारको यस्तो कदम सम्भव नै हुँदैनथ्यो,’ शैलजा जोड दिएर भन्छिन्।

राज्यका प्राथमिक स्वास्थ्य केन्द्रहरु पुराना हुन थालेका थिए। तर, सन् २०१६ मा शैलजाको पार्टी सत्तामा आयो। लगत्तै सो पार्टीले आधुनिकीकरण कार्यक्रम ल्यायो। त्यसमध्ये एउटा कार्यक्रम थियो, श्वासप्रश्वाससम्बन्धी रोगको तथ्यांक राख्ने र त्यसको उपचारका लागि बेग्लै क्लिनिक बनाउने। ‘त्यो कार्यक्रमले हामीलाई अहिले निकै ठूलो सहयोग गर्‍यो,’ शैलजा भन्छिन्।

जब कोरोना प्रकोप सुरु भयो, हरेक जिल्लालाई कोभिड–१९ का लागि दुई वटा अस्पताल छुट्याउन भनियो। त्यस्तै हरेक मेडिकल कलेजले यसका लागि ५ सय बेड तयार गरे। जसमा आउनेजाने बेग्लै बाटो तयार गरियो। खासगरी धनी पश्चिमा राष्ट्रमा भाइरस फैलिएपछि परीक्षण किटको अभाव हुन थाल्यो। त्यसैले लक्षण देखिएका बिरामी, उनीहरुसँग सम्पर्कमा आएका मानिस, स्वास्थ्यकर्मी, प्रहरी र स्वयंसेवकलाई मात्र परीक्षण गर्न थालियो।

केरलामा परीक्षणको नतिजा ४८ घण्टाभित्र आइसक्ने शैलजा बताउँछिन्। ‘खाडी मुलुक, अमेरिका र बेलायतजस्ता प्राविधिक रुपले सम्पन्न मुलुकमा ७ दिन पर्खाउँछन्,’ उनी भन्छिन्, ‘त्यता के भइरहेको छ?’

उनी ती मुलुकप्रति टिप्पणी गर्न चाहन्नन् तर त्यहाँ मृतकको संख्या देखेर उनी हैरानीमा परेकी छन्। ‘मलाई लाग्छ परीक्षण अत्यन्त महत्वपूर्ण छ। क्वारन्टिन, निगरानी पनि। तर ती मुलुकका मानिसहरुले यो कुरा बुझिराखेका छैनन्,’ उनी भन्छिन्। ती मुलुकमा बस्ने मलयालीहरुले उनलाई फोन गरेर त्यहाँको वास्तविकता बताएका छन्।

भारतमा लकडाउनका कारण पूजा–प्रार्थनाका स्थल बन्द गरिएका छन्। जसका कारण केही भारतीय राज्यहरुमा विरोध प्रदर्शन समेत भए। तर, केरलामा त्यस्तो भएन। मुख्यमन्त्री पिनरयी विजयनले बन्द हुनुअघि नै स्थानीय धार्मिक नेताहरुसँग सल्लाह गरिसकेका थिए। त्यसमाथि उच्च साक्षरताले पनि यसमा सहयोग गरेको शैलजा बताउँछिन्, ‘हामी घरभित्रै बस्नुपर्छ भन्ने मानिसले बुझेका छन्।’

भारत सरकारले मे १७ मा लकडाउन हटाउने बताएको छ। त्यसपछि संक्रमण फैलिएको खाडी मुलुकबाट ठूलो संख्यामा कामदार फर्किने शैलजाको अनुमान छ। ‘यो निकै ठूलो चुनौती हुनेछ। तर, त्यसका लागि हामीसँग वैकल्पिक योजनाहरु छन्। सबैभन्दा खराब परिस्थित उत्पन्न भए के गर्ने भन्ने योजना पनि छ,’ उनी भन्छिन्। जसमा होटल, होस्टेल, सभा हलहरुलाई अस्पतालमा बदलेर १ लाख ६५ हजार शय्या तयार गरिनेछ।

यदि ५ हजारभन्दा बढी भेन्टिलेटर चाहिने स्थिति बन्यो भने उनीहरुलाई अप्ठेरो पर्नेछ। यद्यपि अर्डर भने उनीहरुले धेरै गरिसकेका छन्। तर, सबैभन्दा कठिन चुनौती भने जनशक्तिको हुनेछ। खासगरी कन्ट्याक्ट ट्रेसिङ गर्ने जनशक्ति अभाव हुनेछ। ‘त्यसैले हामी शिक्षकहरुलाई तालिम दिइरहेका छौँ,’ शैलजा भन्छिन्।

यदि भाइरसको दोस्रो लहर थामियो भने ती शिक्षक स्कुल फर्किनेछन्। शैलजाको योजना पनि स्कुल फर्किने नै छ। किनभने एक वर्षपछि केरलामा चुनाव हुँदैछ र उनको मन्त्री पदको अवधि पनि पूरा हुँदैछ।

कोभिड–१९ को जोखिम चाँडै समाप्त हुने छाँट छैन। यस्तोमा आफ्नो उत्तराधिकारीलाई उनी के गोप्य सल्लाह दिन चाहन्छिन् त?

उनी हाँस्छिन्। किनभने उनको त्यो गोप्य सल्लाह खासमा गुप्त छैन, भन्छिन्– ‘उचित योजना।’

(द गार्जियनबाट)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .