सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता मनिष झाले सोमबार सञ्चारगृहका गेटहरूमा रहस्यमय तरिकाले गाडी पार्किङ गरेर तर्साउने काम राज्य पक्षबाटै भएको स्वीकार गरेका छन्।
प्रतिनिधिसभा सदस्यसमेत रहेका झाले घटना भएको २ दिनपछि बुधबार बिहान सामाजिक सञ्जालमार्फत राज्य आफैँ नागरिकलाई आतंकित बनाउने काममा संलग्न भएको टिप्पणी गरेका हुन्।
‘सञ्चारगृह र अन्य स्थानमा गाडी राखेर अवरोध गर्ने काम गलत हो। यसमा जो संलग्न छ, अनुसन्धान र कारबाही हुनुपर्छ’, उनले लेखेका छन्, ‘राज्यले नागरिकको चिन्ता निराकरण गर्ने हो। राज्यले आफैँ थप आतंकित बनाउने हैन। यस्तो बचपना देखाएर राजकाज चल्छ? के यस्तै स्तरहीन र गलत प्रयोग गर्न जेनजी सहादत भएको हो? यस किसिमको कामप्रति घोर आपत्ति छ।’

सोमबार बिहान कान्तिपुर पब्लिकेसन, अनलाइनखबर, हिमालयन टेलिभिजन, कांग्रेस सभापति गगन थापा र भाटभटेनीअगाडि शंकास्पद रूपमा पार्किङ गरिएका गाडी फेला परेका थिए।
सोमबार नै क्रेनको सहयोगमा उठाएर ट्राफिक प्रहरी कार्यालय लगिएका ती गाडीलाई ५ सयदेखि १ हजार ५ सय रुपैयाँसम्म जरिवाना तिराएर प्रहरीले सम्बन्धित व्यक्तिको जिम्मा लगाएको ट्राफिक प्रहरीका एक अधिकारीले बताए।
जथाभावी पार्किङ गरेको आरोपमा प्रहरीले सामान्य जरिवाना तिराएर सम्बन्धित व्यक्तिलाई गाडी फिर्ता दिएको हो। कुनै गाडीका चालक त कुनैका धनी सोमबार साँझ नै आफ्ना सवारीसाधान बुझ्न ट्राफिक प्रहरी कार्यालय पुगेका थिए।
भाटभटेनीअगाडि बागमती प्रदेश–०१–०३३ च ४२७५ नम्बरको हुनडाई क्रेटा गाडी थियो। अनलाइन खबरको गेटमा राखिएको बा १२ च ८५४५ नम्बरको कारचाहिँ सुनिल पौडेलको रहेको खुलेको छ। उक्त गाडी उनका भाइले लगेर गेटमा छाडेको खुलेको छ।
कान्तिपुर पब्लिकेसन्सको गेटमा बा प्रदेश–०१–०३४ च ४० नम्बरको जिप पार्किङ गरिएको थियो। यो गाडी रास्वपाकै नेताको भएको खुलेको छ। रौतहट घर भएका रवि जैसवालको गाडी पुष्टि भइसकेको छ।
हिमालय टेलिभिजनको गेटमा राखिएको बा १० च १२५५ नम्बरको कार डीआर अटो मोटिभ्सको नाममा दर्ता रहेको पाइएको छ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि आफ्ना सभापति गगन थापाको निवाससँगै विभिन्न सञ्चारगृहअगाडि रहस्यमय तरिकाले गाडीहरू राख्ने काम सरकारकै भएको आरोप लगाइसकेको छ।
कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले मानसपटलमा उत्तर कोरिया बोकेर हिँड्दाको पराकाष्ठा भएको आरोप लगाएका हुन्।
‘गेटअगाडि गाडी राखिएको घटना बाटो छेक्ने मात्रै नभएर आलोचनात्मक आवाज थुन्ने प्रयास हो। यो घटना स्वतन्त्र प्रेससँगै विपक्षी दलका नेतृत्वलाई मनोवैज्ञानिक दबाबमा राख्ने, डर देखाउने र ‘प्रश्न गर्यौ भने परिणाम भोग्नुपर्छ’ भन्दै तर्साइएको हो। यो कुनै सामान्य संयोग पनि होइन’, उनले सोमबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘यतिबेला सहकारी पीडित सडकमा छन्। मिटरब्याजपीडित तराई-मधेसदेखि न्याय खोज्दै काठमाडौँतर्फ आइरहेका छन्। सुकुमवासी समस्या झन् जटिल बन्दै गएको छ। राज्यपक्षबाट भएको दुर्व्यवहारले मुगुका २५ वर्षीय गणेश नेपालीले आत्मदाह गरे। हिजो १०० दिनमै रोजगारी दिने वाचा गर्ने नेताको दलले शक्तिशाली सरकार चलाइरहँदा पनि वाचा पूरा गर्नेतर्फ अग्रसर नहुँदा निराश भएर सर्लाहीका विवेक मण्डलले पनि आत्मदाह गरे। यसअघि एकपछि अर्को सुकुमवासीले राज्य दमन सहन गर्न नसकी आत्महत्या गरेको कारूणिक दृश्यहरू सार्वजनिक भए। बेरोजगारी समस्या र सुशासनका प्रश्न दिनप्रतिदिन गहिरिँदै गएका छन्। यी विषयमा जवाफ दिन नसकेको सरकार प्रश्न गर्ने सञ्चारमाध्यम र प्रतिपक्ष दलका नेतामाथि नै दबाब सिर्जना गर्ने शैलीतर्फ उन्मुख देखिएको छ। यो लोकतन्त्रको बाटोबाट सत्ताको नेतृत्वमा पुगेका प्रधानमन्त्रीजीले मानसपटलमा उत्तर कोरिया बोकेर हिँड्दाको पराकाष्ठा हो।’
उनले अगाडि लेखेका छन्, ‘स्मरण होस्, सञ्चारमाध्यमहरू र प्रतिपक्ष सरकारको शत्रु होइनन्। उनीहरू जनताका आँखाअघि राज्यका कामकारबाही जस्ताको तस्तै देखाउने ऐना हुन्। ऐना फुटाएर अनुहार सुन्दर देखिँदैन। र, भ्रम पनि नरहोस्- गेटअगाडि गाडी राखेर स्वतन्त्र आवाज रोक्न सकिन्छ भनेर। इतिहासले पुष्टि गरेको छ कि गेट छेकिए पनि प्रश्नको बाटो छेक्न सकिन्न भनेर।’
यद्यपि सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नै घटनाको सत्यतथ्य छानबिन गर्न माग गरेको छ।
Shares

प्रतिक्रिया