भदौ २३ र २४ गतेको आन्दोलनबाट बढि चर्चामा आएका व्यक्ति हुन् सुधन गुरुङ। चुनाव नजिकै राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेर औपचारिक राजनीतिमा प्रवेश गरेका सुधनले शुक्रबार गृहमन्त्रीको शपथ लिएका छन्।
गएको निर्वाचनमा गोरखा १ बाट सांसदमा निर्वाचित भएका थिए। जेनजी आन्दोलनमा आन्दोलनकारीको नेतृत्व गरेका सुधनले अब सुरक्षा फौजको कमाण्ड गर्नेछन्। गृह मन्त्री मातहत नेपाल प्रहरी र सशस्त्र प्रहरी रहन्छन्।
सुरुमा आन्दोलनमा पानी बाँड्न मात्रै पुगेको बताएका सुधन आन्दोलनको समापनतिर जेनजी आन्दोलनकै कमाण्डरका रुपमा स्थापित भइसकेका थिए।
आन्दोलन रोकेर सेनासँग वार्ता गर्नेदेखि तत्काल प्रधानमन्त्री चुन्ने प्रक्रियामा सुधन निर्णायक भूमिकामा थिए। प्रधानसेनापति अशोकराज सिग्देलसँग जेनजी आन्दोलनपछिको चुनावी सरकार गठनमा उनी नै निर्णायक वार्ता गरिरहेका थिए। त्यतिबेला पनि सुधनले सुरुमा बालेनलाई प्रधानमन्त्रीका रुपमा अगाडि सारेका थिए।
तर बालेनले चुनावी सरकारको नेतृत्व नगरी आफै चुनाव लडेर त्यसपछिको प्रधानमन्त्री बन्ने चाहना देखाए। त्यसपछि सुधनसहितले सुशीला कार्कीलाई प्रधानमन्त्रीका लागि अनुरोध गरेका थिए। सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउने चरणमा पनि उनी राष्ट्रपति रामचन्द्र पौडेलसँग जेनजीहरुको तर्फबाट वार्तामा सहभागी थिए।
संसद विघटनदेखि कार्की नेतृत्वको सरकार गठनमा समेत सुधनले आन्दोलनकारीको अगुवाको भूमिका निभाएका थिए। तर कार्कीले ओमप्रकाश अर्याललाई गृहमन्त्री बनाएपछि उनले सार्वजनिक रुपमै असन्तुष्टि पनि जनाएका थिए।
जेन-जी आन्दोलनपछि सेनाको आडमा ‘किङमेकर’ बनेका सुदन
तर अर्यालसहितकै सरकारले चुनावी तयारी अगाडि बढायो। यता सुधन भने चुनाव लड्न नलड्ने भन्ने विषयमा अन्यौलनमै देखिन्थे। कतिपय बेला उनले आफू चुनावमा नजाने र देशलाई एउटा ट्र्याकमा ल्याएर आफू सामाजिक कामको पूरानै भूमिकामा फर्किने बताएका थिए। सुधन हामी नेपाली संस्थाका अध्यक्ष पनि हुन्।
दलहरुले समानुपातिकको सूची बुझाइसक्दा पनि सुधन चुनाव लड्ने वा नलड्ने भन्नेमा निश्चित भइसकेका थिएनन्। जतिबेला बालेन, रवि र कुलमान छुट्टा छुट्टै तयारीमा थिए।
तर यसबिचमा सुधन भने बालेन, रवि र कुलमानलाई मिलाउन सक्रिय भूमिका निर्वाह गरिरहेका थिए। सुधनसमेतको पहलमा अन्ततः बालेन र रविबिच एकता भयो। बालेन राष्ट्रिय स्वतन्त्र पार्टीको वरिष्ठ नेता र भावि प्रधानमन्त्रीका रुपमा अगाडि सारिए।
त्यसपछि पनि सुधन रोकिएनन्। कुलमान घिसिङ उज्यालो नेपाल पार्टी बनाएर छुट्टै चुनावमा जाने तयारीमा थिए। तर कुलमानलाई पनि रास्वपामै ल्याउन सुधनले भूमिका खेलेका थिए। सुधनसहितको टिमले जबरजस्ती लगेका भनिएका कुलमान त्यहाँबाट केही दिनमै अलग भए।
कुलमान अलग भएपनि सुधन भने बालेनसँगै रास्वपामा प्रवेश गरे। उनीहरु सँगै रास्वपाको केन्द्रीय पार्टी कार्यालयमा पुगेका थिए। त्यसपछि सुधन गोरखा १ बाट र बालेन झापा–५ बाट चुनावी गतिविधिमा लागेका थिए।
यहाँबाट उनी २९ हजार ८९६ मतसहित निर्वाचित भएसँगै कुनै न कुनै मन्त्रालयको जिम्मेवारी पाउने चर्चा भएको थियो। तर अन्तिम दिनसम्म पनि गृह मन्त्रालय नै पाउलान् भन्नेचाहिँ धेरैले आकलन गरेका थिएनन्। तर बालेनको रोजाइमा पर्दै उनले आफ्नो रोजाइकै मन्त्रालय पाए।
२०४४ असार २५ गते जन्मिएका सुधनको पुख्र्यौली थलो गोरखाको चुमनुव्री गाउँपालिका ३ सिर्दिवास हो। तर उनको बाल्यकाल भने काठमाडौँमै बित्यो। काठमाडौँमा पढाइपछि उनले विपद् व्यवस्थापनको तालिम लिए। २०७२ सालको भुकम्पपछि भने उनी सामाजिक अभियान्ताको रुपमा स्थापित भइसकेका थिए।
देश विदेशबाट सहयोग जुटाएर उनले भूकम्प पीडितका लागि राहत तथा उद्धारमा सहयोग गरेका थिए। त्यसपछि सामाजिक अभियानमै लागिरहेका सुधन भदौको जेनजी आन्दोलनबाट नेतृत्वमा स्थापित भएका हुन्।
सुरुमा नेतृत्वबिहिन भनिएको आन्दोलनको समापन र त्यसपछिका गतिविधिमा उनी नै नेतृत्वमा देखिए। सुधनलाई जेनजी आन्दोलन हाइज्याक गरेको आरोप समेत छ।
तर अब उनै सुधनको काँधमा जेनजी आन्दोलनमा दमन गर्नेहरुलाई कारबाही गर्ने जिम्मेवारी आइलागेको छ। जेनजी आन्दोलन जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, आईजीपी चन्द्रकुवेर खापुङ, दुवै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, एआईजी, डीआईजीहरुलाई पनि कारबाही सिफारिस छ।
जुन प्रतिवेदन कार्यान्वयन गर्ने जिम्मेवारी अब बालेन सरकारमा मुख्य भूमिका सुधनकै हुनेछ।
Shares

प्रतिक्रिया