नेपाली कांग्रेसले प्रतिनिधि सभा तथा प्रदेश सभाका समानुपातिक सांसदलाई ‘राइट टु रिकल’को व्यवस्था पार्टी विधानमा समावेश गरेकोबारे जानकारी गराएको छ।
शनिबार सानेपामा भएको संसदीय सचेतना कार्यक्रममा उपसभापति विश्वप्रकाश शर्माले समानुपातिक सांसदलाई जुनसुकै बेला फिर्ता बोलाउन सक्ने विधानको नयाँ प्रावधानबारे जानकारी गराएका हुन्। गत पुस मसान्तमा सम्पन्न कांग्रेसको विशेष महाधिवेशनबाट परिमार्जन भएको विधानको दफा ४० मा यस्तो व्यवस्था रहेको उनको भनाइ थियो।
उपसभापति शर्माले सो दफामा रहेका ४ उपदफाबारे व्याख्यासमेत गरेका थिए। कांग्रेसले आफ्ना समानुपातिक सांसदको संसदीय जिम्मेवारीलाई प्रभावकारी र जबाफदेही बनाउन यस्तो प्रावधान राखिएको कांग्रेसको छ।
‘निजले प्रचलित कानुन विपरीत काम गरेमा, पार्टीको निर्देशन र मूल्यमान्यता विपरीत काम गरेमा र कार्यसम्पादन मूल्यांकन सन्तोषजनक नदेखिएमा समानुपातिक सांसद पार्टीले जुनसुकै बेला फिर्ता बोलाउन सक्नेछ,’ शर्माले भनाइ थियो।
कांग्रेसको विधानको यो व्यवस्था निर्वाचन आयोगले दर्ता र स्वीकृति प्रदान गरिसकेको छ। साथै सांसदहरू समेतको सुझाव समेटेर निर्देशिका बनाउने तयारीसमेत रहेको कांग्रेसले जनाएको छ। शनिबार कांग्रेसले प्रतिनिधिसभा र राष्ट्रियसभाका नवनिर्वाचित सांसदहरूलाई अभिमुखीकरण दिएको थियो।
Shares

प्रतिक्रिया