ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालयको समग्र अवस्था, हालसम्मको प्रगति, विद्यमान चुनौती तथा आगामी कार्यदिशालगायतका विषयमा उच्चपदस्थ कर्मचारीसँग छलफल गरेका छन्।
आइतबार भएको छलफलमा मन्त्री श्रेष्ठले मन्त्रालयअन्तर्गत सञ्चालन भइरहेका विभिन्न आयोजना तथा कार्यक्रमको प्रगति अवस्थाबारे जानकारी लिएका छन्। यससँगै सेवा प्रवाहलाई अझ प्रभावकारी, पारदर्शी र नागरिकमुखी बनाउने विषयमा जोड दिएका छन्।
ऊर्जा क्षेत्रको दिगो विकास, जलस्रोतको समुचित उपयोग तथा सिँचाइ प्रणालीको विस्तारमार्फत कृषि उत्पादनमा वृद्धि गर्ने सरकारको लक्ष्य प्राप्तिका लागि स्पष्ट कार्ययोजना, समयबद्ध कार्यान्वयन र उत्तरदायित्वपूर्ण कार्यशैली आवश्यक रहेको श्रेष्ठले बताए। मन्त्रालयभित्र समन्वय, अनुशासन र परिणाममुखी कार्यसंस्कृतिको विकास गर्नुपर्नेमा उनले जोड दिए।
उनले नीति, योजना र कार्यान्वयनबीच प्रभावकारी समन्वय कायम गरी मन्त्रालयको समग्र कार्यक्षमता अभिवृद्धि गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिक्रिया